• राजु र मञ्जुले पाए मेयरको साथ र लोक संगीतका अगुवाहरुबाट प्रशंसा

    म्यूजिक खबर
    प्रकाशित: २ जेष्ठ २०८१, बुधबार

    काठमाडौं । लोकदोहोरीका ‘बादशाह’ का रुममा चिनिएका गायक हुन् – राजु परियार । हजारौं गीतमा स्वर भरेका राजुका सयौं गीतहरु हिट छन् । राजुको सांगीतिक यात्रालाई नियाल्ने हो भने माटोको सुगन्ध र संस्कृतीलाई उनले प्राथमिकतामा राखेको पाइन्छ । उनको गायकी र व्यक्तित्वलाई देखेर उनकै पदचाप पछ्याउँने धेरै गायक–गायिकाहरु पनि जन्मिएका छन् । जस मध्ये एक हुन् – गायिका मन्जु बिक । पछिल्लो पुस्तामा अधिकांश गायक–गायिकाहरुमा ‘चर्चा’को चिन्ता रहेको पाइन्छ । तर मन्जु यस्ती गायिका हुन् मौलिकतामा काम गर्न चाहन्छिन् । राजु जस्तै नबने पनि राजु हिंडेको बाटो हिंड्न चाहन्छिन् । ‘कामको मूल्यांकन भए अवश्य चर्चा गरिएला’– उनको मनले सधैं भन्ने गर्छ ।

    सकारात्मक सोच र कर्मले परिणाम पनि सकारात्मक नै मिल्छ । यतिबेला मन्जुले पनि चर्चा मात्रै होइन प्रशंसा पनि पाउँन थालेकी छिन् । राजु परियासँगै उनको पनि नाम उच्चारण गर्दै लोक संगीतका अगुवा व्यक्तित्वहरुले खुलेर तारिफ गरेका छन् । त्यति मात्र होइन आफ्नै क्षेत्रका जनप्रतिनिधीहरु (मेयर र वडाध्यक्ष) समेतले तारिफ गरेर थाकेनन् ।

    त्यो प्रशंसा गरिएको माहोल हो – गायक परियार र गायिका बिक स्वरबद्ध ‘लमजुङे ठाडो भाका’ श्रव्यदृष्य विमोचन समारोह । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा मंगलबार राजधानीको पुतलीसडकस्थित एक होटलमा आयोजित समारोहमा लमजुङ बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल प्रमुख अतिथी रहेका थिए । प्रमुख अतिथी अर्यालले यस गीतले आफ्नो नगरपालिका मात्रै नभई समग्र लमजुङ जिल्लाको मौलिक पहिचान र महत्व बोकेको बताए । साथै उनले गायक, गायिका र गीतको प्रशंसा गर्दै गायक राजु परियार र गायिका मञ्जु बिकलाई धन्यवाद समेत ज्ञापन गरे ।

    त्यस्तै बेसीशहर नगरपालिका २ का वडाध्यक्ष मदन राना र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा विशिष्ट अतिथीको रुपमा रहेका थिए । बेसीशहर नगरपालिका २ का वडाध्यक्ष मदन रानाले यस ठाडो भाकाले आफ्नो वडाका लागि विशेष महत्व दिने बताउँदै पर्यटन प्रवद्र्धन र मौलिक लोकसंगीत संरक्षणमा ठूलो योगदान दिने उल्लेख गरे ।

    प्रतिष्ठानकी अध्यक्ष रिता थापाले राजु परियार संगीत क्षेत्रकै एक गौरब भएको बताउँदै गायिका मन्जु बिकले हिंडेको बाटोको पनि तारिफ गरिन् यो बाटो नछोड्न आग्रह गरिन् । निर्देशक प्रकाश भट्टले निर्देशन गरेको भिडियोप्रति कुनै शंका नरहने बताइन् ।

    यस्तै नेपाली लोक सांगीतिक क्षेत्रका अगुवा व्यक्तित्वहरु लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्षद्वव चन्द्र शर्मा र बद्रि पंगेनी विशेष अतिथी रहेका थिए । मन्तव्यका क्रममा शर्मा र पंगेनीले पनि ‘लमजुङे ठाडो भाका’ लोप हुने अवस्थामा पुगेको बेला यसको संरक्षणमा राजु परियार र मन्जु बिकले कदम अघि बढाएको भन्दै प्रंशसा गरेका थिए । उनीहरुले सिंगो गीतको सिंगो टिमलाई बधाई तथा शुभकामना दिएका थिए ।

    कार्यक्रममा बोल्दै गायिका मञ्जु बिकले राजु परियार जस्तो गायनका बादशाहसँग आवाज मिसाएर आफ्नै गाउँ–ठाउँको मौलिक लमजुङे ठाडो भाका बजारमा ल्याउन पाउनु नै आफैलाई भाग्यमानी ठानेको बताइन् ।

    राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले पछिल्लो समय गीत संगीतमा छाडापन मौलाउँदै गएको भन्दै यस्ता मौलिक गीत संगीतको विमोचनको आयोजना गर्न पाएकोमा गायक राजु परियार लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए । मन्तव्यकै क्रममा आफ्नो संस्थाले ‘लमजुङे ठाडो भाका’ का अग्रज भेडिखर्के साईंलालाई यस अघि सम्मान गरेको स्मरण गराएका थिए ।

    ‘लमजुङे ठाडो भाका’मा गायक राजु परियार आफैँले शब्द रचना र संगीत भरेका छन् भने संगीत संयोजन विश्वास नेपाल र ध्वनी सम्पादन राजेन्द्र बाजुरालीले गरेका छन् । भिडियो प्रकाश भट्टको निर्देशन गरेका छन् । गीतको भिडियो लमजुङ बेसीशहरकै विभिन्न स्थान र आफ्नो जन्मस्थान बेसीशहर नगरपालिका९ २ मा छायांकन गरिएको हो । उक्त श्रव्यदृष्यमा लमजुङ जिल्लाको पहिचानसहित बेसीशहर नगरपालिका र गायक परियारकोे जन्मस्थान बेशिशहर नगरपालिका वडा नम्बर २ चिसापानीको पहिचान झल्काइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु