वरिष्ठ गीतकार थापाको भोलि विहान १० बजे अन्त्येष्टि गरिने, गीतकार संघले ग¥यो शोक प्रस्ताव

म्यूजिक खबर
प्रकाशित: १५ जेष्ठ २०७७, बिहीबार

काठमाडौं । गीतका शिखर पुरुष रत्नशमशेर थापाको निधन भएको छ । छातीको समस्याले नर्भिक अस्पताल भर्ना भएका वरिष्ठ गीतकार रत्नशमशेर थापाको ८२ वर्षको उमेमार बिहीबार निधन भएको छ । उहाँलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको थियो । अस्पतालले उनलाई आइसोलेसनमा राखेको थियो । त्यसै क्रममा उहाँको निधन भएको हो ।
‘बिहानसम्म सामान्य हुनुहुन्थ्यो,’ चिकित्सकले हेरेपछि वार्डमा लैजाने कुरा चलिरहेको थियो । अचानक दिउँसो करिब साढे १२ बजे निधन भएको जानकारी दिइयो’ अस्पतालमा कुरुवा बसेकी उनकी साली जगदिश्वरी बस्नेतले भनिन् ।
करिब तीन महिनाअघि रत्नशमशेरको टिचिङ अस्पताल महाराजगन्जमा मेरुदण्डको शल्यक्रिया गरिएको थियो । त्यसयता उहाँ घरैमा आराम गरिरहेका थिए । बुधबार राति घाँटीमा खकार अड्केर गाह्रो भएपछि उहाँलाई नर्भिक लगिएको हो ।

सन् १९९६ साल साउन १६ गते मा जन्मिनुभएका उहाँको रचनामा स्वर स्रमाट नारायणगोपालदेखि प्रेमध्वज प्रधानसम्मको स्वरमा गुञ्जिने गथ्र्याे । वि.सं. २००८ सालमा बाह्रवर्षे उमेरदेखि नै कविता लेख्न थाल्नुभएको रत्नशमशेर थापाले वि.सं. २००९ सालबाटै गीत पनि लेख्न थाल्नुभएको हो । उहाँका लामा कविता, नाटक, कथा पनि छापिएका छन् तर पनि उहाँ छोटा सिर्जनामै रमाउने गर्नुहुन्छ । २०२० सालमा ओभानो सिउँदो र २०२६ सालमा रुझेको परेला गीतसङ्ग्रह प्रकाशित छन् । त्यस्तै, २०३६ सालमा चकलाभरिको घाम र २०६० सालमा ताराका काँचा रङ नामक कवितासङ्ग्रह प्रकाशित छन् । वि.सं.२०४२ मा ’दोभान’ शीर्षकमा उहाँका गीतहरूको एलबम निकालेको थियो म्युजिक नेपालले ।
नेपाली सुगम संगीतका चर्चित रचनाकार थापाले घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, पन्छीमा राम्रो डाँफे, गोरेटो त्यो गाउँको, ए कान्छा ठट्टैमा बैँस, जाग लम्क चम्क हे, आँखाको भाका आँखैले, उकाली ओराली गर्दै जस्ता हजारौं कालजयी र सदावहार गीत लेख्नभएको छ ।
उहाँले देवकोटा साहित्य पुरस्कार, युगकवि सिद्धिचरण काव्य पुरस्कार, मुक्ति पुरस्कार, रेडियो नेपालबाट सम्मान, साधना सम्मान, लाइफटाइम एचिभमेन्ट अवार्ड (हिट्स एफएम), भीमनिधि राष्ट्रिय प्रतिभा पुरस्कार, जगदम्बाश्री पुरस्कार, छिन्नलता पुरस्कार, हरिहर शास्त्री–सावित्रीदेवी साहित्य पुरस्कार, म्यूजिक खबर दीर्घ साधना सम्मान आदि पाउनुभएको छ । गीतका शिखर पुरुष रत्नशमशेर थापाका श्रीमती र दुई छोरा छन् ।
गीतकार संघका आजीवन सदस्यस समेत रहनुभएका रत्नशमशेर थापा संगीत रोयल्टी संकलन समाजका संस्थापक अध्यक्ष हुनुहुन्छ । गीतकार थापाले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम.ए.गर्नुभको छ । उहाँ गीत, कविता, मुक्तक, हाइकु, नाटक जस्ता साहित्यका बहुबिधामा कलम चलाउने अब्बल स्रष्टा हुनुहुन्थ्यो भन्दै गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले शोक प्रस्तावसमेत पारित गरेको बताए ।
भोलि विहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको हुँदा लकडाउनको समयलाई मध्यनजर गरी सम्भव भएका सबै स्रष्टाहरुलाई उपस्थित हुन रोयल्टी संकलन समाजका अध्यक्ष महेश खड्काले सबैलाई अनुरोध गरेका छन् ।
वरिष्ठ गीतकार रत्नशमेशर थापाप्रति म्यूजिक खबर परिवार हार्दिक श्रद्धान्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

यस्तो छ गीतकार सङ्घ नेपालको शोक प्रस्ताव
गीतकार सङ्घ नेपालका सदस्य, विशिष्ट कवि तथा गीतकार रत्नसमसेर थापाको आज जेठ १५ गते अपरान्ह १२.३० मा आकस्मिक निधन भएको खवरले गीतकार सङ्घ नेपाल परिवार स्तब्ध भएकोछ ।
बि.सं. १९९६ साउन १६ का दिन काठमाडौंमा जन्मनु भएका रत्नसमसेरले त्रि वि वि बाट अंग्रेजी साहित्यमा एम.ए.गर्नु भकोछ । उहाँ गीत, कविता, मुक्तक, हाइकु , नाटक जस्ता साहित्यका बहुबिधामा कलम चलाउने अब्बल स्रष्टा हुनुहुन्थ्यो ।
ए कान्छा ठट्टैमा यो बैंसजानलाग्यो, घुम्तिमा नआउ है, गोरेटो त्यो गाउँको, स्वर्ग्कि रानी, बिछोडको पीडा, जाग लम्क चम्क, फूलैफूलको मौसम जस्ता सयौं लोकपृय गीतहरु उहाँले लेख्नुभएकोछ । नातीकाजी, अमर गुरुङ ,नारायण गोपाल, शक्तिबल्लभ जस्ता पुराना तथा नयाँ पुस्ताका धेरै संगीतकार तथा गायकहरूले उहाँका रचनामा काम गरेकाछन् ।
उहाँले छिन्नलता पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, युगकवि पुरस्कार जस्ता सैयौं संघ(संस्थाबाट पुरस्कार, सम्मान , अभिनन्दन , लाइफटाइम एवार्ड तथा सुप्रसिद्ध गोरखा दक्षिणबाहु बिभुषण समेत पाउनुभएकोछ ।
गीतकार सङ्घ नेपालबाट प्रदान गरिने “ राष्ट्रिय स्रष्टा सम्मान“ बाट सम्मानित हुने उहाँ पहिलो स्रष्टा हुनुहुन्छ ।
उहाँबाट गीतकार सङ्घ नेपालले आजसम्म पाइरहेको प्रेरणा र मार्ग्निर्देशनप्रति आभार प्रकटगर्दै उहाँको निधनमा गहिरो दुस्ख ब्यक्तगर्द छौं र अमर गीतकार रत्नसमसेर थापामा भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौं ।
उहाँको आत्माको चीर शान्तिको कामना गर्दै , शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना ब्यक्तगर्दै गीतकार सङ्घ नेपालले सर्वसम्मत रुपमा यो शोक प्रस्ताव पासगरेकोछ ।
मितिः २०७७। ०२। १५

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु