राजेश हमाले उद्घाटन गरे शंकर बिसीको नयाँ डान्स स्टुडियो

म्यूजिक खबर
प्रकाशित: ८ बैशाख २०७८, बुधबार
Rajesh Hamal

काठमाडौं । लोकप्रिय मोडल, निर्देशक एवं नृत्य प्रशिक्षक शंकर बिसीले नयाँ डान्स स्टुडियो संचालनमा ल्याएका छन् । बागेश्वरी फिल्म्स एण्ड डी वाल्क डान्स स्टुडियोको महानायक राजेश हमालको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, निवर्तमान अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष रिता थापामगर, प्रथम उपाध्यक्ष पशुपति शर्मा, इन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेल, गायक धर्मराज पोखरेल लगायतको विशेष आतिथ्यतामा सो डान्स स्टुडियो संचालनमा ल्याइएको हो ।
कार्यक्रम म्यूजिक भिडियो कलाकार संघका वरिष्ठ उपाध्यक्ष सम्झना बुढाथोकी, उपाध्यक्ष महेन्द्र गौतम, महासचिव सुनिल लामिछाने, कोषाध्यक्ष देवेन्द्र क्षेत्री, गायक दिपक खड्का, राजु ढकाल, कस्तुप पन्त, मोडल अन्जु निरौला, रिना थापा, अनु पराजुली लगायत दर्जनौं कलाकारहरुको उपस्थिति रहेको थियो ।
बागेश्वरी फिल्म्स एण्ड डी वाल्क स्टुडियोमा शंकर बिसीसँगै बद्री विष्ट पनि संचालकको रुपमा रहेका छन् । बिसी र विष्टसँगै उक्त स्टुडियोमा कमलभक्त परियार र ज्ञानु थापा मगरले पनि नृत्य प्रशिक्षकको रुपमा रहेका छन् । स्टुडियो गोंगबु चोकबाट ठमेलतर्फ जाँदा ५ मिटर अगाडि मुख्य सडकमा नै रहेको छ ।

कार्यक्रममा शंकर बिसीको योगदानलाई प्रशंसा गर्दै अतिथिहरुले नयाँ कार्यको लागि हार्दिक बधाई तथा शुभकामना दिएका थिए । गायक बद्री पंगेनीले आफ्नै लगानीमा स्टुडियो संचालन गर्न दबाब दिएको बताउँदै आफू पनि अब सोही स्टुडियोमा नै नृत्य सिक्न आउने बाचा गरे । त्यस्तै गायिका रिता थापामगर शंकर बिसी लोकदोहोरी राजेश हमाल भएको बताउँदै महानायक राजेश हमाललाई लोकदोहोरीप्रति देखाउनु भएको मायाप्रति सम्मान व्यक्त गरिन् । गायक पशुपति शर्माले पनि आफू पनि यही स्टुडियोबाट नृत्यको शिक्षा लिने बताए ।
कार्यक्रमका विशेष अतिथि प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफ्नो कार्यसमितिको उपमहासचिवको प्रगतिप्रति खुशी व्यक्त गर्दै शंकर बिसीलाई बधाई एवं शुभकामना व्यक्त गरे । शंकर बिसी एउटा लोकदोहोरी क्षेत्रले पाएको सदाबहार नायक, निर्देशक भएको बताउँदै उहाँको क्षमता योगदान यस क्षेत्रले कहिल्यै नभुल्ने बताए ।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि महानायक राजेश हमालले शंकर बिसीले आफूसँगै कोरस नाच्दै आफैंलाई नचाउन सफल हुनुभएको र धेरै स्टेज शोहरुका लागि पनि बिसीसँग प्रशिक्षण लिएको बताए । उहाँको उचाइ अनुसार बागेश्वरी फिल्म्स एण्ड डी वाल्कले पनि उचाइ कायम गर्ने हमालले बताए । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै शंकर बिसीले २०५१ सालमा एसएलसी दिएर काठमाडौं छिरेदेखि आफ्ना सपनाहरु एकपछि अर्को पूरा गर्दै यो क्षेत्रमा अझै नयाँ सिक्ने क्रममा रहेको बताए । राजेश हमालकै हातबाट नयाँ डान्स स्टुडियो संचालनमा ल्याउने सपना आजबाट पूरा भयो बिसीले भने । उनले उपस्थित सम्पूर्ण अतिथिहरु, पत्रकार र शुभचिन्तकहरुप्रति धन्यवाद तथा आभार प्रकट गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु