रोबिन र न्यु रिभोल्युसनका संस्थापक चर्चित रकस्टार रविन तामाङको निधन

म्यूजिक खबर
प्रकाशित: २० असार २०८०, बुधबार
Rockstar Robin Tamang

काठमाडौं । चर्चित नेपाली रकस्टार तथा अभिनेता रविन तामाङको निधन भएको छ । रविनको मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा निधन भएको दिदी भगवती तामाङले बताएकी छन् । अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ–५ चिसेनीस्थित उनको घरमा पुगेको बताए । ‘प्रहरीलाई मृतकको दिदीले खबर गर्नुभएको हो । तुरुन्तै घटनास्थलमा पुगेर दिदीकै आग्रहमा हामी घरभित्र पस्यौं । उहाँ मृत अवस्थामा भेटिनुभयो। शंकास्पद केही देखिँदैन । सामान्य अवस्था छ । घटनास्थल क्लिन देखिन्छ’ उनले भने । सबै प्रक्रिया पु¥याएर रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।
रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । रोविन तामाङ एक नेपाली गायक, सङ्गीतकार, अभिनेता र रक ब्यान्ड रोबिन र न्यु रिभोल्युसनका संस्थापक हुन् । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य रहेको छ ।
रोविनको जन्म सिङ्गापुरमा ब्रिटिस सेनाको परिवारमा भएको थियो। उनी आफ्नो परिवारमा रहेका पाँच भाई÷बहिनी मध्ये कान्छा हुन् । उनको बुबा ब्रिटिस सेनामा कार्यरत रहेका कारण विभिन्न देशहरूमा काम गर्नुपर्ने भएकोले रोविनको वाल्यकाल हङकङ, सिङ्गापुर र ब्रुनाईमा बितेको थियो ।
सिङ्गापुरमा प्रारम्भिक विद्यालय शिक्षाको क्रममा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलको गीतहरू सुन्थे जुन उनको लागि प्रेरणाको स्रोत बन्न पुगेका थिए । टोरन्टोको हम्बर कलेजमा सन् १९८० तीर कलेजमा अध्य्यन गरिरहेको समयमा उनले आफ्नो दोस्रो ब्यान्ड ’तामाङ’ गठन गरेर विभिन्न रङ्गमंचमा प्रदर्शन गरेका थिए ।
सन् १९९६ मा, नेपाल फर्केर उनी आफ्नो बुबाको गृहस्थान पोखरा जानुभयो र रक ब्यान्ड ’लुजा’मा सामेल भएका थिए । उनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे तर सन् २००५ मा यो समूह बिघटन भएपछि यो यात्राको अन्त भएको थियो ।
उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु