गीतकार सरला श्रेष्ठको गीतहरुको विशेषांक लोकार्पण र ‘ए मेरो मनको राजा’ श्रव्यदृश्यको लोकर्पण

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०८०, बुधबार

काठमाडौं । गीतकार सरला श्रेष्ठको गीतहरुको विशेषांक रहेको शारदा मासिकको लोकार्पण गरिएको छ भने उनीद्वारा लेखिएको गीतको श्रव्यदृश्य ‘ए मेरो मनको राजा’को सार्वजनिक गरिएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा हाँस्यसम्राट मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता एवं संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा उक्त दुई कृतिहरुको सार्वजनिक गरिएको हो । गीतकार संघ नेपालका सल्लाहकार गीतकार एसपी कोइराला, सम्मानित गीतकार विश्व बल्लभ, गीतकार संघ नेपालका पूर्व अध्यक्ष चूडामणी देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीत रोयल्टी संकलन समाज नेपालका महासचिव बी.पाण्डे, शारदा मासिकका प्रकाशक सम्पादक विमल भौकाजी लगायतको उपस्थितिमा उक्त दुई कृतिहरुको सार्वजनिक गरिएको हो ।
करिव साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रुपमा सक्रिय रहँदै आउनु भएकी एक साहित्यकार, गीतकार तथा सर्जक हुन् सरला श्रेष्ठ । लामो समयदेखि अमेरिकामा रहेर स्वास्थ्यकर्मीको रुपमा कार्यरत रहे पनि गीतकार श्रेष्ठले २०४५ सालभन्दा अघिदेखि साहित्य–सिर्जनाको क्षेत्रमा चलाउन थालेको कलम आज पनि निरन्तर अघि बढिरहेको छ ।
यसपटक केही महिनाका लागि स्वदेश आएको मौका पारेर साहित्यकार श्रेष्ठद्वारा केही ऐतिहासिक कार्यहरु भएको छ । समाजसेवीको रुपमा समेत सक्रिय रहँदै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीतहरु श्रेष्ठकै हस्तलिपीमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् । कात्तिक महिनाको ‘शारदा’ पत्रिकाको को वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपीमा प्रकाशित भएका छन् ।
‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपीमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताएका थिए ।

समारोहलाई सम्बोधन गर्दै गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरवको क्षण महसुस गरिरहेको धारणा व्यक्त गरिन् ।
समारोहमा ‘शारदा’ मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रहँदा सधैं देशलाई शिरमा राखेर हिँडिरहेको बताइन् । गीतकार श्रेष्ठले आफ्नो शरीरमात्र विदेशमा रहेको, तर मन र मुटुसधैं स्वदेशमै रहेको बताइन् ।
मासिक पत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचना गर्नु आफैंमा जटिल कार्य भएको बताउँदै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे । श्रेष्ठले गीत सार्वजनिक भएकोमा शुभकामना दिँदै आफू पनि लेखनमा रुचि राख्ने व्यक्ति भएको बताए ।

शारदा मासिक पत्रिकाका सम्पादक बिमल भौकाजीले श्रेष्ठका गीतहरुको समिक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए । नेपालमा महिला गीतकारहरुको संख्या कम भएको बताउँदै भौकाजीले विदेशमा बसेर नेपाली गीत–संगीतमा निरन्तरता दिन सक्नु गीतकार श्रेष्ठको ठूलो खुबी भएको स्पष्ट पारे ।
समारोहमा गीतकार संघका पूर्व अध्यक्ष चूडामणि देवकोटा, रोयल्टी संकलन समाजका महासचिव बि पाण्डे, म्युजिक भिडियो निर्देशक कृष्णदेव रुपाखेती, कवि विश्व वल्लभसहितका वक्ताले गीतकार श्रेष्ठका गीतहरुको प्रशंसा गर्दै सफलताको शुभकामना दिए । समारोहमा अतिथिहरुले उहाँको कृतिमाथि टिप्पणी गर्दै गीतकार श्रेष्ठको सिर्जना अब्बल रहेको बताएका थिए । घरबासदेखि प्रवाससम्मको आफ्ना अनुभूति, समाजको दर्शन, प्रकृतिको वर्णन, आफूले भोगेका र समाजमा घटेका घटनाहरुको यथार्थ चित्रण भएको बताएका थिए ।

गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापाले गीत–संगीतको क्षेत्रलाई लगानीको पनि सुनिश्चितता गर्ने गरी काम अगाडि बढाएको बताए । उनले भने– ‘लगानी पनि सुनिश्चित गर्नुपर्छ भनेर हामी उद्यमीहरु संस्थागत हिसाबले उद्योगको रुपमा स्थापित हुनुपर्छ भनेर गीत सङ्गीतको क्षेत्रलाई अगाडि बढाइरहेका छौं ।’ कार्यक्रमको सञ्चालन गीतकार तथा पत्रकार सुमन बैरागीले गरेका थिए ।
कार्यक्रममा गीतकार संघ नेपालको तर्फबाट गीतकार श्रेष्ठलाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै गीतकार श्रेष्ठले आफ्ना माता तुलसादेवी श्रेष्ठ र पिता सुवर्णजंग श्रेष्ठलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा उपस्थित अतिथि एवं सिर्जनासँग सम्बन्धित कलाकारहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।
समारोहमा गीतकार श्रेष्ठद्वारा लिखित गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो समेत प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको यूगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । यो गीतको म्युजिक भिडियोको निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रुपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेशनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।
यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । यो गीत ए वन म्यूजिसिएन स्टुडियोमा रेकर्ड गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु