स्याङ्जादेखि साङ्गीतिक शिखरसम्म : लोक गायिका शर्मिला गुरुङको लोभलाग्दो यात्रा

म्यूजिक खबर
प्रकाशित: २६ श्रावण २०८३, मंगलवार १८:३२

काठमाण्डौं । नेपाली लोक संगीतको आकाशमा विगत साढे दुई दशकदेखि निरन्तर चम्किरहेको एउटा प्रख्यात नाम हो– शर्मिला गुरुङ। लोक, दोहोरी, कौडा, सालैजोदेखि मौलिक तीज गीतसम्म २,१०० भन्दा बढी गीतमा आफ्नो सुमधुर स्वर दिइसक्नु भएको उहाँलाई नेपाली लोक संगीत क्षेत्रकी ‘सदाबहार गायिका’ का रूपमा चिनिन्छ। स्याङ्जाको मौलिक माटोबाट सुरु भएको उनको यो साङ्गीतिक यात्रा, सङ्घर्ष, सफलता र सबैका लागि प्रेरणादायी बनेको छ ।

प्रारम्भिक जीवन र सङ्घर्षको जग
नेपाली लोक संस्कृतिको उर्वर भूमि मानिने स्याङ्जा जिल्लाको इलादी (खल्टा) मा २०३५ साल भाद्र ४ गते (सन् १९७८ अगस्ट २०) मा शर्मिला गुरुङको जन्म भएको हो। बाल्यकालमा उहाँलाई गीत–संगीतमा त्यति ठूलो रुचि थिएन। तर, रेडियो नेपालमा बज्ने पुराना लोकगीतहरू सुन्दा–सुन्दै उहाँभित्र संगीतप्रतिको मोह बिस्तारै जाग्न थाल्यो।
त्यो समयमा छोरी मान्छे गीत–संगीत क्षेत्र वा दोहोरी साँझमा लाग्नुहुँदैन भन्ने तत्कालीन पारिवारिक र सामाजिक सोच थियो। त्यस्ता कडा सामाजिक अवरोध र चुनौतीहरूलाई चिर्दै उहाँ पोखरा आउनुभयो र दोहोरी साँझहरूमा व्यावसायिक रूपमा गाउन थाल्नुभयो। उहाँको यही दृढता र सङ्घर्षले नै उहाँलाई आज यो सम्मानित स्थानमा पुर्‍याएको हो।

रेडियो नेपालदेखि ‘निलो पछ्यौरी’ सम्मको यात्रा
शर्मिला गुरुङले विक्रम संवत २०५६÷२०५७ तिर रेडियो नेपालबाट स्वर परीक्षा (भ्वाइस टेस्ट) उत्तीर्ण गर्नुभयो। त्यसपछि उहाँले पुरुषोत्तम न्यौपाने र राजेन्द्र लम्साल क्षेत्रीसँग मिलेर आफ्नो पहिलो आधिकारिक लोकदोहोरी गीत ‘निलो पछ्यौरी’ रेकर्ड गर्नुभयो। यो गीत स्रोतामाझ निकै हिट भयो र यहीँबाट उहाँको व्यावसायिक साङ्गीतिक यात्राले ठूलो उचाइ लियो। त्यसपछि उहाँले नेपाली संगीत बजारलाई एउटा ऐतिहासिक एकल गीति एल्बम दिनुभयो, जसको नाम थियो– ‘गहना’।

कालजयी र सदाबहार गीतहरूको सिर्जना
शर्मिला गुरुङका स्वरमा सजिएका कैयौँ गीतहरू नेपाली जनजिब्रोमा झुण्डिएका छन्। गाउँघरका मेलापात, रोधीघरदेखि विदेशमा रहेका नेपालीहरूका ओठमा उहाँका गीतहरू गुन्जिरहन्छन्। उहाँका केही प्रख्यात सदाबहार गीतहरू यस प्रकार छन्ः
मिर्मीमुनि काली थुनेको
बल्लै भो भेट
कालीगङ्गा तरेँ
फर्क मुग्लानी
राम्दी पुल तर्नेबित्तिकै
रानी घाटैमा
शिरमा लाउने शिरफूल छैन मेरो राजै (मौलिक तीज गीत)
‘मिर्मिमुनी काली थुनेको’, ‘बल्लै भो भेट’, ‘चौतारीको बर’, ‘रानी घाटैमा’, ‘काली गंगा तरे’, ‘राम्दी पुल’, ‘जाने बेला भैन र रु’, ‘फाटी सक्यो होला, मैले बोक्ने डोको’, ‘राधा’, ‘सुनचाँदी’ उनका चर्चित गीतहरु हुन् ।

-लोकगीत, लोकदोहारी गीत र सालैजो बराबर तीज गीत पनि गायिका गुरुङले गाउनु भएको छ ।
‘हाम फालेर मरुँ कि त्रिशुलीको पानीमा’ पहिलो तीजगीत हो । ‘सिन्दुर छैन संगिनी हो’, ‘सुनिदिनु दिदीबहिनी’,‘ आज मेरो माइत जाने पालो’, ‘मादलुको तालैले’, ‘स्वर्ग झै प्यारो माइती देश’, ’मनमा छ पीरालो’ ‘फूल जस्तो मुहार’, ‘बिरानो माइती’, ‘तामैको अचार’, ‘आमा’ लगायत दर्जनौं तीजगीत गाइसक्नु भएको छ ।
गायिका शर्मिला गुरुङलाई ‘सालैजो गीतकी रानी’ भनेर पनि चिनिन्छ । धेरै सालैजो गीत गाउने गायिका पनि शर्मिला नै हुनुहुन्छ ।
‘जता हेरे पनि गाँउ र घर’, ‘तानसेनै बजार’, ‘हितैको माया, मिनी बसमा जाँउ है पोखरा’, ‘कति दिन बस्छ्यौं’, ‘दशैंको बेला, मनकामनाको मेला’, ‘फूलको थुङ्गा’, ‘हितैको माया’, लगायत करिब तीन दर्जन सालैजो गीतहरु पनि चर्चित छन् । सालैजो विशेषगरी गुरुङ र मगर समुदायमा प्रचलित छ । नेपालका कुना–काप्चा, शहर–बजार देखि विदेश सम्म उहाँको सालैजो घन्किन्छन्, घन्काउछन् । मेलापात, चाडपर्व, मेला–महोत्सव, रोधीँ घरमा उहाँले गाएका सालैजो घन्किन्छन् ।
उहाँ केवल स्टुडियो रेकर्डिङमा मात्र सीमित रहनुभएन। इन्द्रेणी र सारङ्गी संसार जस्ता चर्चित मञ्चहरूमा उहाँले प्रस्तुत गर्ने ‘लाइभ दोहोरी’ (प्रत्यक्ष दोहोरी) लाई दर्शकहरूले निकै रुचाउने गरेका छन्। उहाँकै आफ्नै ‘शर्मिला गुरुङ एकल साँझ’ मार्फत पनि उहाँले नेपाली मौलिक कलालाई जीवन्त राख्ने प्रयास गर्नुभएको छ।

पुरस्कार, सम्मान र उपाधिहरूको लामो सूची लामो साङ्गीतिक यात्रामा उहाँले प्राप्त गर्नुभएका प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू

म्युजिक खबर म्युजिक अवार्ड (२०१९) – ‘माथि है लेकमा’ बोलको सांस्कृतिक गीतका लागि प्रतिष्ठित जुरी अवार्ड ।
म्युजिक खबर म्युजिक अवार्ड (२०१८) – ‘मेरो माया छ भने राधा’ गीतका लागि उत्कृष्ट लोक गायिकाको अवार्ड।
म्युजिक खबर म्युजिक अवार्ड (२०१६) – कुमार पुनसँगको सहकार्यमा गाइएको ‘हैन अरुको’ गीतका लागि उत्कृष्ट लोक तथा दोहोरी गायिकाको उपाधि।
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता (२०६९) – नेपाल लोक सांस्कृतिक केन्द्रु द्वारा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा प्रथम स्थान (स्वर्ण पदक) हासिल।
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता (२०५९) – नेपाल टेलिभिजन र नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान।
कालिका म्युजिक अवार्ड (२०६१) – कालिका एफएम (९५.३ मे.) को दोस्रो वार्षिकोत्सवमा ‘उत्कृष्ट वर्ष गायिका’ को अवार्ड।
शिवशक्ति तीज म्युजिक अवार्ड – त्रिरत्न नारी सम्मान (२०७९) शुभकमना मिडिया सोलुसनद्वारा समाज र संगीतमा पुर्‍याएको योगदानको कदर गर्दै प्रदान गरिएको विशेष सम्मान।
लुम्बिनी टेलिभिजन गायक सम्मान – लोक संगीतको प्रवर्द्धनमा उत्कृष्ट भूमिका खेलेबापत लुम्बिनी टेलिभिजनद्वारा सम्मानित।
हङकङ सरकारद्वारा पदक सम्मान (मेडल अफ अनर) अन्तर्राष्ट्रिय स्तरमा नेपाली लोक संस्कृतिको प्रचार-प्रसार र विकासमा योगदान पुर्‍याएबापत हङकङ सरकारबाट विशेष सम्मान प्राप्त।

साङ्गठनिक नेतृत्वमा अब्बल
कला क्षेत्रमा मात्र नभई उहाँ सामाजिक नेतृत्व र कलाकारहरूको हकहितमा पनि सधैँ अगाडि रहनुभएको छ। उहाँ नेपाली कलाकारहरूको प्रतिष्ठित र छाता संस्था ‘तमु (गुरुङ) कलाकार संघ नेपाल’ (तमु आर्टिस्ट एसोसियसन अफ नेपाल) को केन्द्रीय अध्यक्ष पदमा समेत निर्वाचित भई अत्यन्तै सफल कार्यकाल पूरा गरिसक्नुभएको छ।

निरन्तरता नयाँ पुस्तासँगको सहकार्य
समय बदलिए पनि शर्मिला गुरुङको स्वरको जादु र व्यस्तता घटेको छैन। उहाँ अहिलेको डिजिटल युगमा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। आफ्नै आधिकारिक शर्मिला गुरुङ युट्युब च्यानल मार्फत उहाँले हालसालै ‘पापीको सिन्दुर’, ‘सुन्त ओइ माइली’ (तीज गीत), ‘मैना बरीलै’, र ‘आँधीखोले सालैजो’ जस्ता उत्कृष्ट नयाँ सिर्जनाहरू बजारमा ल्याएर संगीतप्रेमीहरूलाई उपहार दिइरहनुभएको छ।

देश-विदेशको साङ्गीतिक यात्राः नेपाली कलाको विश्वव्यापी प्रवर्द्धन
नेपाली लोक संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि उहाँले देश तथा विदेशका सयौँ मञ्चहरूमा आफ्नो सशक्त प्रस्तुति दिइसक्नुभएको छ। नेपालका ७७ वटै जिल्लाहरूमा आयोजना हुने विभिन्न औद्योगिक व्यापार मेला, सांस्कृतिक महोत्सव, र माघी तथा ल्होसार जस्ता जातीय चाडपर्वहरूमा उहाँको उपस्थिति अनिवार्य जस्तै बन्ने गरेको छ। उहाँले हङकङ, संयुक्त अधिराज्य युके जापान, दक्षिण कोरिया, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स युएई, बहराइन लगायतका दर्जनौँ मुलुकहरूको साङ्गीतिक यात्रा गरिसक्नुभएको छ। उहाँ स्टेजमा उभिँदा दर्शकहरूको उत्साह र भीड ओइरिने गर्दछ।

नयाँ पुस्ताका लागि प्रेरणाको दियो
संघर्षका अनेकन घुम्तीहरू पार गर्दै स्याङ्जाकी एउटी साधारण चेलीबाट नेपाली लोक संगीतको धरोहर बन्न सफल शर्मिला गुरुङको जीवनी नयाँ पुस्ताका कलाकारहरूका लागि प्रेरणाको एउटा बलियो स्रोत हो। मौलिकता मर्न नदिई साढे दुई दशकभन्दा बढी समयसम्म संगीतको धरातलमा टिकिरहनु र सबैको आदरणीय पात्र बन्नु उहाँको सबैभन्दा ठूलो विशेषता हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु