रचनाको रहरलाग्दो व्यस्तता, लोभलाग्दो प्रगती

म्यूजिक खबर
प्रकाशित: १३ आश्विन २०७९, बिहीबार

काठमाडौं । रचना रिमाल – पछिल्लो समय नेपाली गीत संगीतमा सबैभन्दा चर्चित नाम हो । उनी यतिबेला चर्चासँगसँगै सफलताको शिखरमै अडिएकी छिन् । व्यस्तताले उनलाई भ्याइनभ्याई छ । स्टेजमा गीत गाउन उक्लिनु, रेकर्डिङमा पुग्नु उनको दिनचर्या नै हो । प्रायः दैनिकजसो दुई–तीनवटा गीत रेकर्ड भइरहन्छ । उनले दिनमा ८ वटासम्म गीत रेकर्ड गरेकी छन् ।

उनको चर्चा र ‘स्टारडम’ लोभलाग्दो छ । हरेक दिन जस्तो रचनाको अनुहार मिडियामा छाइरहन्छ । गीत रेकर्डिङ, मेला महोत्सवमा नै उनको समय सकिन्छ । रेकर्डिङमा जस्तै देश विदेशमा हुने मेला महोत्सवका लागि पनि उनी पहिलो रोजाई मै पर्छिन् । अहिले ३० दिनमा ३० दिन नै व्यस्त हुने गरी रचनासँग काम आइरहेका छन् । मेला–महोत्सवको समयमा उनले मिल्दो हो त पखेंटा लाउनु पर्ने अवस्था छ ।

सांगीतिक क्षेत्रमा लोभलाग्दो उचाइ बनाएकी उनी यतिखेर सांगीतिक प्रस्तुतिका लागि दौडाहामा छिन् । भर्खरै मात्र उनले यो महिनाको कार्यतालिका सार्वजनिक गरेकी छिन् । उक्त तालिकाले पनि उनको व्यस्तताको र डिमाण्डको मापन सजिलै लाउन सकिन्छ । उनको व्यस्तता यस्तो छ कि आज नेपालगन्जमा प्रस्तुति दिएकी रचना भोली काभ्रे पुग्नेछिन् । काभ्रेमा प्रस्तुति दिएको भोलिभल्ट देवचुली । फेरि देवचुलीबाट भोलिपल्टै झापा बुधबारे अनि लगतै रौतहट । त्यस्को दुई दिन उनको सेड्युल ग्याप छ । तर त्यो पनि उनले रमाउन या, रेस्टका लागि लिइएको ग्याप होइन । पूर्वपश्चिम दौडाहा भइरहेको बेला एकाएक उनले १९ गते युगाण्डामा प्रस्तुति दिनु पर्नेछ । त्यहि यात्राका लागि छुट्याइएको समय हो दुई दिन । सायद यात्राकै क्रममा गर्लिन् ‘रेस्ट’ पनि । उनको यो तालिका झट्ट हेर्दा ‘हँ यो कसरी’, ‘आफूलाई कसरी व्यवस्थापन गर्छिन्’ ‘कसरी सम्भव छ’ जस्तो सोच जोकोहिलाई आउँछ ।

रचनाले सार्वजनिक सञ्जालमा लेखेको सेड्युलसहितको पोस्ट यस्तो छ –
दशैँ सुरु भएको छ, यो दशैँलाई साङ्गितिक माहोलमा मनाउन हजुरहरुलाई जता पाएक पर्छ त्यतै भेटौँ है ।
१२ गते नेपालगंज
१३ गते पाँचखाल महोत्सव, काभे पाँचखाल
१४ गते देवचुलि अखिल साँझ, देवचुलि
१५ गते बुधवारे महोत्सव, बुधवारे झापा
१६ गते साँस्कृतिक कार्यक्रम , चन्द्रपुर ६ रौतहट
१९ गते 5th Oct. Dashain Festival Concert, Uganda
२२ गते साँस्कृतिक कार्यक्रम तथा पुनर्मिलन समारोह, मिर्मि स्याङ्जा

यसरी श्रोता र कार्यक्रम आयोजको रोजाईमा पर्नुको पहिलो उनको कारण मिठो स्वर र सरल प्रस्तुति नै हो । जब उनी स्टेजमा उक्लिन्छन्, वातावरण रंगीन बन्छ । स्टेजमा गीत गाउन उक्लिरहँदा सानी सानी देखिन्छिन्, तर आवाज बुलन्द । जब उनी गीत गाउन सुरु गर्छिन्, तब दर्शक ताली बजाउँदै नाच्न थाल्छन् । कहिले ननाच्नेकालाई पनि नाचौं–नाचौं बनाइदिन्छ उनको स्वरले ।

उनको सादगी गेटअप, लोभलाग्दो पर्फमेन्स तथा लयात्मक ध्वनिले दर्शकमाझ उथलपुथल नै ल्याइदिन्छ । त्यसैले उनी कन्सर्टका निम्ति ‘हटकेक’ बनेकी छिन् ।

सानै उमेरमा चर्चासँगसँगै सफलताको शिखरमा पुगेकी रचना नेपालको चर्चित गायन प्रतियोगिता नेपाल आइडलबाट नेपाली सांगीतिक क्षेत्रमा छाएकी हुन् । उनी २०२० को नेपाल आइडल प्रतियोगिताको तेस्रो संस्करणमा उत्कृष्ट ८ सम्म पुगेकी थिइन्।

‘फोटो फिरिममा, कहिले मिलन कहिले बिछोड मया पिरिममा‘। रचना रिमालको स्वरमा सार्वजनिक यो गीत निकै रुचाइयो । गीतसँगै गायिका रचनाको स्वरको पनि उत्तिकै प्रशंसा भयो । उनलाई एकपछि अर्को गीतको अफर आउन थाल्यो । उनका गीतको संख्या बढ्यो, धमाधम सार्वजनिक हुन पनि थाले । एकपछि अर्को गीत स्रोता/दर्शकले रुचाउँदै गए ।

‘मिनरल वाटर’, ‘पहिलो पल्ट भेट हुँदा’ जस्ता गीतहरु रुचाइए । राष्ट्रकवि माधवप्रसाद घिमिरेको रचना र नारायण रायमाझीको संगीतमा प्रविन बेडवालसँग गाएको ‘उनको प्रीति’ बोलको गीत त निक्कै चर्चित भयो । ‘नमुछे आमा दहीमा टीका’को नयाँ भर्सन, ‘सुनन पियारी’ ‘चाहन्छु’, ‘सम्झिनी पानी छम्किनी’, ‘भन साइँला’ जस्ता उनका थुप्रै गीतहरु पनि रुचाइएका छन् ।

त्यसो त, रचनाले सांगीतिक करिअर शुरु गरेको लामो समय पनि भएको छैन । तथापी उनी सर्वप्रिय छिन् र राम्रो कमाई गर्ने गायिकामा समेत दरिएकी छिन् । उनले आफ्नै कमाइले झापाको चन्द्रगढीमा पक्की घर बनाउन सफल भइन् । आफ्नो पहिलो चर्चित गीत ‘फोटो फिरिममा’ सार्वजनिक भएको दुई वर्ष नहुँदै उनको स्वर एक हजारभन्दा बढी गीतमा गुञ्जिइसकेको छ । सानो उमेरमै र छोटो अवधिमै रचनाले पाएको सफलता साँच्चिकै लोभलाग्दो छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु