काठमाडौं । गीतसंगीतको क्षेत्रमा बौद्धिक सम्पत्ति र आर्थिक सम्पत्तिको विषयमा बहस हुन थालेको लामो समय भयो । पहिला पहिला पाइरेसी भयो भनेर प्रहरीको ढोकादेखि प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको ढोकासम्म हार गुहार हुने गरेको थियो । त्यो क्रम अहिले पनि जारी नै छ । गीतसंगीतमा सार्वजनिक प्रयोग गरिएवापत रोयल्टी व्यवस्थापन र स्रष्टाको आर्थिक, बौद्धिक र नैतिक अधिकारको कुरा पनि बहस हुन थालेको धेरै भयो । यही अधिकारको लागि रोयल्टी संकलन समाज, प्रस्तोता समाज र उत्पादक समाजले अभियान थालेको पनि एक दशक पार गरिसकेको छ ।
यही विषयलाई लिएर प्रस्तोता समाज नेपालका अध्यक्ष शिव हमालले पहिला पाइरेसी भयो तर अहिले गीतसंगीतमा बलात्कार नै भयो भनेका छन् । उनले इनेपाल रोधीघरको सहयोग हस्तान्तरण कार्यक्रममा यस्तो कुरा उल्लेख गरेका हुन् । अनर्थ नलगाइयोस् भन्दै उनले पछिल्लो समय दोहोरीका नाममा यूट्यूब च्यानलहरु खोलेर स्रष्टाको सम्पत्तिमाथि अनाधिकृत रुपमा व्यवसाय भएको बताए । स्रष्टा भोकै मर्नुपर्ने तर तिनै स्रष्टाको सिर्जनामाथि अर्काले मोज गर्ने गरेको दुखेसो पोख्दै उनले यसको विरुद्धमा एकजुट हुनुपर्ने बताएका छन् ।
सोही कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजी, निवर्तमान अध्यक्ष बद्री पंगेनी, वरिष्ठ उपाध्यक्ष रिता थापा मगर लगायतको कार्यसमिति, म्यूजिक भिडियो कलाकार संघ नेपालका अध्यक्ष शंकर बिसी, उपाध्यक्ष महेन्द्र गौतम, महासचिव सुनिल लामिछाने, कोषाध्यक्ष देवेन्द्र क्षेत्री लगायतको कार्यसमिति र तमु कलाकार संघका अध्यक्ष शर्मिला गुरुङ लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
सम्बन्धित विषयको भिडियो हेर्न तलको लिंकलाई क्लिक गर्नुहोस्
कार्यक्रममा इनेपाल रोधीघरले कोरोना महामारीबाट पीडित कलाकारलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले अघि बढाएको अभियानलाई एक लाख २५ हजार रकम हस्तान्तरण गरेको थियो । प्रतिष्ठानका अध्यक्ष रमेश बिजी एवं वरिष्ठ उपाध्यक्ष रिता थापामगरको हातमा प्रदान गरिएको थियो । त्यस्तै म्यूजिक भिडियो कलाकार संघलाई २० हजार रुपैयाँ अध्यक्ष शंकर बिसीलाई हस्तान्तरण गरिएको थियो । इ नेपाल रोधीघरका तर्फबाट विष्णु शर्मा र बालकुमार श्रेष्ठले हस्तान्तरण गरेका थिए ।