समाजको यथार्थ चित्रण गर्दै सार्वजनिक भयो जितेन्द्र बानियाँको सेतो साडी

म्यूजिक खबर
प्रकाशित: १ पुष २०७५, आईतवार

काठमाडौं । गीतकार जितेन्द्र बानियाँको सेतो साडी सार्वजनिक भएको छ । राष्ट्रगानका रचयिता ब्याकुल माइलाको प्रमुख आतिथ्यतामा सेतो साडीको सार्वजनिक गरिएको हो ।

संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा कालिकास्थानको फलैंचामा सम्पन्न भएको उक्त कार्यक्रममा विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली रहेका थिए । गायक सुमित खड्का, गायक बलबहादुर परियार, प्रेस काउन्सिलका सदस्य चेतनाथ धमला, ललितकला पत्रकार संघका अध्यक्ष केशव खनाल लगायतको उपस्थितिमा सेतो साडीलाई सार्वजनिक गरिएको हो ।

गीतकार जितेन्द्र बानियाँले कोरियामा बस्दाको दश वर्षभित्र भोगेका घटनाक्रमलाई गीतमार्फत् उतारेका छन् । घरको नाजुक अवस्थालाई लिएर विदेश पलायन हुनेहरुको बीचबाट रातो बाकसमा फर्किनेहरुको ताँती र घरमा उसको आशामा भर परिरहेका परिवारका सदस्यहरुको सपनासँगै सेतो साडीमा परिणत भएकी प्रियसीको कथालाई जितेन्द्रले गीतमा उतारेका छन् । कार्यक्रमलाई स्वागत गर्दै उनले भने–‘आफूले भोगेको घटनाक्रमले मेरो साहित्यिक मनलाई आकर्षित गरेको हो ।’

कार्यक्रममा गायक सुमित खड्काले समाजको प्रतिनिधित्व गरेको गीत भए पनि आगमी दिनमा यस्ता गीत र संगीत रचना गर्नुनपर्ने दिन मुलुकमा आओस् भन्दै वैदेशिक रोजगारीमा जाने होइन मुलुकमै रोजगारी सिर्जना गर्नुपर्ने बताए ।

त्यस्तै गायक बलबहादुर परियारले गीतले यथार्थ घटना बोकेको कारण सबल हुने बताउँदै वैदेशिक रोजगारीमा जानेको पीडा बन्द हुनुपर्ने बताए ।

त्यसैगरी अनेसासका अध्यक्ष राधेश्याम लेकालीले साहित्य र संगीतमा लाग्नेहरु विदेशमा धेरै छरिएर रहेको बताउँदै ओखलढुंगाका जितेन्द्र बानियाँ साहित्यका प्रतिनिधि हुन् जसले विदेशमा बसेर नेपाली माटो सुहाउँदा सिर्जना गरेका छन् । समाजको यथार्थ चित्रण गर्ने एउटा गीत जसले वैदेशिक रोजगारीमा जानेहरुको कथा बोलेको बताए ।

त्यसैगरी वरिष्ठ संगीतकार राजु सिंहले संगीतकार विनोद बस्नेत र गायक सागर संसार राईको स्वरमा रहेको सेतो साडीले वियोगान्त शैलीमा समाजको मन जित्न सफल हुने दाबी गरे । संगीतकार सिंहले भोलिका दिनमा यो गीतले सबै श्रोताको मन जितेर गीतकार बानियाँलाई स्थापित गराउनेमा आफू विश्वस्त रहेको बताए ।

त्यस्तै प्रमुख अतिथि राष्ट्रगानका रचयिता ब्याकुल माइलाले मुलुकमा लाहुर जानेहरुदेखि अहिलेको वैदेशिक रोजगारसम्मको पीडाले युवापुस्तामा जरो गाडेको छ ।

अहिले विदेश जाने लर्कोले समाजलाई विचलित बनाएको बताउँदै आफू मातृभूमि छाडेर विदेश नजाने अठोट लिएको बताए । दूधकोशीको किनारको माटो समाउँदै आफूले रोजगारीका लागि विदेश नजाने कसम खाएको बताउँदै उनले सम्मान लिनका लागि मात्र पासपोर्ट बनाएर हङकङ गएको अनुभव सुनाए ।

कार्यक्रममा गीतकारहरुले संगीत क्षेत्र धानेको बताउँदै पछिल्लो समय रेमिट्यान्सले संगीत उद्योग चलेको सभापति सुमन बैरागीले बताए । कार्यक्रम संगीत कला पत्रकार संघका सदस्य रामनाथ घिमिरेले संचालन गरेका थिए ।

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा सुरवीर पण्डित, सुनिशा बजगाईं र प्रविन केसीको अभिनय रहेको छ ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु