• प्रतिभाशाली गायक राईको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरिने (भोलि)

    म्यूजिक खबर
    प्रकाशित: १९ फाल्गुन २०८१, सोमबार

    काठमाडौं । प्रतिभाशाली गायक तथा संगीतकार विक्रम राईको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरिने भएको छ । फागुन १७ गते असामयिक निधन भएका राईको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि २० गते मंगलबार (भोलि) नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यालयको परिषरमा राखिने भएको छ ।

    संगीतकार संघले जारी गरेको शोक सुचनामा श्रद्धाञ्जलीका लागि गायक राईको पार्थिव शरीरलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कार्यालयको परिषरमा राखिने जनाएको हो । भोलि बिहान ११ बजेदेखि १ बजेसम्म श्रद्धाञ्जली सभा हुनेछ । श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गायक राईको पार्थिव शरीरलाई गृह जिल्ला खोटाङ लगिने छ ।

    ३१ वर्षीय गायक राईको फागुन १७ गते अचानक स्वास्थ्यमा समस्या आएको थाहा पाएपछि बागबजारस्थित मोडल अस्पताल पु¥याइएको थियो । अस्पताल पु¥याएको केही समयमा नै चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई हाल त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    विक्रम राई नेपाली सांगीतिक क्षेत्रमा प्रतिभावान कलाकार थिए । डेढ दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय रहँदै आएका उनी पहिलो नेपाल आइडल हुन् । राईले नेपाल आइडलको उपाधि जित्दा फ्रेन्चाइज नेपाल आइडल आइसकेको थिएन ।

    उनका दर्जनौं गीतहरु चर्चित छन् । जीवनसाथी तिमीलाई छ मेरो कसम, अलिकति माया देऊ म बाँच्न चाहन्छु, तिम्रो माया, काँडा हो कि फूल हो माया, तिमीलाई माया गर्न पाऊँ, कुलुलु बग्ने खोलीको माया, खाली हुँदै गयो, दिन बित्यो, म जहाँ रहे पनि लगायतका दर्जनौं गीतहरुमा उनको स्वर रहेको छ भने संगीत सिर्जना पनि रहेको छ ।

    गायन र संगीत सिर्जनामा उत्तिकै दख्खल भएका विक्रमको निधनको खबर नेपाली सांगीतिक क्षेत्र स्तब्ध भएको छ । म्यूजिक खबर परिवार गायक तथा संगीतकार बिक्रम राईप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु