• सक्रिय हुँदै रोयल्टी संकलन समाज

    म्यूजिक खबर
    प्रकाशित: ७ माघ २०७०, मंगलवार

    काठमाडौं, ७ माघ । कहिले पूर्वका रेडियो त कहिले पश्चिमका रेडियोहरुसँग कार्यक्रमहरु गर्दै रोयल्टीका बारेमा आवाज उठाउँदै आएको संगीत रोयल्टी संकलन समाज सक्रिय भएको छ । पाइरेसी र रोयल्टीका विषयमा देश दौडाह गर्दै आएको समाजले आफ्नो कार्यहरुलाई सक्रिय बनाउँदै लगेको छ । देश दौडाहका नाममा रोयल्टी संकलन समाजको ढुकुटी रित्याएको आरोप केही संगीतकर्मीहरुले लगाउँदै आए पनि अब भने त्यसको अन्तिम परिणाम स्वर देशभरका रेडियोहरुसँग पनि रोयल्टी लिनका लागि सम्झौता अघि बढाइसकेको छ ।
    संगीत रोयल्टी संकलन समाज नेपालले रेडियोका लागि रोयल्टीको मापदण्ड निर्धारण गरेको छ । समाजले दिएको जानकारी अनुसार कुल बिज्ञापनबाट प्राप्त आम्दानीको दुई प्रतिशत वा सांगीतिक कार्यक्रमका लागि प्राप्त बिज्ञापनबाट प्राप्त आम्दानीको दश प्रतिशत रोयल्टीको मापदण्ड निर्धारण गरिएको अध्यक्ष सुरेश अधिकारीले म्यूजिक खबरलाई जानकारी दिए । अधिकारीले देशभरका रेडियोहरुमध्ये करिब २५ भन्दा बढीसँग रोयल्टीको सम्झौता भइसकेको र अन्य रेडियोहरुले पनि रोयल्टी तिर्ने कुरामा सकारात्मक रहेको बताएका छन् ।
    समाजले रोयल्टीको मापदण्डमा प्रबेश गरी प्रतिलिपि अधिकारजन्य बौद्धिक सम्पतिको संरक्षणमा योगदान दिन सबैलाई अनुरोध गरेको छ । यसैबीच रोयल्टीका बारेमा पछिल्लो प्रगतीको समिक्षा र योजना तयार पार्न गत आइतबार बसेको बैठकले टेलिकमसँगको सिआरबीटीको रोयल्टीसँग भइरहेको छलफललाई यो महिनाभित्र टुंग्याउन निर्णय गरेको समाजका कार्य समिति सदस्य लोकराज अधिकारीले जानकारी दिएका छन् । त्यस्तै यूट्यूबलगायतका प्रविधिबाट हुने गरेको पाइरेसी र रोयल्टीका बारेमा काम गर्नका लागि रोयल्टी संकलन समाजका तर्फबाट सिइओ अंकिता श्रेष्ठ, वसन्त सापकोटा, सञ्जय बरालको एक कार्यदल गठन गरेको छ ।

    Image (39) (1)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु