लाइभ दोहोरीबाट सुरु भएको सविनको सांगीतिक यात्रा

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७८, आईतवार

काठमाडौं । सविन गुरुङ लाइभ दोहोरी गाउँदा गाउँदै गायकको रुपमा स्थापित भए । चितवनबाट सांगीतिक यात्रा सुरु गरेका सविनले दर्जनौं लाइभ दोहोरी गाए ।

 

दर्जनौं मेला महोत्सवमा कार्यक्रम संचालकको भूमिका समेत निर्वाह गरे । दुई वर्ष लाइभ दोहोरी गायनमा आफूलाई क्रियाशील गराए । अहिले उनी स्थापित गायकका रुपमा परिचित छन् ।

सिरानचोक गाउँपालिका वडा नं. २ थालाजुङको चौका गाउँमा जन्मिएका सबिनले आहाल भन्ज्याङ माध्यमिक विद्यालयबाट एसएलसीसम्मको अध्ययन गरेका थिए । त्यसपछि उनी अध्ययनको क्रममा चितवनको सप्तगण्डकी क्याम्पसमा पुगेका थिए । त्यहाँ स्तानकसम्मको अध्ययन गरेका उनले त्यही क्रममा नै चितवनमा हुने विभिन्न लाइभ दोहोरी कार्यक्रममा सहभागी भए । मेला महोत्सवमा भाग लिन थाले । आफ्नो कला कौशल देखाउन थाले । उनको सिर्जनात्मक क्षमताले सबैका सामु परिचित गराउन सफल भयो ।

गायक सविन गुरुङको गायन यात्राले एक दशकको यात्रामा लम्किँदै गर्दा दर्जनौं गीतहरु रेकर्ड भइसकेका छन् । लाइभ दोहोरी गायनलाई निरन्तरता दिँदै उनले रेकर्डिङ कार्यलाई अगाडि बढाइरहेका छन् । आऊ है माया गीतको रेकर्डिङपछि गीत रेकर्डिङको यात्रामा लागेका उनले त्यसपछि आधा मुटु सालैजो गीत बजारमा ल्याए । उनका मोहनी कौडा गीत, छुट्यो माया झ्याउरे गीत जस्ता बजारमा आइसकेका छन् । त्यस्तै सहगायनमा उनले आधा दर्जन गीतहरु बजारमा ल्याएका छन् ।

स्वरको माधुर्यतासँगै उनले शब्द र संगीत सिर्जनालाई पनि साथमा लिएर अघि बढेका छन् । गोरखाको भूगोलमा रोधी बसेको अनुभवदेखि काठमाडौंको स्टुडियोसम्म प्रवेश गरेका अनुभवले खारिएका गायक सविनले आफ्नौ मौलिक भाकालाई भने विशेष प्राथमिकता दिने गर्छन् । प्रत्यक्ष दोहोरी शब्द चयन र विषयवस्तुलाई यथार्थतामा बदल्न खप्पिस उनले गायनबाट नै केही सम्मानहरुसमेत पाइसकेका छन् । उनको गायन शैलीको धेरैले प्रशंसासमेत गर्ने गरेका हुन्छन् । सालैजो, कौडा जस्ता गीतहरु गु्रुङ जातिको विशेष पहिचानका रुपमा परिचित छ । त्यही भाकालाई उनले केही परिमार्जन गरेर मौलिकतासहित प्रस्तुत गर्दै आएका छन् । पछिल्लो समय उनी तमु कलाकार संघ र गोरखा सांस्कृतिक समाजको कार्यसमिति सदस्य पदमा रहेर सामाजिक कार्य लगायत गीतसंगीतको अधिकारको पक्षमा समेत क्रियाशील रहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु