बहुआयामिक प्रतिभा रायन र मुनाको ‘मदनले झैँ मुनालाई’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २६ असार २०८३, शुक्रबार ०१:०३

काठमाडौं । नेपाली सांगीतिक बजारमा ‘मदनले झैँ मुनालाई’ बोलको मौलिक र मार्मिक लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा बहुप्रतिभाशाली कलाकारद्वय रायन बस्याल र मुना लोहनीको सहकार्य रहेको छ । रायनको शब्द, संगीत, कथा र निर्देशनमा तयार पारिएको गीतमा मुनाको स्वर र अभिनय रहेको छ ।

राजधानीमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष एवं चर्चित गायक कुलेन्द्र विश्वकर्माको प्रमुख आतिथ्यतामा गीतको भिडियो विमोचन गरिएको हो। राष्ट्रिय लोकसञ्चारकर्मी नेपालको आयोजनामा भएको उक्त विमोचन कार्यक्रममा कला तथा सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

गीतमा नेपालका चर्चित गायक प्रताप दास र सुमधुर आवाजकी धनी गायिका सुष्मा लोहनीको जादुमयी स्वर सुन्न सकिन्छ। गायिका सुष्मा लोहनीकै प्रस्तुतिमा बजारमा आएको यस गीतलाई चर्चित संगीतकार कृष्ण विक ‘भान्जा’ले संगीत संयोजन (एरेन्ज) गरेका हुन्। नेपाली सुगम संगीत र कला क्षेत्रमा स्थापित नाम रायन बस्यालले यस गीतमा शब्द संकलन, संगीत सिर्जना, भिडियोको कथा लेखन र निर्देशन आफैँ गरेर आफ्नो बहुआयामिक प्रतिभालाई पुनः प्रमाणित गरेका छन्। माया, विछोड र नेपाली समाजको जीवन्त यथार्थलाई समेटेर निर्माण गरिएको भिडियोमा रायन बस्याल, सन्जना गुरुङ र स्वयं गायिका सुष्मा लोहनीको जीवन्त अभिनय देख्न सकिन्छ।

विमोचन कार्यक्रमका प्रमुख अतिथि गायक कुलेन्द्र विश्वकर्माले गीतको उच्च प्रशंसा गर्दै ‘मदनले झैँ मुनालाई’ गीतले नेपाली लोक संगीतको मर्म र मौलिकतालाई दर्साएको बताए। उनले रायनको निर्देशन र सिङ्गो टिमको मिहिनेत भिडियोमा प्रष्ट देखिएकाले यो गीतले आम दर्शकको मन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको धारणा राखे।

कार्यक्रमका सभापति एवं राष्ट्रिय लोकसञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले गीत र सर्जक टोलीलाई बधाई दिँदै लोक संस्कृतिको संरक्षणमा सञ्चारकर्मीहरूको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे। अध्यक्ष गौतमले भने, ‘हाम्रो मौलिक लोक संस्कृति सधैँ हाम्रो शिरमा छ। रायन बस्याल जस्ता युवा सर्जकले नेपाली समाजको यथार्थलाई समेटेर सिर्जना गरेका यस्ता गीतहरूलाई आम दर्शक र सञ्चारमाध्यमले उच्च प्राथमिकता दिनुपर्छ। लोक संस्कृतिको प्रवर्द्धन र सञ्चारकर्मीहरूको हकहितका लागि हाम्रो संस्था सधैँ प्रतिबद्ध छ।’

यो मौलिक गीत हाल विभिन्न डिजिटल प्लेटफर्महरूमा उपलब्ध भइसकेको छ र यसले दर्शक तथा श्रोताबाट निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु