• पूर्वमन्त्री गिरीले गरे डा.शिव सुवेदीको ‘म त तिम्रो हैन’ सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २९ असार २०८१, शुक्रबार

    काठमाडौं । गीतकार डा. शिव सुवेदीको नयाँ गीत ‘म त तिम्रो हैन’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि पूर्व कानुन, न्याय तथा संघीय मामिला मन्त्री पदमकुमार गिरी, विशिष्ट अतिथि लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर र कार्यक्रमका सभापति गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वमन्त्री पदमकुमार गिरीले डा.सुवेदीको गीत ‘घाम जस्तो चम्किलो हुँदैन’ समेत १७ वर्षअघि विमोचन गरेको स्मरण गराए । पोखराको पृथ्वीनारायण क्याम्पसमा स्ववियु सभापति हुँदा उक्त गीत सार्वजनिक गरेको स्मरण गर्दै उनले डा.सुवेदीको सक्रियता र निरन्तरतालाई मैले नजिकबाट नियालेको बताए । डा.सुवेदीको घर आफ्नो बास बस्ने घरसमेत भएकोले पारिवारिक रुपमा पनि नजिक रहेको बताउँदै गीतसंगीत क्षेत्रमा अनुकुल नीति निर्माणका पक्षमा आफू सधैं उभिएको बताए ।

    प्रतिष्ठानकी अध्यक्ष थापामगरले डा.सुवेदीका गीतले लोक तथा दोहोरी क्षेत्रको गरिमा कायम राखेको बताउँदै युट्युबमा भ्युज बढाउन मौलिकता, कला र संस्कृतिमाथि नै धावा बोल्न क्रम चलिरहेको बताइन् । भूकम्प विद्यामा विद्यावारिधी गर्न विदेशिएका डा.सुवेदी नेपाल फर्केर लोकसंगीतलाई निरन्तरता नदिने हो कि भन्ने चिन्ता रहेकोमा स्वदेश फर्केर नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेको देख्दा खुशी व्यक्त गरिन् ।
    उक्त गीतमाथि गीतकार आनन्द अधिकारी, राजकुमार बगर र बैकुण्ठ महतले समिक्षा गरेका थिए । गीतकार अधिकारीले लोक संगीत मुटुको गीत रहेको बताए । उनले भने, ‘शास्त्रीय गीत दिमागबाट बन्छ, लोकगीत मुटुबाट आउँछ । यो गीतमा गहिरो साहित्य, विम्ब र स्पष्ट दर्शन भेटेको गीतकार अधिकारीले बताए ।

    त्यसैगरी अर्का समिक्षक बगरले डा.सुवेदीका गीतमा सधैं फरकपन भेटिने उल्लेख गरे । ’लोकसंगीतमा उहाँको छुट्टै पहिचान छ । यो त्यसैको निरन्तरता हो तर यसपल्ट संगीतमा केही फरक आभाष गरेको छु,’ उनले भने।
    त्यस्तै समिक्षक महतले गीतकार डा.सुवेदी गण्डक क्षेत्रको मौलिक भाषा र शैलीलाई गीतसंगीतमा कायम राख्न सफल भएको बताए । जसले गीतलाई मौलिक र श्रवणीय बनाएको उनको भनाइ थियो । पहिलो गीत सार्वजनिक हुँदा आफू रेडियोकर्मी भएको स्मरण गर्दै महतले भने– ‘म उहाँको पहिलो गीतबाट नै प्रभावित भएको थिएँ । त्यसपछि निरन्तर उहाँको मन छुने सिर्जना आइरहेको छ ।’

    कार्यक्रमलाई गीतकार संघ नेपालका उपाध्यक्ष रमेश कोइरालाले स्वागत मन्तव्य दिँदै स्रष्टा र सिर्जनाको बौद्धिक अधिकार, लोकसंगीत र आधुनिक संगीतभित्रका फरकपनलाई संघले जोड्नसमेत सफल भएको बताएका थिए । कार्यक्रममा अभिनेता कठायतले डा सुवेदीसँग पढाइ र संगीत दुवैमा आफूले सहकार्य गरेको स्मरण गर्दै सफलताको शुभकामना दिएका थिए ।

    त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले डा.शिव सुवेदीका गीतहरु हिजो जस्तै लोकप्रिय बन्न सफल हुने बताए । अध्यक्ष थापाले गीतकार संघ नेपाल लोक, आधुनिक, पप जुन विधाका भए पनि गीतकारहरुको साझा संस्था भएकोले आफ्ना स्रष्टाहरुको हक, अधिकार र बौद्धिक सम्पत्तिको लँडाइमा सदैव साथ दिने बताए ।

    डा.शिव सुवेदीको शब्द तथा संगीत रहेको ‘म त तिम्रो हैन’ गीतमा कुलेन्द्र बिक र शान्तिश्री परियारको स्वर रहेको छ । मौसम हिमालीले निर्देशन गरेको म्युजिक भिडियोमा सनम कठायत, लोमस शर्मा र लालना चिमोरियाले अभिनय गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु