• रङ्गमञ्च हुँदै सवओभरसियरबाट गायनतर्फ

    म्यूजिक खबर
    प्रकाशित: २० असार २०७१, शुक्रबार

    काठमाडौं, २० असार । सुर्खेतका गायक शिव संगीत पेशाले सबओभरसियर हुन् । विगत लामो समयदेखि सबओभरसियरका रुपमा उनले सुर्खेतमा नै अध्यापन गराउँदै आएका छन् तर उनको सानैदेखिको रुचि भने संगीततर्फ नै थियो । २०५५ सालमा भएको राष्ट्रव्यापी बालगीत प्रतियोगितामा तृतीय स्थान हासिल गरेपछि उनको सांगीतिक यात्रा पनि राष्ट्रियस्तरमा नै शुरु भएको हो । शिव संगीतले थुप्रै रङ्गमञ्चमा आफ्नो अभिनयलाई प्रस्तुत गरेका छन् भने राष्ट्रव्यापी रुपमा रङ्गमञ्चबाटै दुई पटक स्वर्णपदक प्राप्त गरिसकेका छन् । त्यस्तै जिल्ला र क्षेत्रीयस्तरमा हुने गायन प्रतियोगिताहरुमा पनि धेरैजसो प्रथम स्थान हासिल गर्दै आएका शिव संगीतले पहिलो गीतका रुपमा गीतकार हरि विष्टको चलचित्र गुड थिंकिङ ब्याड रिजल्टमा स्वर दिएका थिए । चलचित्र निर्माणको क्रममा जान बाँकी नै रहेकोले उनको त्यो गीत बजारमा नआएको हुँदा पहिलो एल्बमका रुपमा आरम्भ बजारमा आएपछि उनको स्वरको माधुर्यता पनि बजारमा छाउन सफल भएको हो ।
    सुर्खेतका चार जना शिक्षक घनश्याम खड्का, सन्तोष शर्मा र गायक शिव संगीतको संयुक्त प्रयास भन्दा हुन्छ एल्बम ‘आरम्भ’ । केही समयपहिला मात्र राजधानीमा विमोचन गरिएपछि गायक शिव संगीतलाई पनि केन्द्रीय रुपमा गायक भनेर चिन्ने मौका मिलेको छ । यसको श्रेय भने आरम्भ एल्बमका गीतकार घनश्याम खड्का, निर्माता एवं मोडल सन्तोष शर्मा र निर्माता छत्र बडुवाललाई जाने बताउँछन् शिव संगीत । आरम्भ एल्बममा उनले गाएको गीतले सबैको मन छुन सफल भएको छ ।

    shiva_arjun_tika
    हुन त शिव संगीतको पारिवारिक माहौल नै संगीतमय छ । बुबा कुलमान नेपाली नेपाली संगीत क्षेत्रमा नाम चलेका संगीतकार एवं गीतकार हुन् । सानैदेखि गायक बन्ने सपना बोकेका शिव संगीतलाई बुबाको संगीत साधनाले पनि उत्तिकै प्रभाव पारेको हो । संगीतलाई बुझेको परिवार भएकै कारण गायक शिव संगीतलाई पनि यो क्षेत्रमा सजिलो भएको छ । राम्रो एजुकेशन भयो भने र परिवारले पनि साथ दिए भने संगीतको क्षेत्रमा लागेर सफल भइन्छ भन्ने विश्वास उनले लिएका छन् । मोफसलबाट राजधानी आएर बजारमा स्थापित हुनु भनेको एउटा युद्ध लड्नु जत्तिकै भएको शिव बताउँछन् । अब राजधानीमै बसेर आफ्नो गायनलाई अगाडि बढाउने उनको सोच रहेको छ । त्यसो त शिव संगीत रेडियो जागरण सुर्खेतका कार्यक्रम संचालक पनि हुन् । उनले आफ्नो सांगीतिक कार्यक्रम संचालन गर्दै शिक्षण पेशालाई पनि सँगै नियमितता दिइरहेका छन् ।
    शिव संगीत सुर्खेतमा रहेको बागिना म्यूजिकको कोषाध्यक्ष समेत हुन् । २०५० सालमा आफ्ना बुबा कुलमान नेपाली, संगीतकर्मीद्वय प्रेमदेव गिरी र टेकराज भारतीको पहलमा स्थापना भएको बागिना समूहमा सुर्खेती कलाकारहरुको मात्र सहभागिता हुने गर्दछ । बागिना समूहको भोकल शिक्षकका रुपमा काम गरिरहेका शिव संगीत मोफसलदेखि राजधानीसम्मको सांगीतिक यात्राले देश विदेशमा समेत नेपाली कलासंस्कृतिको पहिचान गराउने अभियानमा लाग्ने भएका छन् । आफूलाई गीतसंगीतको सागरमा भित्र्याउने घनश्याम खड्का, छत्र बडुवाल र सन्तोष शर्मालाई कहिल्यै भुल्न सक्दैनन् । उनीहरुप्रति सधैं आभारी रहँदै गीतसंगीतको यात्रामा निरनतर लाग्ने बताउँछन् । सुर्खेतबाट कलाकारितामा लागेका टीका पुन, नन्दा बस्याल, हरि विष्ट, सुगन शाही, अर्जुन सुनामजस्ता हस्तीहरुलाई पनि उनी सम्झना चाहन्छन् । शिव संगीत आफूलाई सुरु अन्त्य गीतसंगीतभित्र नै हुने र गीतसंगीतमै जीवन समर्पण गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् ।
    – सुमन बैरागी

    aarambha_final

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु