• सर्जकहरुलाई सम्मान गर्दै मनाइयो साहित्यिक पत्रकार संघको ५३ औं वार्षिकोत्सव

    म्यूजिक खबर
    प्रकाशित: ३० श्रावण २०८१, बुधबार

    काठमाडौं । साहित्यिक क्षेत्रका साधकहरु एवं कलाकारलाई अभिनन्दन, सम्मान एवं पुरस्कृत गर्दै साहित्यिक पत्रकार सङ्घले आफ्नो ५३ औँ स्थापना दिवस सम्पन्न गरेको छ । कार्यक्रम साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व एवम् नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति कलाकार के.के.कर्माचार्यको प्रमुख आतिथ्य रहेको थियो । नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा भएको सो कार्यक्रममा अभिनन्दित हुने साहित्यकारहरूमा सर्वश्री तेजेश्वरबाबु ग्वङ्ग, रोचक घिमिरे, कालीप्रसाद रिजाल, भागीरथी श्रेष्ठ, रामबाबु सुवेदी र डा.दुबसु क्षेत्री छन् भने कलाकार वसुन्धरा भुसाल पनि अभिनन्दित भएकी थिए ।
    साहित्यकार तेजेश्वरबाबु ग्वङ्ग स्वास्थ्यका कारण सशरीर उपस्थित हुन नसकेका कारण उनको निवास भक्रपुरमा पुगेर हस्तान्तरण गरिएको थियो । त्यस्तै डा.दुबसु क्षेत्री जापानका लागि नेपालको राजदूत भएर गएका कारण कार्यक्रममा अनुपस्थित रहे । त्यसैगरी, सुरेन उप्रेती पनि क्यानडामा रहेकाले कार्यक्रममा अनुपस्थित रहे ।
    त्यसैगरी सम्मानित हुने सर्जकहरूमा देवीभक्त श्रेष्ठ, सविता श्रेष्ठ ’बेहोसी’ तथा बाबुराम श्रेष्ठ रहेका छन् । बाबुराम श्रेष्ठ पनि विदेशमा रहनु भएको कारण कार्यक्रममा उपस्थित हुन सकेनन् । कार्यक्रममा व्यथित काव्य सम्मानबाट मणि लोहनी र व्यथित काव्य डायस्पोरा सम्मानबाट सुरेन उप्रेती सम्मानित भएका छन् भने लोकप्रिया पुरस्कारबाट लीलादेवी श्रेष्ठ पुरस्कृत भएकी छिन् । लोकप्रिया पुरस्कारको राशि नगद रू १००००÷– रहेको छ । उक्त पुरस्कार रकम पुरस्कारका संस्थापक शशि रिमालले हस्तान्तरण गरेकी थिइन् ।
    अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूलाई फूलको माला, रुद्राक्षको माला, ढाका टोपी लगाइ दिएर दोसल्ला समेत ओढाइएको थियो । कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा.गोविन्दराज भट्टराई, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ इतिहासविद् सुरेन्द्र के.सी, प्राज्ञ माया ठकुरी, प्राज्ञ उन्न्ती शीला बोहरा, चर्चित समालोचक प्रमोद प्रधान, गीतकार तथा समाजसेवी शोभित उप्रेती तथा सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।
    प्रमुख अतिथि के.के.कर्माचार्यले साहित्यिक पत्रकार सङ्घ एउटा ऐतिहासिक सङ्घ भएको बताउँदै यस सङ्घले धेरै जना सर्जकहरूलाई पहिले पनि अभिनन्दन, सम्मान र पुरस्कृत गरिसकेको बताए । साथै उनले आज अभिनन्दित, सम्मानित तथा पुरस्कृत हुने व्यक्तित्वहरूलाई बधाई पनि दिएका थिए ।
    कार्यक्रमलाई सम्बोधन गर्दै सापसका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घको स्थापनाकालदेखिको इतिहास संक्षेपमा बताए । साहित्यकार बि.पि.कोइरालालाई समेत अभिनन्दन गरेको स्मरण गर्दै उनले साहित्यिक पत्रकार सङ्घले आजसम्म गर्दै आएका विभिन्न क्रियाकलापका बारेमा पनि संक्षेपमा प्रकाश पारेका थिए । कार्यक्रममा समालोचक प्रा.डा.गोविन्दमानसिंह कार्कीले अभिनन्दित, सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूको परिचयसहित साहित्यिक योगदानबारे चर्चा गर्दै कृतित्वका बारेमा संक्षेपमा प्रकाश पारेका थिए ।
    कार्यक्रममा अभिनन्दित,सम्मानित तथा पुरस्कृत हुनेहरूका तर्फबाट सर्जकहरू रोचक घिमिरे, रामबाबु सुवेदी, भागीरथी श्रेष्ठ तथा कलाकार वसुन्धरा भुसाल, लीलादेवी श्रेष्ठ, देवीभक्त श्रेष्ठ, आ–आफ्ना मन्तव्य राखेका थिए । झापाली सर्जक देवीभक्त श्रेष्ठले राष्ट्रकवि माधव घिमिरेद्वारा रचित गीत पनि गाएर सुनाएका थिए ।
    अभिनन्दित व्यक्तित्व कवि डा. दुबसु क्षेत्रीको सम्मानपत्र, सम्मानित व्यक्तित्व बाबुरा श्रेष्ठ र क्यानडामा भएका सुरेन उप्रेतीको सम्मानपत्र पनि पछि निजहरुलाई उपलब्ध गराइने भएको छ । कार्यक्रममा बाल कलाकार रञ्जना थपलियाले आफ्नो सुन्दर नृत्य प्रस्तुत गरी सबैलाई मोहित पारेकी थिइन् ।
    कार्यक्रममा सापसका कोषाध्यक्ष कथाकार पदमावती सिंहले स्वागत मन्तव्य राखेकी थिइन् भने कवि श्रीबाबु कार्कीले कुशलतापूर्वक कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा विभिन्न साहित्यकार, कलाकार, पत्रकार लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु