• रिहान गिरी र वर्षा इटानीको प्रेम चर्चा, रिहानकी आमाले दिइन् अनुमती

    म्यूजिक खबर
    प्रकाशित: ५ पुष २०७९, मंगलवार

    काठमाडौं । रिहान गिरी र वर्षा इटानी नेपाली संगीत अनुरागीहरुको लागि पछिल्लो सुनिएका नाम हुन् । विशेषतः ‘भ्वाइस अफ नेपाल’को चौथो संस्करण हेर्ने दर्शकहरुको लागि त सुनिएको नाम मात्र होइन चिनिएकै अनुहार हुन् ।
    ‘भ्वाइस अफ नेपाल’ मा सहभागी भएसँगै यी दुबैले राम्रो चर्चा कमाउन सफल भए । जब प्रतिस्पर्धाबाट बाहिरिए यी दुईलाई जोडेर चर्चा बढेको छ ।
    उनीहरु बीच प्रेम सम्बन्ध रहेको खबर हिजो गाइँगुइँ थियो ।
    यी दुबैजना आज (मंगलबार) दिउँसो एयरपोर्टमा एकसाथ देखिएपछि झन् उनीहरुको बीचको सम्बन्ध के हो भन्नेमा थप चर्चा बढेको छ ।

    विमानस्थलमा पुगेका यी दुईलाई मिडियाले सम्बन्धबारे प्रश्न गरे । तर, उनीहरुले आफूहरु मिल्ने साथी मात्र भएको भन्दै प्रश्नलाई पन्छाए । खासमा आगामी शुक्रबार हुने भ्वाइसको ग्राण्ड फिनालेमा सहभागि हुन रिहानकी आमा र बहिनी काठमाडौं आइपुगेका थिए ।
    उनीहरुलाई स्वागत गर्न रिहानसँगै वर्षा पनि एयरपोर्ट पुगेकी थिइन् । उक्त अवसरमा मिडियाले रिहानलाई नेपाली केटी विवाह गर्छु भनेर दिएको हालैका अन्तर्वार्ताबारे जिज्ञासा राखेका थिए ।

    रिहानकी आमा गीताले पनि छोराले नेपाली बुहारी बनाएमा आफूलाई खुशि र गर्व महसुस हुने बताइन् । वर्षा र रिहानतर्फ हेर्दै उनले भनिन्, ‘दुबैको चाहना भए मेरो तर्फबाट ओके । छोराको चाहना मेरै खुशि हो ।’

    वर्षाले पनि रिहानकी आमालाई भेट्न आफू उत्साहित र खुशि भएको बताइन् । गीताले छोरा रिहानको गायकीको प्रशंसा समेत गरिन् । ‘खासमा रिहान अरु नै कामको लागि नेपाल आएको हो । विधाताले लेखेकै भएर उनी भ्वाइसमा भेटिए । मेरो छोराले निकै सम्मान पाएको छ’ उनले भनिन् ।

    उनले आफ्नो छोरा वास्तविक कलाकार भएको समेत बताइन् । बीस वर्षपछि नेपाल आएकी उनले रिहानसँगै नेपालका तीर्थस्थल घुम्ने चाहना व्यक्त गरिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु