धौलागिरी स्रष्टा तथा सांस्कृतीक सम्मान कार्यक्रम सम्पन्न

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

काठमाडौं । लोकगीत–संगीतको उर्वर क्षेत्र धौलागिरीबाट सो क्षेत्रमा योगदान पुर्याउने लोक स्रष्टा सम्मानित भएका छन् । असार १४ गते राजधानीमा सांस्कृतिक कार्यक्रमसहित कलाकर्मी सम्मान गरिएको थियो ।

धौलागिरी सांस्कृतिक समिति नेपालले दिएको जानकारी अनुसार ‘श्रष्टा ,सम्मान र समय हाम्रा आधार हुन् भन्ने मूल नाराका साथ सो कार्यक्रम सम्पन्न गरिएको हो। कार्यक्रममा धौलागिरी राष्ट्रिय सम्मान भजन शिरोमणी भक्तराज आचार्यलाई प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा यो वर्षको धौलागिरी साधना सम्मान जनप्रिय गायक जीवन शर्मा, खड्ग गर्बुजा र बिमलराज क्षेत्रीलाई दिइएको छ भने धौलागिरी युवा सम्मान अहिलेको बहुचर्चित गीत सालको पातको टपरी हुनि बोलका गायक कुलेन्द्र बिश्वकर्मा, सङ्गीतकार वसन्त थापा र गीतकार नवराज पन्तलाई दिइयो ।


हाँस्यव्यङ्ग्य प्रस्तुतिको क्षेत्रमा कहलिएका कलाकार मदनकृष्ण श्रेष्ठ र लोकप्रिय संगीतकार शम्भुजित बास्कोटाको विशेष आतिथ्यतामा भएको सो सम्मान कार्यक्रममा पर्वतका व्यवसायी एवम् कलाकार रामचन्द्र पौडेल‘आर.सी’को ‘पर्वते राजा’ पञ्चेबाजा गीतको भिडियो सार्वजनिक गरिएको थियो । धौलागिरी सहित गण्डकी प्रदेशका पोखरा, लमजुङ लगायतका स्थानलाई समेटेर तयार पारिएको सो गीतमा बिमलराज क्षेत्रीको संगीत र तेजेश रेग्मीको शव्दहरु रहेका छन् । भिडियामा अर्जुन थापा, नारायण सुवेदी, आर.सि.पौडेल, पुजा पौडेल, शिल्पा कार्की, बिनु कार्की लगायतको अभिनय रहेको छ । भिडियोको निर्देशन बिशाल लोहनीले गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु