
काठमाडौं । गायक ऋषि अधिकारी लामो समयपछि मनभरिका पीडा लिएर बजारमा आएका छन् । कुनै बेला उनको गायकीको चर्चा निकै चुलिए पनि पछिल्लो समय अलि ओझेल परेका गायक अधिकारीले यतिखेर भने मनभरिका पीडालाई गीतमार्फत् लिएर आएका हुन् ।
गायक अधिकारीकै शब्द, संगीत र स्वरमा बजारमा आएको लोकगीत ‘हिन्दैछु बेसुर बनेर’ लाई विन्ध्यवासिनी म्यूजिकले बजारमा ल्याएको हो । एउटा पीडाबोध भएको मनभित्रका वेदनालाई गीतमार्फत् व्यक्त गरिएको यो लोकगीत ऋषि अधिकारीलाई पुनः सक्रिय गराउनेमा विश्वास गरिएको छ । यस गीतको म्यूजिक भिडियोमा देवेन्द्र क्षेत्री र रुपा कँडेलको अभिनय रहेको छ भने काजिस श्रेष्ठले यसको निर्देशन गरेका छन् । अजय रेग्मीको छायाँकनमा तयार भएको यो भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।