काठमाडौं । वरिष्ठ संगीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाली संगीत आकाशमा एक सुविख्यात संगीतज्ञका रुपमा कालजयी बनेका अमर स्रष्टा संगीतकार गोपाल योन्जनको ८०औं जन्मजयन्तीको अवसरमा नेवाः साधना कला केन्द्रको आयोजनामा वरिष्ठ संगीतकार सिंहलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेवाः साधना कला केन्द्रका संस्थापक बागमती भाइ सुन्दर मान श्रेष्ठको सभापतित्व एवम् वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र निर्देशक प्रकाश सायमीको प्रमुख अतिथ्यतामा भएको उक्त कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथी वरिष्ठ संगीत विश्लेषक सायमीले अमर संगीतकार गोपाल योन्जन एक शाकाहारी व्यक्ति थिए भने स्वरसम्राट नारायण गोपाल गुरुवाचार्य मांसहारी प्रकृतिको व्यक्ति भएको बताउँदै उहाँहरु बीचको मित्रता भने अविश्मरणीय भएको बताए ।
कार्यक्रममा आयोजक संस्थाका रोजी श्रेष्ठ डंगोलले स्वागत मन्तव्य राख्नु भएको थियो । यस्तै गरी इन्दिरा कलानिधि महाविद्यालयका प्रमुख तथा विशिष्ट संगीत गुरु धनबहादुर गोपालीका साथमा गीतकारहरु भुषण खरेल र विश्व बल्लभले गोपाल योन्जनका विविध पक्षमा प्रकाश पारेका थिए ।
नेवाः साधना कला केन्द्रको आयोजनामा शुक्रबार सम्पन्न सांगठनिक कार्यक्रममा गायन कलाकारहरु रोजी श्रेष्ठ डंगोल, शुद्ध लक्ष्मी श्रेष्ठ, राज गोपाली, उत्तरा मानन्धर, शैलेश सिंह, देवेन्द्र मान सिंह, किशोर शाही, बिजय मानन्धर, सुरेन्द्र श्रेष्ठ, सतिश महर्जन, कैलाश भुसाल, माधव दाहाल, सिद्धार्थ श्रेष्ठ, रुबी वैद्य लगायतले गोपाल योन्जनद्वारा संगीतबद्ध गीतहरु प्रस्तुत गरेका थिए ।