रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन

म्यूजिक खबर
प्रकाशित: १९ बैशाख २०७७, शुक्रबार

काठमाडौं । रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको निधन भएको छ । प्रजातन्त्र सेनानीसमेत रहेकी उनको विहीबार राती निधन भएको परिवारस्रोतले जनाएको छ । उनको ८५ वर्षको उमेरमा आज राति काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । राणा शासनविरुद्धको आन्दोलनमा होमिएर क्रान्तिकारी गीत गाउँदै हिंडेकी गायिका रानुदेवीले प्रजातन्त्र स्थापनाको लागि गीतमार्फत क्रान्ति गरेको बताइन्छ । उनले आज देशको क्रान्ति युद्धमा, नेपाली नेपाली, जुनेली रात हजुर, जागे नेपाली उठे नेपाली, नोना आमा तिमी गयौ जस्ता गीतहरु गाएकी छन् । २०६३ सालमा उनले गायक सुमित खड्कासँग सहकार्य गर्दै ‘२००७ साल अघि र पछि’ नामक एल्बम प्रकाशन गरेकी थिइन् ।

को हुन् त रानुदेवी ?

रेडियो नेपालकी प्रथम गायिका रानुदेवीको जन्म सन् १९३६ नोभेम्बर २७ का दिन वीरगञ्जमा भएको हो । उनका पिता ईश्वरीप्रसाद उपाध्याय र माता इन्दिरा उपाध्याय (पौडेल) हुन् । उहाँको बाल्यकाल बनारसमा बित्यो । उनको विवाह २००६ सालमा बिराटनगरका तीर्थप्रसाद अधिकारीसँग भएको हो । इतिहास विषयमा एम.ए. सम्मको अध्ययन गरेकी रानुदेवी हाल पुरानो बानेश्वरमा कान्छि छोरीसँग बस्दै आएकी थिइन् ।

रानुदेवी अधिकारी प्रजातान्त्रिक रेडियो नेपालकी प्रथम गायिका हुन् । १६ वर्षको उमेरमा बिराटनगरको जुटमिल्स एरियामा रहेको एउटा सानो स्टुडियोबाट रानुदेवी अधिकारीले गीत गाएकी थिइन् । २००६ सालमा राणाविरुद्धको आन्दोलनमा रानुदेवी गीतका माध्यमले आवाज उठाउने महिला पात्र हुन् । सोही बखत जनतालाई सूचना दिन तारणीप्रसाद कोइरालाको नेतृत्वमा खुलेको प्रजातान्त्रिक रेडियो नेपालमा रानुदेवीले पहिलोपटक गीत गाएकी थिइन् ।

नेपाली राजनीतिक क्षेत्रसँग जोडेर धेरैले नोना कोईरालालाई चिने तर उनकै बहिनी रानुदेवी अधिकारी जसले प्रजातन्त्र स्थापनाका बखतदेखि नेपाली सांगितिक क्षेत्रमा पु¥याएको उल्लेख्य योगदानको बारेमा धेरैलाई थाहा छैन् । बनारसमा आफ्नो बाल्यकाल बिताएकी उनले तीर्थप्रसाद अधिकारीसँग विवाह भएपश्चात विराटनगरलाई कर्मथलो बनाईन् । विशेषगरी तारिणी प्रसाद कोईरालाको प्रेरणाबाट सांगितिक क्षेत्रमा अघि बढेकी उनले आफ्नो सांगीतिक जीवनमा पनि कोईरालाले लेखेकै गीत मात्र गाईन् । वि.सं २००६ साल होस् वा ०७ सालको आन्दोलनमा उनले ‘नेपाली आघि बढ हातमा क्रान्ति झन्डा लिई’, ‘आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा होस’ लगायतका गीत गाएर जनताहरुलाई मोर्चामा होम्नका लागि अनुरोध गरिन् ।

त्यस पछि उनले ‘चरी भुर्र उडी जा’, ‘तिमी दुरको परदेशी’ लगायतका माया प्रेम भावका गीत पनि गाईन् । २ दशक भन्दा लामो समय विराटनगरमा शिक्षिका समेत भएर बिताएकी उनले गाएका गीतमा तिमी दूरको परदेशी सबैभन्दा मनपरेको गीत थियो ।

जुन गीत नेपाली कांग्रेसको प्रचार प्रसारको नारा सरह बनेर पछि प्रतिबन्धित पनि भएको थियो । नेपालमा रेडियोमा गीत गाउने प्रथम महिला रानुदेवी अधिकारी ८५ वर्षको उमेरमा पनि संगीतमा रमाइरहेकी थिइन् ।

पहिलोपटक गीत गाउँदा निकै रमाइलो लागेको कुरा उनीसँग म्यूजिक खबरले गरेको कुराकानीमा बताएकी थिइन्् । केटाकेटी पनि थिएँ, चाहना पनि त्यही थियो । त्यसले गर्दा मलाई रमाइलो लाग्यो, कुराकानीमा उनले भनिन् – “रेडियो नेपाल स्थापना हुनु अघिको त्यो रेडियोको स्वरुप, एउटा सानो कोठा थियो । उपकरणहरु खास केही थिएनन् । जो गाउनु पर्ने हो वा समाचार सुनाउनु पर्ने हो उ एक्लै भित्र गएर आफ्नो काम गथ्र्यो ।”

त्यस समयमा उनले गाउने गीतहरु प्रत्यक्ष प्रसारण गरिन्थे, र गीतलाई साथ दिने बाजाहरु पनि प्रत्यक्ष नै बजाइन्थे । सानैदेखि गीत गाउने र गुनगुनाउने गरेकी अधिकारी विवाहपछि कोइराला परिवारसंग जोडिन पुगेकी थिइन् । तारिणीप्रसाद कोइरालाले नै उनलाई रेडियोमा गीत गाउन भनेका थिए ।
आफ्नो गीतको प्रतिकृया भने निकै ढिलो मात्रै पाएको उनी बताउँछिन् ।
“राणा शासनको समयमा क्रान्तिकारी गीत गाउने मान्छेलाई कसैले केही भन्छ ? उनी भन्छिन्– “त्यो डरले पनि कसैले केही भन्दैनन् । पछि मात्रै मैले सुनें, राम्रो गीत गाएँछु भनेर ।” तर आफूलाई भने जोखिमयुक्त काम गर्दैछु भन्ने नै नलागेको उनले बताउने गर्थिन् ।

“गीतका शब्द र संगीत पनि तारिणीप्रसाद कोइरालाका थिए,“ उनले हामीसँगको कुराकानीमा भनेकी थिइन््– उहाँले मलाई यसरी प्रोत्साहन दिनुभयो कि मैले मजाले गाएँ ।” त्यतिबेला त मलाई त्यस्तो केही लागेन, केटाकेटी नै थिएँ । दिनरात ती गीतहरु गाउँथें रेडियोमा । गाउञ्जेल केही घटना भएन, त्यसपछि त प्रजातन्त्र आइहाल्यो नि !”

२००७ मा प्रजातन्त्रको स्थापनापछि काठमाण्डुमा रेडियो नेपालको स्थापना गरिएको थियो । केही समयका लागि रानुदेवी पनि काठमाण्डु आएकी थिइन् र सिंहदरबारबाट गीतहरु गाएकी थिइन् । त्यसपछि उनी कोलकाता गएर ६ वटा गीतहरु रेकर्ड गराइन्, जसमध्ये दुइवटा गीत क्रान्तिकारी थिए । दिनरात रेडियोमा गाउने गरेको त्यो गीत उनलाई सधैं ताजा थियो ।

त्यसो त २०६३ सालमा उनका बारेमा गीत रेकर्डिङको ५६ वर्षपछि ‘२००७ साल अघि र पछि’ नामक एल्बम प्रकाशनमा ल्याइयो । करिब ६ दशक पछि भने शंकर खरेलको रचना र सुमित खड्काको संगितमा ‘जाग उठे नेपाली’ बोलको गीत पनि गाईन् । यतिसम्म की लामो समय पछि गीत गाउँदा उनी धेरै खुशी भईन् । यसको श्रेय भने शंकर खरेल र सुमित खड्कालाई नै जान्छ ।

मोरङ समाज काठमाडौंको सम्मान, तारणी रोशा स्मृति कोष सम्मान, कलानिधि इन्दिरा संगीत महाविद्यालयको अभिनन्दन, बलबहादुर राई स्मृति प्रतिष्ठान सम्मान लगायतका दर्जनौं सम्मान र कदर पत्रबाट उनलाई सम्मान गरिएको छ । त्यसैगरी रेडियो कान्तिपुरले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा रेडियो जगतमै पहिलोपटक प्रजातान्त्रको गीत गाउने रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीलाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिसकेका छ थियो भने म्यूजिक खबरले सातौं म्यूजिक खबर म्यूजिक अवार्ड दीर्घ साधना सम्मान समेत अर्पण गरेको थियो ।

रानुदेवी अधिकारी जीवनको उत्तराद्र्धमा उनी संगीतमै आनन्द लिइरहेकी थिइन् । “बुढेसकालमा खासै केही काम पनि छैन । मेरो सहारा भनेको नै संगीत हो । एउटा भजन भए पनि गाउँछु । म बसेर गुनगुनाइरहन्छु एक्लै आनन्दले !” जे छ संगीतमै छ, भेटमा उनी भन्ने गर्थिन् ।

उनका छोरा अविन र छोरीहरू अर्चना तथा अल्पना छन् । सानैदेखि शास्त्रीय गायनमा समर्पित रानुदेवीले सर्वप्रथम विक्रम सम्बत् २००६ सालमा ६ वटा गीत रेकर्डिङ गरेकी थिइन् ।
म्यूजिक खबर परिवार क्रान्तिकारी गायिका रानुदेवी अधिकारीप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु