• कस्तो कांग्रेस, कसको नेतृत्व – युवा नेता राम बहादुर बस्नेत

    म्यूजिक खवर
    प्रकाशित: २५ कार्तिक २०७७, मंगलवार

    काठमाडौँ -नेपाली भूमिमा सम्पन्न परिवर्तनका प्रत्येक निर्णायक एवं लोकतान्त्रिक आन्दोलनहरुको सफल अगुवाइ गरेको पार्टी नेपाली कांग्रेस आफ्नो आन्तरिक जीवनमा महत्वपूर्ण मानिने १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । नेपालको राजनीतिमा यसले छुट्टै महत्व वोकेको छ । जननायक वी.पी. कोइरालाले नेपालमा प्रजातन्त्रको जग वसाल्ने काम गर्नुभयो भने गिरिजा प्रसाद कोइरालाले मुलुकमा शान्ति स्थापना गर्ने कामको नेतृत्व गर्नु भयो, सुशील कोइरालाले समाजवाद उन्मुख संघीयता सहितको संविधान जारी गर्ने कामको नेतृत्व लिनु भयो भने शेर वहादुर देउवाले जलि रहेको मधेशलाई विश्वासमा लिएर तिनै तहको निर्वाचन गराएर संविधानलाई संस्थागत गराउने काम गर्नु भयो । आज विश्व कोरोना भाईरस (Covid-19) महामारीले ग्रस्त छ, त्यसको चपेटामा नेपाल पनि परिरहेको छ । तर झण्डै २/३ मतले निर्वाचित नेकपा. को सरकार पूर्ण असफल भई सक्यो र नेकपा आज आन्तरिक द्वन्द्वमा फसि रहेको अवस्था छ, सरकारको भर पर्ने अवस्था रहेन, सत्ता स्वार्थमा मिलेको पार्टी न अहिले तत्काल फुट्छ, न जुट्न नै सक्छ । यो पार्टीले मुलुकलाई बर्वादीतर्फ धकेली रहेको छ । जनताले आफ्नो सुरक्षा आफै गर्नुको विकल्प छैन । यसै वीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो आसन्न पार्टी महाधिवेशनलाई वृहत्तर लोकतान्त्रिक प्रक्रिया अवलम्वन गर्दै यथाशिघ्र छिटो सम्पन्न गर्ने वाटोमा केन्द्रीय नेतृत्वको ध्यान जानु आजको अपरिहार्य आवश्यकता हो । महाधिवेशनको पूर्व सन्ध्यामा देशभरि नै सबै जिल्लामा एउटा वहस तत्कालै थाल्नु पर्ने देखिएको छ, त्यो हो — अब कस्तो कांग्रेस, कसको नेतृत्व ?

    नयाँ संविधान जारी पश्चात यो पार्टी नेतृत्वले लिनु पर्ने नीति र आसन्न महाधिवेशनमा सम्पन्न हुने संभावित नेतृत्वलाई लिएर अनेक अड्कल काटिदैछ । अव केन्द्रको मात्र मुख ताक्ने हैन, अहिले विधानले सवै तहको नेतृत्वमा अहम र अर्थपूर्ण भूमिका निर्वाह गर्नुपर्ने गरि जिम्मेवारी तोकेको छ । एजेन्डा, एकता र प्रतिवद्धता आज संगठन पुनर्ताजकीको मूलमन्त्र वनाउँदै सवै तहमा खुला छलफल र वहसको आवश्यक छ । Vision नभएका र Team work गर्न नसक्ने मान्छे अव नेतृत्वमा दावी नगर्दा उत्तम हुन्छ । कांग्रेसको अहिलेको गुट नितान्त व्यक्तिगत फाइदाका लागि छ, त्यसैले गुटहरुमा विचार, छलफल र एजेन्डामा कुनै मतभेद देखिँदैन । पार्टीमा हरेक विषयमा गुट अनुसारको भागबण्डा हुन थालेको छ, जसले थप गुटको संस्कारलाई प्रोत्साहन गरेको छ, यसले पार्टी थिलथिलो भइसक्यो । नेताको केन्द्र विन्दुमा देश, पार्टी, टिम, व्यक्ति पर्दैन खाली उ आफुलाई मात्र केन्द्रमा राख्ने प्रवृत्तिनै घातक बनेर गयो । भलै लोभका कारण कोही बोल्न नसक्लान् त कोही समय आउँदा बोल्लान् पनि वा कोही नबोली महाधिवेशनमा मतदान मार्फत आफ्ना मत जाहेर गर्लान् । कांग्रेसको संघर्षको इतिहास अरू कसैको इतिहाससँग, कांग्रेसको क्रान्तिकारीपन अरू कसैको क्रान्तिकारीपनसँग तुलना गर्न सकिन्न तर हिजोको बखान गाएर आजको कांग्रेस चल्न सक्दैन । कांग्रेसभित्रै आफ्नो भविष्य देख्ने लाखौंलाख कार्यकर्ताले गाउँदेखि अब बहस प्रारम्भ गर्ने बेला भएको छ (कस्तो कांग्रेस, कसको नेतृत्व ? साथै इतिहासका घुम्तीहरूमा कांग्रेस कहाँ— कहाँ चुक्यो ? र चुकाउनेहरू को को हुन् ? यसको विहंगम बहस पनि जरुरी छ । तब मात्र कांग्रेस जीवन्त रहन सक्छ ।

    एकपटक इतिहासतिर फर्केर हेरौं । २००४ सालमा गान्धीवादी आदर्श बोक्यो कांग्रेसले । २००७ सालमा सशस्त्र आन्दोलन ग¥यो । स्थापनादेखि संविधानसभाको वकालत गर्ने पार्टीले २०१५ सालमा आमनिर्वाचनमा मात्रै चित्त बुझायो । पटक पटक सशस्त्र संघर्ष गर्यो तर २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति अख्तियार गर्नुपर्यो । २०४२ सालमा अहिंसाबाट परिवर्तन खोज्न सत्याग्रहको बाटो रोज्नुपर्यो । २०४६, ०६२/६३ मा जनता जगाउँदै आन्दोलनको आँधीबेहरी सिर्जना गर्यो । संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रलाई मूलमन्त्र ठान्ने पार्टीले आफ्नो नीतिमा पुरै परिवर्तन गरी ०६२/६३ मा पुग्दा गणतन्त्र स्थापनाको अगुवाइ गर्न पुग्यो । विरोधाभास झै लाग्ने इतिहासका यी निर्णय परिस्थितिका उपज थिए । आसन्न महाधिवेशन अगावै अब बहस जरुरी छ, अबको कार्यभार के र कस्तो हुने ? यो पार्टीले आफ्नो क्रान्तिकारी छवि कसरी कायम राख्ने ? र त्यसका लागि नेतृत्वमा कस्तो व्यक्तिले प्रतिनिधित्व गर्नुपर्ला ? आजको सान्दर्भिक र औचित्यपूर्ण बहस यही नै हो ।

    हिजोको बखान गाएर आजको कांग्रेस चल्न सक्दैन ।

    कोरोना भाइरस महाव्याधिको मारमा परेका आम नेपालीका लागि कुनै एउटा पार्टीको सम्मेलन, त्यसले लिने नीति र त्यहाँ चयन हुने नेतृत्वको विषय खासै महत्वको नहुन सक्छ । तर यहाँ कांग्रेस महाधिवेशनकै सेरोफेरोमा राष्ट्रिय राजनीति किन घुमिरहेको छ भन्दा आज आम नेपालीले भोगेको पीडाको अन्त्य कांग्रेस महाधिवेशनबाट आएको नेतृत्वले पार्टीको मात्र नभई मुलुककै नेतृत्व गर्न सक्छ । र अहिले सतहमा देखिएको संकट टार्न पनि उक्त नेतृत्व सक्षम हुनुपर्छ तर त्यसका निम्ति कांग्रेसको नेतृत्व कसको हातमा पुग्छ भन्ने सवाल पनि उत्तिकै महत्वपूर्ण छ । अहिले राजनीतिक परिदृश्यमा विभिन्नखाले अतिवादी सोच देखा परेका छन् । संविधान निर्माणपश्चात संविधान संशोधनको विषय पार लाग्यो भने पनि संविधानको कार्यान्वयनको विषय जटिल छ । आफैले दिशानिर्देश गर्दै ल्याएको परिवर्तन र आफ्नै नेतृत्वमा जारी संविधानको कार्यान्वयन स्वयं कांग्रेसकै लागि वास्तवमै चुनौतीपूर्ण छ । त्यसमाथि पनि कांग्रेस आज प्रतिपक्षमा छ, जसका कारण पनि संविधानको कार्यान्वयनको विषय थप चुनौतीपूर्ण बन्न पुगेको हो ।

    २१ औं शताब्दीको कुनै पनि राजनीतिक दल हिजोकै पाराले चल्न सक्दैन । बीपी कोइरालाको एउटा भनाइ यहाँ मननयोग्य छ, ‘प्रगतिको ऐतिहासिक महत्व नबुझेर समयको माग विपरीत काम गर्दा ठूल्ठूला संस्थाले इतिहासको पानाबाट मेटिएर जानु परेका धेरै घटना छन् ।’ कांग्रेसका सन्दर्भमा पनि गतिशील इतिहास र नेपाली राजनीतिमा छाडेको पदचापलाई कांग्रेसमा आकर्षित युवापंक्तिसम्म पुयाउने साथै वैचारिक रूपमा पनि प्रष्ट नेतृत्व आजको आवश्यकता हो । यथास्थितिमा कांग्रेस चल्न सक्दैन, यो सत्य हो । नेपालका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका खेल्दा पनि यो पार्टीमाथि जोरजबरजस्त ढंगले यथास्थितिवादी र परम्परागत पार्टीको पगरी गुथाइने गरेको पनि अर्को सत्य हो । झूटको खेती गरेर राजनीतिको फसल काट्नेहरूका अगाडि कांग्रेसको बास्मती चामलभन्दा पीठो बढी बिक्ने गरेको छ । यद्यपि यो अब धेरै टिक्नेवाला छैन । तर कांग्रेसको धमनी बाह्य र आन्तरिक राजनीतिक र अराजनीतिक प्रहारबाट प्रभावित भइरहँदा त्यसको रक्षा गर्न सक्ने नेतृत्व चयनचाहिं सर्वथा महत्वको विषय बनेको छ । सत्ता बिना कांग्रेस टिक्न सक्तैन भन्नेहरूका लागि पनि प्रतिपक्षमा रहँदा मजबुत पार्टी निर्माण गर्ने अवसर कांग्रेसजनलाई १४ औं महाधिवेशनका रूपमा समयले जुराइदिएको छ । सत्ताको बागडोर आफ्नो हातबाट फुत्कनेबित्तिकै सिंगो पार्टीको शिर निहुरियो भन्ने लोभयुक्त भावनाले प्रभावित कार्यकर्ताहरूलाई पनि सम्पूर्ण रूपमा दीक्षित पार्ने मौका पनि कांग्रेससँग यतिखेर छ । अर्ध र पूर्ण भूमिगत रहेर देश र जनताका लागि राजनीति गर्ने पार्टीलाई सधैं सत्ता मात्रै प्राप्त हुँदैन भन्ने प्रमाण त कांग्रेसले राणाशासन, पञ्चायत र राजाको प्रत्यक्ष शासनकालमा अनुभूत गरेकै हो । ती कालखण्डमा विचलित नभएका कार्यकर्ताहरू अहिले विचलित हुनुपर्ने कुनै कारण छैन । सरकार लोकतान्त्रिक विधिबाट निर्वाचित भएपनि यो माक्र्सवादी—लेनिनवादी हो, त्यसैले कांग्रेसका लागि यो अवसर हो । सालिन र संयमित भूमिका निर्वाह गर्यो दुई अढाई वर्ष भयो, अब यसलाई कमजोर भूमिका भयो भन्ने चारै तिर गुनासो आउन थाल्यो, अब एउटा जिम्मेवार प्रतिपक्षको रुपमा पार्टीलाई उभ्याउँदै सम्पूर्ण रूपमा पार्टीलाई बलियो बनाई मुलुककै नेतृत्व गर्ने अवसर ल्याउन सबै कांग्रेसीले बुझ्नुपर्ने चाहिँ यही नै हो अव पार्टीको प्रत्येक तहमा — कस्तो कांग्रेस, कसको नेतृत्व ? जय नेपाल !
    राम बहादुर बस्नेत
    पूर्व महासमिति सदस्य
    एवं महाधिवेशन प्रतिनिधि हुन् ।
    basnet.rb23@gmail.com

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु