निरन्तर साधनाले सफलता चुमेका सन्तोष

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७७, बिहीबार
santosh dawadi

काठमाडौं । सन्तोष दवाडी लोकदोहोरी गायनमा स्थापित नाम हो । सानै उमेरदेखि लोकदोहोरीका पारखी सन्तोषले सांगीतिक यात्राका क्रममा धेरै गीतहरु बजारमा ल्याइसके । धेरै गीतमा स्वर दिए । गायनको यात्रामा जिन्दगीका आरोह अवरोह पनि भोग्दै निरन्तर सांगीतिक दौरानमा हिंडिरहे । गीत चल्नु र नचल्नुमा उनलाई कुनै प्रवाह भएन गीतमा हुनुपर्ने गुणस्तरीयतालाई भने सधैं ख्याल राखे । अडियोलाई राम्रो बनाउन सके स्रोताहरुको माया पाइन्छ भन्नेमा ख्याल राखे । त्यसैले सुरुवाती दिनदेखि अहिलेसम्म एकदशकको सांगीतिक यात्रामा गायनलाई भन्दा अन्य सोच मनमा लिएनन् । एक दशकको यात्रा पार गरिसकेका उनले सफलताको स्वाद पनि चाख्दै अगाडि बढिरहेका छन् ।

पहिलो पटक २०६६ मा राजन मगरको शब्द, जुजु गुरुङको संगीतमा ‘दुख्यो दिलको घाउ’ मा स्वर दिए । त्यसपछि आफ्नै लय शब्दमा ‘मनमा पिरको खानी भैसक्यो’ मा २०६७ मा स्वर दिए । एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा उनले २०६८ सालमा ‘पानी पर्दा हो’ तेस्रो गीतमार्फत लोकदोहोरी दुनियाँको क्षेत्रमा छाईरहे । निरन्तर तीन वर्षसम्म गीत बजारमा आएपछि उनका गीतहरुले स्रोताको मन जित्न थाले ।

उनका गीतहरुले सफलता दिँदै गयो । सुरु सुरुमा दुःख मेहनतका साथ गरेको लगानीले बल्ल उनलाई केही सान्त्वना दिँदै थियो । सफलताको स्वाद चाख्दै गर्दा उनले ‘हातमा म्यारिज भूईमा टनेला’ लिएर आए । २०७० सालमा बजारमा आएको यो गीतमा आफ्नै लय शब्द रहेको थियो । यो गीतबाट उनी धेरै आशावादी पनि थिए । समाजका यथार्थ घटनाक्रम उनको आँखामा झल्किएको थियो । त्यसलाई गीतमार्फत् उनले उजागर गरे । जुवातासको खेलमा रमाउनेहरुका लागि राम्रो व्यंग्य थियो यो गीत । गीत बजारमा आएपछि राम्रो प्रतिक्रिया पनि पाए ।


उनको सांगीतिक यात्राले उचाइ लिँदै थियो । मुलुकभित्र हुने सांगीतिक मेला महोत्सवमा पनि उनी व्यस्त हुन थाले । लोकदोहोरी गाउने कलाकारको जमातमा उनी परिचित बन्दै गए । राम्रो गायकको परिचय स्थापित गर्दै गर्दा उनले २०७२ मा ‘अब त भेट्दै भेट्दिन’ बोलको गीत लिएर आए । निरन्तर सांगीतिक यात्राका क्रममा २०७३ सालमा ‘सम्झेर म रुनी’ र ‘लाउनै छाड्यो फूली’ गीत बजारमा सार्वजनिक गरे । यसमा भने शब्द हरी दुलाल, लय सन्तोष दवाडी, स्वर सन्तोष दवाडी र पम्फा फूयाँलको रहेको छ । यसै गीत मार्फत वास्तविक सन्तोष दवाडी भनेर चिन्ने अवसर पाएको र ‘लाउनै छाड्यौ फुलि’ले नै सन्तोष दवाडीले चर्चाको शिखर चुम्नुका साथै देश विदेशका यात्रा गर्ने मौका मिल्नुको साथै स्टेजहरु तताउँन सफल भए ।

प्राकृतिक, मनमोहक र यथार्थ वस्तुस्थितिलाई टपक्कै टिपी लय शब्द भर्दै सुमधुर स्वरले मन्त्रमुक्त बनाउने क्षमता भएका दवाडीले निरन्तर लागिरहे । लगानीका हिसाबले उनी पछि हटेनन् । जस्तो लगानी ग¥यो त्यस्तै फल मिल्छ भन्नेमा विश्वस्त थिए । संघर्षका दिनमा पनि हरेश नखाई गीतमा लगानी गरे । संगीतमा साधानारत रहे । गोरखा जिल्लाको अजिरकोट गाउँपालिका–४, सिम्जुङमा जन्मिएका उनी गाउँको रोधीदेखि नै गायक बन्ने सपना बोकेर हिंडेका थिए । उनी जन्मिएको भूगोल नै लोकसंगीतको उर्वरभूमि थियो । त्यही जन्मभूमिको कारण पनि उनलाई गायनप्रतिको झुकाव बढेको थियो ।
Santosh Dawadi

संगीत क्षेत्रको उचाइ चुम्दै गर्दा उनले आफ्नै लय शब्दमा ‘कसम सानु’ २०७४ मा बजारमा सार्वजनिक गरे । त्यसपछि रुपक राजको शब्दमा ‘पन्ध्र दिनको फेरो’ गीत बजारमा ल्याए । त्यसको लगतै २०७५ मा लोकप्रिय गायिका मुना थापाको साथमा ‘मनका कुरा भन्न मन लाग्छ’ भन्ने गीत रेकर्ड गराए । त्यसपछि अर्को गीत भिम कुसारीको लय, शब्दमा मुनु पुनको साथ ‘जवानीले मन पागल भाको छ’ गीत सार्वजनिक गरे । उनको बाबुराम दवाडीको लय शब्दमा २०७६ मा ‘औषधिको ट्याब्लेट’ बोलको गीत सार्वजनिक भयो । हरेक वर्ष उनले २–३ वटा गीत बजारमा ल्याए । उनको गीतले एकपछि अर्को बजार लिँदै गयो । स्रोताको मन जित्दै गए ।

हरेक दिन विहानीपख झिसमिसेमा निस्केसँगै भविष्यको कर्मरेखा कोरिरहेका हुन्थे । समय परिस्थिति अनुसारका गीतहरु सार्वजनिक गरिरहन्थे । शब्द सिर्जना होस् या लय सिर्जना आफ्नो क्षमताले भ्याएसम्मको आँट गरिरहन्थे । संगीत भनेको संगत हो, साधना हो भन्नेमा उनी हरेक क्षणमा भन्ने गर्थे । त्यही साधना र संगतबाट आजको यो यात्रासम्म निरन्तर दौडिरहेका छन् ।

त्यसपछि गायक दवाडीले भिम कुसारीको शब्द र दिप सागरको लयमा ‘तिम्लाई भेटियो’ बजारमा ल्याए । लगत्तै भिम बहादुर कुसारीको लय, आफ्नै शब्दमा कमला पोखरेलसँग २०७६ मै ‘मनको नाता’ लगाउन सफल भए सन्तोष दवाडी । जीवनमा नाता लगाईन्छ, लगाएको नाताले कहिले हाँसो ल्याउँछ त कहिले आँसु त्यसैले हरिराम परियारको लयमा गणेश बाबु अधिकारीको शब्दमा निसा सापकोटासँग २०७६ मै ‘आँशु पुछि हाँसे’ सन्तोष दवाडी । यस्तै–यस्तै सुख दुःखका लोक गीतहरुमा आफ्नो सुमधुर स्वर दिदँै उकाली–ओराली गर्ने क्रममा नौलो देश, नयाँ परिवेश चाहनु सबैको इच्छा हुन्छ नै त्यही इच्छाले फरक ठाउँ र परिवेश बुझ्न भिम बहादुर कुसारीको शब्दमा शिव केसीको लयमा ललिता घिमिरेसँगै ‘झिसमिसे मै जाम’ गीत सार्वजनिक भयो ।

मनभरि गायक बन्ने सपना थिए तर काठमाडौंसम्मको यात्रा गरेर कसरी गायक बन्ने भन्ने मनमा चिन्ता थियो । उनलाई गायक बन्नका लागि सधैं प्रेरित गरिरहन्थे स्वः अर्जुन दवाडी । दाजु दिदीहरुले दिएका प्रेरणासँगै कर्मथलोमा भेटिएका सर्जक भिम कुसारीको हौसलाले गायक बनेको हुँ, दवाडीले भने । गोरखाको प्रतिनिधित्व गरेर सांगीतिक क्षेत्रमा आफ्नो नामलाई स्थापित गर्नु पनि सहज थिएन । संघर्षका दिनहरु सम्झिँदै भने – ‘त्यो क्षण सम्झिएर मनमा बिचलन आएको भए म न गायक हुन्थें न यो देशमा रहन्थें होला । अन्य ग्रामिण परिवेशका युवाजस्तै खाडीको यात्रामा कर्म गरिरहेको हुनसक्थे । तर मनमा गायक बन्ने अठोट बोकेर हिंडेको थिएँ आज लक्ष्यमा पुगेको छु ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु