
पौष ७, काठमाडौं । लोकगायक तथा संगीतकार मधुबाबु थापाको ६३ वर्षको उमेरमा निधन भएको छ । रेडियो नेपालमा कार्यरत गायक तथा संगीतकार मधुबाबु बिहीबार बाथरुममा लडेर घाइते भएपछि उपचारका क्रममा निधन भएको उनको निकट रहेकी गायिका चन्द्रकला शाहले जानकारी दिइन् । आज बिहान रेडियो नेपालको ड्युटी सकेर घर गइ नुहाउने क्रममा बाथरुममा लडेर घाइते भएपछि उपचारका क्रममा मोडेल अस्पतालमा निधन भएको हो शाहले बताइन् । थापाको केही वर्ष पहिला मात्र श्रीमतीको क्यान्सरबाट निधन भएको थियो भने उनी सुगर र प्रेसरका बिमारी थिए ।
२०३९ सालमा रेडियो नेपालमा पहिलो गीत ‘भैगो हजुर माया जाल नबुनौँ’ रेकर्ड गराएका मधुबाबुले चौतारी दोहोरी, काठमाडौं दोहोरी, रामरौस, जोवन कोपिलो, सोल्टिनीको रातो पछ्यौरी, मायालु, पिरती, झुम्के बुलाकी, कृष्ण लीला, कर्णालीको कहर, जीवन ज्योति गरेर तीन दर्जनभन्दा बढी गीति एल्बम निकालेका छन् । २०१० मा दाङको राजपुर गाविसमा जन्मिएका मधुबाबुको २ वर्षको उमेरमा आँखाको दृष्टि गुमेको थियो । थापाका ३ छोरा र १ छोरी हुनुहुन्छ ।
संगीत प्रभाकरको उपाधी पाएका गायक थापाको २०४४ सालमा निस्किएको ‘काठमाडौं दोहोरी’ एल्बम निकै चर्चित रह्यो । उनले २०५० सालमा लोकगीत संकलन पुरस्कार पाएका छन् । उनको शब श्रद्धान्जलीका लागि भोली विहान ९ बजे नेपाल प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।