संगीत क्षेत्रमा लाग्नेको भविश्य उज्ज्वल छः गायक सञ्जय गुरुङ

म्यूजिक खबर
प्रकाशित: ३० मंसिर २०७७, मंगलवार
sanjay gurung

काठमाडौं । सञ्जय गुरुङ लोकदोहोरी क्षेत्रमा स्थापित गायक हुन् । २०३९ सालमा गोरखा ताकुकोट–६ (बारपाक सुलिकोट गाउँपालिका–६) मा जन्मिएका उनको कर्मथलो भने काठमाडौं बनेको छ । २०५९ सालमा दोभान दोहोरी साँझबाट दोहोरी साँझको गायनको यात्रा प्रारम्भ गरेका उनले विगतका दिनहरुलाई अविश्मरणीय क्षणका रुपमा लिने गर्छन् । तत्कालिन समयमा दोभान दोहोरी साँझमा चर्चित गायक गायिकाहरु शिला आले, राजु परियार, सकुन्तला थापाहरुको संगतमा उनले पनि दोहोरी गाउने अवसर पाएका थिए । पहिलोपटक शिला आलेसँग दोहोरी गाउँदा सबैले मनपराइदिएर वान्स मोर भनेको क्षण उनको दिमागमा ताजै छ ।

गायक गुरुङले २०६० मा तमु ल्होसारको अवसरमा आयोजित दोहोरी गीत प्रतियोगितामा ३१ टिमलाई पछि पार्दै प्रथम स्थान हासिल गरेका थिए । जसको कदरस्वरुप आफू काम गरिरहेको दोभान दोहोरीका संचालकले आर्थिक सहयोग गरी पहिलो एल्बम ‘झल्को उनैको’ बजारमा ल्याउन सफल भएका थिए । उनको मनभित्र गायिका बिमा कुमारी दूरासँग गाउने ठूलो रहर थियो । जुन बेला गायिका बिमा कुमारी दूरा नेपाली लोकगीतको क्षेत्रमा शिखरमा थिइन् । सबैले रुचाइएको नेपाली सांगीतिक क्षेत्रको धरोहर गायिका दूरासँग गाउन पाउँदा आफूलाई भाग्यमानी सम्झिएका थिए उनले । त्यतिबेला एल्बमले राम्रो सफलता पनि पायो । गीतसंगीतमा पहिलो एल्बमबाट नै सफलता र चर्चा पाएका उनलाई पहिलोपटक कुवेतको सांगीतिक कार्यक्रममा जाने अवसर पनि मिल्यो । त्यसपछि गीतसंगीतमा चुनौति थपिएको महसुस गरेर उनले दुई वर्षको संगीत शिक्षा पनि लिए । गायनमा लागेको सुरुवातदेखि नै उनले नाम र दाम राम्रोसँग कमाए ।

बुबाले दिएको एक सय रुपैयाँ लिएर राजधानी छिरेका उनी गीतसंगीतमा लागेको डेढ दशकको यात्रा पार गरिसकेका छन् । किसानी परिवारबाट यो क्षेत्रमा फड्को मारेका गायक गुरुङले पारिवारिक अवस्थाले पढाईलाई निरन्तरता दिन सकेनन् तर उनलाई पछुतो पनि लागेको छैन । समयले कोल्टे फे¥यो । मानिसले कुनै न कुनैमा सफलता हासिल गर्नु नै उपलब्धी हो भन्ने मैले महसुस गरें, उनले भने । आफ्नो क्षेत्रको पहिचान गरेर लगनशील भएर निरन्तर रुपमा काम गरेमा संगीत क्षेत्रमा बाँच्न गाह्रो पर्दैन । एकातिर नाम र अर्कोतिर दाम यही क्षेत्रमा छ, गायक गुरुङले भने । रातारात चर्चामा आउन चाहनेहरुले मात्र यो क्षेत्रलाई बिगारेका हुन् । यो क्षेत्रमा लाग्नेको भविश्य उज्ज्वल छ, उनले भने ।

उनले गीतसंगीतमा ५ सयभन्दा बढी गीतमा स्वर दिएका उनले देशभित्रका करिब ७० जिल्लामा सांगीतिक प्रस्तुति दिइसकेका छन् । युके, कोरिया, हङकङ, कुवेत, बहराईन, यूएई, जापान लगायतका दर्जनभन्दा बढी देशहरुमा सांगीतिक प्रस्तुति दिइसकेका छन् । उनको स्वरमा रहेको गीत चट्ट माया मारेर नबस जन्मभूमिलाई, पल्टन काश्मिरमा, रेलिमै झ्याउरे, दरौंदीको पानीले, पिपल छायाँमा, गोर्खालीको माया, मायाले दिएको सिरौंला, लाहुरे मलायको, फूलै फुलेन, तिम्रो बोलीमा, ठाडो भाका रोधीमा लाएको माया जस्ता दर्जनौं गीतहरु चर्चाको शिखरमा छन् । पछिल्लो समय उनी चाँदनी रोधीघरमा दोहोरी गाउँदै आएका छन् । साथीहरुसँग मिलेर व्यवसायिक रुपमा दोहोरीलाई संचालन गरिरहेका उनी आफ्नो कर्मलाई कसैले पनि नकारात्मक रुपमा नलिन आग्रह गर्दछन् । गोरखा सांस्कृतिक समाजका उपाध्यक्ष समेत रहेका गायक गुरुङ विभिन्न संघसंस्थामा आबद्ध रहेर सामाजिक एवं सांगीतिक क्षेत्रमा क्रियाशील रहेका छन् । उनले गीतबाट नै विभिन्न अवार्ड, सम्मान र पुरस्कार समेत चुमिसकेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु