दोहोरी गायनको दर्बिलो खम्बा रविन लामिछाने

म्यूजिक खबर
प्रकाशित: २० बैशाख २०८१, बिहीबार
Singer Rabin Lamichhane

सविता पोखरेल/म्यूजिकखबर
रविन लामिछाने पछिल्लो पुस्ताका एक अब्बल गायक हुन् । प्रत्यक्ष दोहोरी गायनबाट खारिएर आएका गायक रविन लामिछाने अब्बल सिर्जनाका धनी हुन् । उनको शब्द रचना, संगीत सिर्जना सँगै सुमधुर आवाज हुनुले उनीभित्र संगीतको त्रिवेणी भेटिन्छ । पछिल्लो एक दशक उनको चर्चा परिचर्चाले उचाइ चुमेको छ । प्रतियोगितात्मक दोहोरी गायनमा एकपछि अर्को प्रतिस्पर्धाबाट प्रतियोगिताको प्रथम स्थान ओगट्न सफल हुन् गायक लामिछाने । मुलुकभित्र हुने विभिन्न जिल्ला, राष्ट्रियस्तरका प्रतियोगितामा धेरैपटक प्रथम, द्वितीय हुँदै आएका छन् । गायनभित्र संघर्षका शब्दशिल्पीलाई स्रोतासामु पस्किँदा सरल र सभ्य रुपमा उनको प्रस्तुति रहँदै आएको भेटिन्छ ।
गोरखाको तान्द्राङमा जन्मिएका गायक रविन लामिछानेले जन्मस्थानदेखि राजधानीसम्म आउँदा धेरै आरोह अवरोह झेलेका छन् । जन्मभूमिका लोक कला संस्कृतिको प्रभाव उनीभित्र पनि भेटिन्छ । स्कुलमा अध्ययन गर्दादेखि नै गीतसंगीतको प्रभाव उनीमा पनि परेको थियो । त्यसले अन्ततः देशको ठूलो गायक, सर्जक बनाउने जग निर्माण गरेको थियो । त्यही जगबाट आज राष्ट्रियस्तरमा लोकप्रिय गायक, सर्जकका रुपमा उनी स्थापित भएका छन् । देश तथा विदेशमा हुने मेला महोत्सवमा उनको डिमाण्ड धेरै भएको पाइन्छ । तर पनि उनी आफूले महत्व दिनुपर्ने ठाउँलाई मात्र प्राथमिकतामा राखेर सिर्जनामा नै व्यस्त हुँदै आएका छन् । समय अनुसार आफूलाई पनि परिमार्जन गर्नुपर्छ भन्नेमा उनी सधै सजग छन् । लाइभ दोहोरी गाउँदा होस् या मिडियामा बोल्दा होस् उनी कसैलाई आँच नआउने र आफ्ना स्रोताहरुलाई पनि असर नपर्ने गरी शब्दचयनमा ध्यान दिएर बोल्ने गर्छन् । समयसापेक्षा सिर्जना हुनुपर्छ तर माटो अनुसारको पहिचान मेटिनुहुन्न भन्ने गर्छन् । नेपालीपन र नेपाली मन नै लोकसंगीतभित्र हुनुपर्छ, मौलिक कलासंस्कृतिलाई संरक्षण गर्दै नयाँ तरिकाले सिर्जनालाई पस्किनु पर्छ गायक लामिछाने भन्छन् ।

उनीसँग प्रत्यक्ष दोहोरी गाउनेहरु धेरै स्थापित भएका छन् । उनले आफूभन्दा अग्रज र अनुजसँग पनि दोहोरी गाएका छन् । समकालिनसँग गाउने र अग्रज अनुजसँग गाउने भाका, शब्दचयनले एउटा गायक तथा सर्जकको स्थान मापन गर्छ भन्ने कुरामा उनी सजग रहन्छन् । सिर्जना समाजको ऐना हो, सर्जक र प्रस्तोता सभ्य समाजको सम्वाहक हुन् उनी भन्ने गर्छन् । लोकसंस्कृति जोगाउनु हामी सबैको कर्तव्य हो, परम्परागत सिर्जनालाई जोगाउँदै परिस्कृत सिर्जना निर्माण गर्नु एउटा सर्जकको दायित्वभित्र पर्छ । पछिल्लो समयका गीतसंगीतमा उनी विकृति र विकसित दुबैखालको भएको टिप्पणी गर्छन् । साहित्य सिर्जनाभित्र बसेर हेर्दा पछिल्लो पुस्तामा सिर्जनाले उचाइ चुमेको पाइन्छ । तर ५ प्रतिशत केही लाइभ दोहोरी र केही रेकर्डिङ गरिएका सिर्जनाले गर्दा पुरा संगीत क्षेत्रलाई नै फोहोरी बनाएको भेटिन्छ । किनकी नकारात्मक कुरा छिटो फैलिन्छ र सकारात्मक कुरा फैलन समय लाग्छ तर सदाबहार बन्न सक्छ ।

प्रतियोगिताहरु जित्दै गएपछि उनका रकेर्डिङको पाटो पनि व्यस्त हुँदै गयो । स्टुडियोमा केही गीत रेकर्ड भएर बजारमा आएपछि उनको शब्द सिर्जना र संगीत सिर्जनाले गायकीलाई पनि जित्यो । गायन आफैंमा लोकप्रिय बनेको थियो तर सिर्जनाले अझैं स्रोताको मत जित्यो, अग्रजको मन जित्यो । लोक संगीतको क्षेत्रमा उनी दर्बिलो खम्बाका रुपमा उभिन थाले । सबैले नाम लिने एउटा सर्जक कलाकारको रुपमा उनी भेटिन थाले । लोकदोहोरी गाउँदै गर्दा रविनका जस्ता सिर्जना हुनुपर्छ भन्ने अग्रजहरुको आशिर्बाद पनि पाउन थाले । हो सिर्जनामा अनुज या अग्रज भन्ने हुँदैन । सिर्जनाले नै सबैलाई समकालिन रुपमा प्रस्तुत गरेको हुन्छ । अब्बल सिर्जना अनुजले पनि गर्न सक्छ र अग्रज हुँदै सिर्जना अब्बल हुँदैन भन्ने कुरालाई रविनको आगमनले पनि परिभाषित गरिदियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा हुने ‘राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी प्रतियोगिता’को उपाधि चुम्न सफल भए । प्रतिष्ठानकै आयोजनामा हुने विभिन्न प्रतियोगिताहरुमा पनि उनले उपाधि जिते । कहिले प्रथम भए त कहिले द्वितीय भए । राजधानी भन्दा बाहिर हुने मेला महोत्सवको प्रतियोगिताहरुमा पनि उनले सहभागी भएर प्रथम स्थान हासिल गरेका छन् । त्यस्तै छैटौं म्यूजिक खबर म्यूजिक अवार्ड २०१७ मा नवगायक लोकदोहोरीतर्फको अवार्ड चुमिसकेपछि उनले नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा उत्कृष्ट शब्द सिर्जनाको अवार्डसमेत चुम्न सफल भए । यो बाहेक उनले गायनमा नै दर्जनभन्दा बढी राष्ट्रिय स्तरको म्यूजिक अवार्ड जित्न सफल भएका छन् । केही सम्मानहरु उनले पाइसकेका छन् । जताततै वाही वाही पाउँदा पनि उनी कहिल्यै नमात्तिकन शुभचिन्तकले दिएको मायाको रुपमा आफूलाई परिस्कृत गर्दै अगाडि बढिरहेका छन् ।
Rabin Lamichhane
यतिबेला राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिमा कार्यकारी सदस्यका रुपमा विजयी भएर काम गरिरहेका छन् । गोरखा सांस्कृतिक समाजको संस्थापक सदस्य हुँदै अहिले द्वितीय उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका छन् । लाइभ दोहोरी गाउनका लागि उनको डिमाण्ड अझै पनि कायमै छ । उनको सिर्जनामा रेकर्ड गराउनेहरुको पनि पालो पर्खाइ रहेकै छ । व्यस्तताको बाबजुद पनि उनी मेला महोत्सवमा व्यस्त छन् । विदेशको कार्यक्रममा पनि उनको डिमाण्ड भइरहेको छ । समय, संगीत र संगतमा उनी सधैं ध्यान दिने गर्छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु