• सङ्गीतमा अब्बल, साहित्यमा अकल्पनीय क्षमताका दिनेश

    म्यूजिक खवर
    प्रकाशित: २७ मंसिर २०७७, शनिबार
    pustakprasad_dinesh gautam

    दिनेश गौतम, संगीत र साहित्यको क्षेत्रमा परिचित नाम हो । साहित्यमा उनलाई पुस्तक प्रसादका नामले चिनिन्छ । निजगढ बारा स्थायी घर भएका उनी दुई दशकदेखी संगीत र साहित्यमा सक्रिय रहँदै आएका छन् । सानो उमेरमै गीत, संगीत र साहित्यमा रुची राख्थे । उनले बाल्यवस्थामा नै सङ्गीतमा मितेरी गाँसेका हुन् । विद्यालय जीवनमै उनले गीत गाए, साथीहरुको लभलेटर लेखिंदिंदा उनी भित्र साहित्यमा मोह जाग्यो । सुरुमा गीत लेख्न थाले बिस्तारै गजल र कविता लेख्न थाले । गीत गाउँदा गाउँदै संगीतकार पनि बने । उनी हाल सिर्जनाको काम गरिरहेका छन् कहिले गीतहरु रेकर्ड गरेर त कहिले गीत, गजल र कबिता लेखेर । दिनेश भन्छन् ‘जाने बुझेदेखि संगीत र साहित्यलाई अंगालेको हुँ, जीवनको आखिरी सम्म यी दुबै साथीको रुपमा रहनेछन् ।’ उनले धेरै गीतमा स्वर भरिसकेका छन् । ३५० भन्दा बढी गीत गजल, तथा कविता रचना गरेका छन् र एघार सोलो म्युजिक एल्बम प्रकाशित गरिसकेका छन् । उनको संगीत रहेका थुप्रै गीतहरु सार्वजनिक भएका छन् । सङ्गीत र साहित्य दुबै क्षेत्रलाई व्यवस्थित गर्दै अघि बढिरहेका छन् ।

    झगडालु स्वभावका दिनेश सङ्गीतले बने कलाप्रधान
    मुख्यतयाः आफू भित्रैबाट आएको भावनाले मलाई संगीत क्षेत्रमा डो¥याएको हो । यद्यपी मैैले संगीतको आरम्भ कसरी भयो भन्दा एउटा ‘इन्सिडेन्ट’ मेरो सामु झलझली आउँछ । म सानैछँदा देखी संगीतप्रति नजिकिएको हुँ । कक्षा ५–६ कक्षा देखीका सबै क्षण सम्झिन्छु । हरेक शुक्रबार स्कुलमा अतिरिक्त क्रियाकलाप हुन्थ्यो । त्यस्तै ९–१० वर्षको थिएँ एक शुक्रबारे कार्यक्रममा एकजना गोबिन्द नामका साथीले खुब मिठो गीत गाउनुभयो । सबैले ताली बजाए । वाह ! वाह ! को हुटिङ आयो । म झगडालु स्वभावको थिएँ । दिनहुँ जसो कुटपिट हुन्थ्यो । यसैले मलाई केटीहरुले साथी बनाउँन चाँहदैनथे । गोबिन्द साथीको प्रस्तुतीलाई सबैले रुचाएको देखेपछि मलाई पनि गाउनुपर्छ भन्ने फिल आयो । त्यहि दिनबाट नै म पनि गीत गाएरै छाड्छु भन्ने मनमनै अठोट लिएँ । त्यस्को एकमहिनापछिको शुक्रबार हुने कार्यक्रममा मैंले पनि गाएँ । उनि सम्झिन्छन् – ‘त्यो बेला गीत गाउँदा निकै नर्भस भएको थिएँ । प्रस्तुति निकै राम्रो भएछ । तालीको गडगडाहट वर्षियो, वाह वाह पनि भने । सबैको तारिफ पाउँदा खुशी लाग्यो । त्यो पलले नै आजको दिनसम्म संगीतमा रमाइरहन हौसाइरह्यो । म भित्रको गड गिफ्टलाई त्यसपछि चिनें । यसरी शुरु भएको मेरो गायन यात्रा निरन्तर चलिरहेको छ ।’ झगडालु स्वभावकका दिनेश यसपछि कलाप्रधान बन्दै गए ।
    दिनेशलाई गहन र सजिव गीतका गायकको रुपमा चिनिन्छ । उनले कलाकारिता क्षेत्रमा दुई दशक बढी समय बिताइसकेका छन् । २०५६ सालमा पहिलो गीत रेकर्ड गरेर संगीतमा औपचारिक यात्रा आरम्भ गरे । उक्त गीतमा दिनेशकै शब्द र संगीत थियो । निष्ठुरी (२०५९) उनको पहिलो एल्बम हो । त्यसपछि ‘पैसा’ एल्बम सार्वजनिक गरे । उक्त एल्बमको ‘कसले बनायो पैसा’ देश बिदेशमा गुन्जियो । गीत सुपरहिट बन्यो । गीत उनको करिअरमा कोशेढुङ्गा सावित भयो । उनको पैसा कसले बनायो बाहेक ‘धनमै मान्छे रमायो’ ‘इमान बेचिदिन्छ मान्छे’ , ‘फर्केर आएन मायालु’ ‘घर बनाउला बाँसै काटेर’ म मरिसके पछि लगायत थुप्रै गीत जनजिब्रोमा लोकप्रिय छन । उनको स्वरले सजिएका नेपाली फिल्म तथा आधुनिक गीतको भिडियोहरु यूट्युबमा उत्तिकै भेट्न सकिन्छ । पैसा पछि प्रजुसा, प्रभाव, शीतल, माफगर, चुपचाप चुपचाप, ईश्वर, लगाएत ११ एकल एल्बम सार्बजनिक गरिसकेका छन् ।

    साहित्यिमा अकल्पनीय क्षमता
    गायन र सङ्गीत अब्बल दर्जाको हुँदाहुँदै गौतम साहित्यमा पनि अकल्पनीय क्षमता राख्छन् । सङ्गीतमा दिनेश गौतम भनेर चिनिएका उनी संगीतकार तथा लेखकको रूपमा भने आफुलाई पुस्तकप्रसाद लेख्छन् । उनका अनुसार साहित्यमा मोह पनि स्कूले जीवनमै भएको हो । उनी सम्झिन्छन् – ‘९–१० मा पढ्दा साथीहरुको लभ लेटर लेखिदिन्थें । साहित्यिक बनाउने कोशीष गर्थें ।’ यसरी नजानिकनै साहित्यिक शब्द लेख्न थालेको उनको कलम अहिले गीत, गजल, कबिता लेखनसँगै पुस्तक लेखनमा पनि सक्रिय छन् । औपचारिक यात्रा भने गायन सँगसँगै गरे । २०५५ सालमा पहिलोपटक गाएको गीत उनको पहिलो लेखन सार्वजनिक कृति समेत हो । त्यसपछिका पैसा कसले बनायो, इमान बेचीदिन्छ मान्छे, म ईश्वर भएको भए, कसले जन्मिँदा बोकेर लग्योर धन, फर्केर आएन मायालु, उ कहाँ गयो, मोरीले भेट्छु लगायत ३५० बढी गीत–गजल–कविता रचना गरिसकेका छन् । २०६७ सालमा ‘पुस्तक’ गजलसङ्ग्रह सार्वजनिक गरे । २०७० मा गीत गजलको सङ्ग्रह, ‘फेरि गीत फेरि गजल’ प्रकाशित गरे । गीत, गजल, कविताको नयाँ पुस्तक प्रकाशनको तयारीमा रहेको दिनेशले बताए । उनका कविता तथा गजलहरु सामाजिक सञ्जाल ‘फेसबुक’मा पनि पोस्ट गर्ने गरेका छन् । गहिरो भाव, कलात्मकता, दर्शन, अध्यात्म र प्रेम उनको लेखन खुब राम्रो देखिन्छ । चाहे गायकको रूपमा होस् या सङ्गीतकारका रूपमा अथवा गीत, गजल, कविता लेखकका रूपमा उनी आफुलाई कहिल्यै खास र बिशेष सम्झिँदैनन् यो उनको स्वभावमै देखिन्छ ।
    “म एउटा कारण मात्र हुँ । मलाई गीत संगीत र साहित्यले दिएको मात्र छ । मैंले केहि दिन सकेको छैन र सक्ने पनि छैन । मैले लेखेका गीतहरुको श्रोत यहि समाज, यहि संसार, यहि प्रकृति र संसार भरी बाँचेका मान्छेहरु नै हुन् भने मैले दिएको कसरी हुन सक्छ ? मान्नुस यो संसारमा जून थिएन, फूल थिएन, आकाश थिएन, मान्छेहरु पनि थिएनन र मान्छेका पीडा या खुसी अथवा मुस्कान थिएन र म एक्लै थिए भने मैले के लेख्थें होला ? के गाउथें होला ? त्यसैले मैले केही दिएको छैन पाएको मात्र छु । म कारण पात्र मात्र हुँ ।“ उनी हरेक पटकको भेटमा यहि भन्ने गर्छन् ।

    “महानायक”
    भर्खर
    पारिजातको हाँगा
    ठनक्कै भाँचेर जाने
    अरु कोही नभएर
    काल थियो
    तर काल
    हुरी बतासको हुलियामा थियो

    गए बर्षको झरीमा
    ऊ त्यो पारि डाँडागाउँ
    सर्लक्कै बढारेर लाने
    अरू कोही नभएर
    काल नै थियो
    त्यहाँ पनि काल
    बाढी पहिरोको मुखौटामा थियो

    वर्षौंदेखि
    मेरा आँखाहरूले
    मेरा दृष्टिकोणहरूले
    मलाई नै झुट देखाइ रहेका रहेछन्

    जस्तो कि
    हिजोसम्म सोच्थेँ
    बुढो मान्छेको कपाल फुल्छ
    आँखा धमिलो हुन्छ
    आवाज लर्बराउँछन्
    हातपाउ लरखराउँछन्
    दाँत झर्छन्
    छाला चाउरी पर्छन्
    तर आज !
    यहीँ आँखाले
    यहीँ दृष्टिकोणले
    सबै घटनामा
    कालको अनुहार देख्छ ।

    ऊ लडिरहेछ
    आफ्नो साम्राज्यको लागि
    जीवन लडिरहेछ
    आफ्नो अस्तित्वको लागि
    जस्तो कि
    जीवन स्वासभित्र लैजान्छ
    काल त्यही स्वासलाई
    बाहिर लैजान्छ

    उ छिट्टै दुःखी भैहाल्दैन
    गति छाडेर हाँसिहाल्दैन
    ऊ शान्त स्वभावको छ
    गम्भीर प्रकृतिको छ
    होहल्ला गर्दैन
    जे गर्छ चुपचाप गर्छ
    मान्छेले जस्तो
    एउटा काम अर्को कुरा गर्दैन

    एघार महिना उन्तीस दिन
    काल हारे जस्तो गर्छ
    म जिते जस्तो गर्छु
    तर
    एकवर्ष टेकेकै दिन
    म एकवर्ष पुरानो र
    काल एकवर्ष जवान हुन्छ ।।

    त्यसैले
    हरेक जन्मदिनमा
    म आफूलाई भन्दा
    उसैलाई बधाई दिन्छु
    जसले
    हरेक वर्षको लडाइँमा
    मलाई पराजित गरेको छ


    आफैँमा म हैन
    म हुँ भन्ने भ्रान्ति मात्र हो
    काल
    आफैँ काल होइन
    जीवन चलचित्रको
    महानायक हो
    जसको अन्त्यमा विजय नै हुन्छ ।
    उनका कविताहरुमा दर्शन, प्रेम र अध्यात्म साथै बिद्रोह पनि देखिन्छ । पुरुष प्रधान समाजमा भोग्नु परेका पीडालाई हुबहु उतार्न सफल देखिन्छन् ।

    सङ्गीतमा अब्बल दिनेश
    गायनमा अब्बल दिनेश, आफैंमा प्रभावशाली सङ्गीतकार हुन् । उनको स्वरमा रहेका पैसा कसले बनायो, फर्केर आएन मायालु, इमान बेचिदिन्छ मान्छे, म मरिसकेपछि लगायतका गीतहरुमा उनी आफैंले सङ्गीत भरेका हुन् । नेपालका गायक गायिकाहरू राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, प्रमोद खरेल लगायतले उनको सङ्गीतमा गीत र गजल गाइसकेका छन् । त्यस्तै नयाँ पुस्ताका चर्चित गायक गायिकाहरु मेलिना राई, रबि ओड, अस्मिता अधिकारी लगायत धेरै गायक गायिकाहरुले उनको सङ्गीतमा गीत गाइसकेका छन् । यसैगरी उनको सङ्गीतमा भारतीय गायक सान र राजा हसन समेतले स्वर दिएका छन् । ‘पैसा’, प्रजुसा, प्रभाव, शीतल, ईश्वर, माफ गर, चुपचाप लगायतका ११ सोलो गीत तथा गजल एल्बममा सोलो संगीत गरेर अब्बल सङ्गीतकारको रुपमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

    गीत
    न आइज निदरी निद्रामा उसकै आउँछ सपनी
    देखेर उसकै अनुहार सपनीमै रुन थाल्छु म पनि

    चैतलाई हुरीबतास बर्खालाई खहरे
    बाँच्न नि छैन मन को रोइदेला मै मरे
    न बसिदे दैलोमाथी गुँड अन्तै सारिदेन गौंथली
    देखेर तेरो घरबार मन मेरो थामिँदैन केहि गरी
    ०००
    ऋतु आयो ऋतु गयो फर्केर आएन मायालु
    बिर्सेर होला सायद सम्झेर आएन मायालु

    अएर दिलमेरो फेरि तिडेर जाँदा हुन्थ्यो
    छोएर मायाँले फेरी छोडेर जाँदा हुन्थ्यो
    झरि आयो झरिगयो फर्केर आएन मायालु
    बिर्सेर होला सायद सम्झेर आएन मायालु
    ००००
    इमान बेचिदिन्छ मान्छे
    आफ्नै ज्यान बेचीदिन्छ मान्छे
    खोजी हिड्दा भेट्ने भए
    भगवान बेचीदिन्छ मान्छे

    माथिका गीतहरु केही उदाहरण मात्र हुन् । उनका गीतभित्र मायाप्रेम झल्किन्छ । मायाप्रेमभित्र विद्रोह मात्र होइन अझै इमानका कुरा पनि झल्किन्छ । समय परिस्थितिले मानिसलाई कहाँ कहाँ पु¥याउँछ भन्ने सन्दर्भ पनि झल्किएको हामीले गीत, गजल र कविता मार्फत् देख्न पाउँछौं । गायक दिनेश गौतम सङ्गीतकार, गायक मात्र नभएर आफैंमा सिद्धहस्त साहित्यकार हुन् । उनका गीत, गजल, कविताहरुले एउटा सन्देश बोकेको हुन्छ, प्रेम बोकेको हुन्छ, दर्शन र अध्यात्म बोकेको हुन्छ । उनका शब्दहरुले समाज बोलेको हुन्छ ।

    गजल
    शहर पसेको थें पैसा कमाए घरजम हुन्छ कि भनेर
    म सोच्दिनँ भारी बोक्नलाई सरम हुन्छ कि भनेर

    घरबेटीले निकालीदियो बस्ने ठाउँ छैन यी हेर्नुस त
    पेटमा नाम्लो बाँधेको छु भोक कम हुन्छ की भनेर
    ००००
    जिउँदो हुँदा गिराउन तयार मुर्दा भएपछि सलामी हुन्छ
    हैट यो मान्छेको समाज पनि कति हरामी हुन्छ

    उ हाँस्दा जो हाँस्न सकेन, उसलाई देखेर रमाउन सकेन
    याद गर्नुस त्यहि मान्छे पहिलो नम्बरको मलामी हुन्छ

    नेपाली गजल लेखनमा निकै अब्बल पुस्तकप्रसाद र दिनेश गौतमले समाजलाई निकै सूक्ष्म रूपले अध्ययन गरेको छर्लङ्ग देखिन्छ उनका गजलहरुमा ।
    समाजका गतिविधिलाई गीत, गजल र कविता मार्फत् उजागर गरिरहँदा धेरैले आफूलाई पात्रका रुपमा परिभाषित गर्न सक्छन् । आम रूपमा गायकले बेलाबेलामा सङ्गीत गर्नु वा लेख्नु सामन्य कुरा हो तर लेखकका रूपमै धेरै गीत, गजल कविताका पुस्तकहरु नै प्रकाशन गर्नु केवल रहरको मात्र विषय हैन । अझै मुख्यकुरा सबै बिधामा उत्कृष्ट गाउनु, संगीत गर्नु, र लेख्नु पक्कै पनि सामान्य विषय हुदैहैन । गायन, सङ्गीत र लेखन सबै कुरामा दर्शक श्रोताले रुचाइदिनु चानचुने कुरा हैन । यसकारण पनि दिनेश गौतमको सङ्गीत, लेखन र गायन सबै बिधामा निकै अब्बल उपस्थिति देखिन्छ ।
    लगभग नेपाली सङ्गीतको दुनियाँमा यस्तो अकल्पनीय प्रतिभा भएका ब्यक्ति गौतम नै एक मात्र हुन् भन्दा फरक नपर्ला । गौतमभित्र अस्वभाविक, अद्भूत र अकल्पनीय क्षमता प्रष्ट देखिन्छ जो हरकोहिमा भेट्टिनँ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु