• ‘चौथो एसईई डान्स च्याम्पियनसिप’ घोषणा, २८ प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रवृत्ति

    म्यूजिक खबर
    प्रकाशित: १९ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । एसईई दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर विगत चार वर्षदेखि देशव्यापीरुपमा आयोजना हुँदै आएको ‘एसईई डान्स च्याम्पियनसिप’को चौथो संस्करण घोषणा गरिएको छ ।
    यो प्रतियोगिताको फाइनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण स्कलरसिप पाउने भएका छन् । यो प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै हुने भएको छ ।

    यो प्रतियोगिताको लागि आगामी चैतमा एसईई दिएर बसेका विधार्थीहरुले भाग लिने पाउने आयोजक संस्थाका अध्यक्ष एवम् वरिष्ठ कोरियोग्राफर महेश गोदारले बताएका छन्, ‘हामीले सबै प्रदेशमा बैशाखको पहिलो साताबाट अडिसन शुरु गर्ने छौं ।
    उनीहरुको नृत्यको आधारमा अडिसन लिएर प्रत्यक प्रदेशबाट फाइनलका लागि ३ जना चयन गरिने छ ।’

    माविहरुको संस्था ‘हिसान’को सहकार्यमा काठमाडौंको कपनमा रहेको बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगितामा नेशनल प्याब्सन र प्याब्सनको समेत सहकार्य रहेको पनि गोदारले जानकारी गराएका छन् ।

    यीसहित काठमाडौंबाट १० जना चयन गरेर कुल २८ जना प्रतियोगीबीच आगामी २३ असारमा काठमाडौंको नाचघरमा अन्तिम प्रतिस्पर्धा हुने छ ।

    यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन भएका २८ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्रावृत्ति दिइने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताएका छन् ।

    यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्वितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराएका छन् । यो प्रतियोगिताको लागि मुलुकका विभिन्न कलेजमा आयोजक पक्षले सूचना पुर्‍याउने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु