गायक अर्याललाई मेलवादेवी संगीत सम्मान, अभिनेत्री भट्टलाई शान्ति मास्के कला सम्मान

म्यूजिक खबर
प्रकाशित: २४ जेष्ठ २०८०, बुधबार

काठमाडौं । गोरखा सांस्कृतिक समाजको सातौं वार्षिक साधारणसभाको अवसर पारेर समाजले लोकप्रिय गायक रामचन्द्र अर्याललाई मेलवादेवी सङ्गीत सम्मान प्रदान गरेको छ भने अभिनेत्री रश्मी भट्टलाई शान्ति मास्के कला सम्मान प्रदान गरेको छ । नेपालको पहिलो गायिका मेलवादेवी गुरुङ र वरिष्ठ अभिनेत्री, नाटककार शान्ति मास्केको नाममा स्थापित सम्मानबाट समाजले गायक अर्याल र अभिनेत्री भट्टराई नगद राशि ५५५५ सहित सम्मान प्रदान गरेको हो । प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठको हातबाट उनीहरुलाई सम्मान प्रदान गरिएको हो ।

सम्मान प्रदान पछि बोल्दै उपप्रधान तथा गृहमन्त्री माननीय नारायणकाजी श्रेष्ठले गोरखाको संस्कृति बचाउनका लागि कलाकारले गरेको कार्य उत्कृष्ट भएको भन्दै समाज रुपान्तरणमा कलाकारहरुको मुख्य भूमिका रहेको बताए । उनले कलासंस्कृतिको माध्यमबाट भाषा साहित्यलाई विश्वसामु पु¥याउन समाजमा स्थापित हुन पनि महत्वपूर्ण भूमिका खेलेको बताउँदै गोरखालीहरुको विकासको क्रमलाई अझै स्तरोन्नति गर्न सरकार दृढ रहेको विश्वास व्यक्त गरे ।

गायिका मेलवादेवी गुरुङको घर गोरखाको सौरपानी भएको र अभिनेत्री शान्ति मास्केको घर गोरखाको आँपपिपल भएको हुँदा उहाँहरुको स्मृतिमा यो सम्मानको नाम राखी गोरखा सांस्कृतिक समाजले निरन्तर कलाकारहरुलाई सम्मान गर्ने भएको छ ।

त्यसैगरी गोरखा सांस्कृतिक समाज पत्रकारिता सम्मानबाट नगद राशी ५५५५सहित पत्रकार राजेन्द्र बानियाँलाई पत्रकारिता सम्मान प्रदान गरियो । हिमालय टेलिभिजनका प्रधान सम्पादक एवं यक्ष प्रश्नका चर्चित प्रस्तोतासमेत रहेका बानियाँलाई समाजले सम्मान गरेको हो । त्यस्तै चर्चित कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’लाई गोरखा सांस्कृतिक समाज युवा प्रतिभा सम्मानबाट सम्मानित गरेको छ ।

त्यसैगरी गजलकार प्रदीप रोदनलाई गोरखा सांस्कृतिक समाज साहित्य सम्मान प्रदान गरेको छ । उहाँलाई नगद राशि ५५५५ सहित सम्मान प्रदान गरिएको हो ।
समाजका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोरखा सांस्कृतिक समाजको तर्फबाट वर्षभरिको उत्कृष्ट सदस्यको रुपमा गायिका बेलिमाया पुलामी र गायक सचिन भट्टराईलाई सम्मान गरियो । त्यस्तै समाजको देउसीभैलो कार्यक्रममा संयोजकको भूमिका निर्वाह गरी कार्यक्रम सफल बनाउने समाजका सदस्य कार्यक्रम संयोजक दीप गुरुङलाई सम्मान गरिएको थियो । त्यस्तै आजीवन सदस्यहरु गायिका हरिमाया गुरुङ, गीतकार विश्व देवकोटा, गीतकार ध्रुवप्रसाद अम्गाईं, गायक विक्रान्त पोखरेललाई पनि आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु