श्रेयसी र नेलिमाको साथमा २५ औं बिश्व आदिवासी दिवसमा बहुल जातिय संस्कृतिक साँझ हुने

म्यूजिक खबर
प्रकाशित: २७ असार २०७६, शुक्रबार

कृष्ण हमाल/मानमा बहराइन
१२ जुलाई २०१९

हरेक बर्ष ९ अगष्टमा पर्ने बिश्व आदिवासी दिवसलाई नेपाल आदिवासी जनजाती महासंघ बहराईनले यो बर्ष पनि बहुल जातियता झल्काउँदै मनाउने भएको छ । उक्त दिन बहुल जातीय झल्कने साँस्कृतिक कार्यक्रमको साथमा महासंघ सम्वद्ध ६ जातीय संस्थाहरू क्रमशः नेपाल मगर संघ बहराईन, तमू समाज बहराईन, किराँत याक्थुङ चुम्लुङ बहराईन, बहराईन तामाङ सेवा समाज, किराँत राई यायोक्खा बहराईन र शेर्पा किदुग बहराईनको सहकार्यमा यही आउँदो ९ अगस्ट २०१९ शुक्रबारका दिन बहराइनको राजधानी मानमा स्थित डेल्मोन ईन्टरनेशनल होटेलको अडिटरियममा भब्यताका साथ मनाउने तयारी भइरहेको छ ।

२५ औं बिश्व आदिवासी दिवस तथा बहुल जातिय संस्कृतिक साँझ २०१९ लाई सफल बनाउनको नरेन्द्र घले कार्यक्रम संयोजक र कृष्ण खाम्चा मगरलाई सह–संयोजक चयन गर्दै जम्मा ९ सदस्यीय संयोजक समिति गठन गरेको छ ।

उक्त कार्यक्रमबाट संकलित रकम महावीर पुन अध्यक्ष रहेको ‘राष्ट्रिय आविष्कार केन्द्र’ लाई आर्थिक सहयोग गर्ने लक्ष्य सहित राष्ट्रिय स्तरका कलाकारहरू क्रमशः भर्साटायल गायिका श्रेयसी चेम्जोङ र नेपाल आईडल सिजन–२ को टप ७ मा पुग्न सफल उदयीमान गायिका नेलिमा थापा मगरको धमाकेदार प्रस्तुतिहरू रहने भएको जानकारी नेपाल आदिवासी जनजाति महासंघ बहराइनका कार्यक्रम संयोजक नरेन्द्र घलेले बताएका छन् ।

उक्त कार्यक्रममा, राष्ट्रिय कलाकारहरुको प्रस्तुतिको साथमा आदिवासीहरुको मौलिक संस्कृतिजन्य नृत्यहरू क्रमशः घाटु, कौडा, केलाङ, याःलाङ, तामाङसेलो, साकेला, स्याब्रु तथा लोक नृत्यहरू प्रस्तुत गरिनुका साथै आदिवासी जनजातीय पहिचानजन्य मौलिक भेष–भूषाहरू प्रदर्शन तथा मौलिक खानपिनका परिकारहरू पनि समावेश गरिएको जानकारी आदिवासी जनजाति महासंघ बहराइनका अध्यक्ष झहर थेबेले म्युजिक खबरका बहराइन सम्बादाता कृष्ण हमालसंगको कुराकानीमा बताएका छन । २५ औं बिश्व आदिवासी दिवस तथा सांगीतिक साँझ २०१९’ को म्युजिक खबर डट कम अफिसियल मिडिया पार्टनर समेत हो । साथै बहराईनबासी तमाम नेपालिहरुलाई उपस्थिति भइ उक्त कार्यक्रम भब्य र सभ्य सफल पारिदिनहुन साथ दिन आयोजक कमिटी हार्दिक अनुरोध गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु