‘हिरोइन’ बन्ने तयारीमा मन्जु

म्यूजिक खबर
प्रकाशित: ८ माघ २०७९, आईतवार

हरेक मानिसका रहरहरू उमेरअनुसार बढ्दै जान्छन् । भविष्यमा जाग्ने इच्छाहरू पनि परिवर्तन हुन्छन् । गायिका मन्जु पौडेल सानैदेखि स्वच्छन्दता मन पराउने, फेसन र मेकअपमा रमाउने स्वभावकी थिइन् । उनलाई सानो छँदा अभिनयमा ठूलो रहर थियो, जुन रहर उमेर वृद्धि भएसँगै हराउँदै गयो। अझ भनौं जब गायन र उद्घोषणका लागि मञ्च उक्लिन थालिन् । अभिनयले उनीमा डेरा जमाउन पाएन, सकेन ।

गायनमा भने लोभलाग्दो स्टारडम र प्रतिष्ठा कमाइन् । सयौं गीतमा स्वर भरेकी उनी गायिका बन्नु भन्दा अघि कार्यक्रम उद्घोषिका भएर धेरै स्टेज कार्यक्रमहरु संचालन गर्दै आएकी थिइन् । रेडियो प्रस्तोता, कार्यक्रम संचालिका हुँदै विस्तारै उनी गायिकाको परिचयमा बदलिएकी हुन् । उनले स्वर भरेका थुप्रै गीतहरु सुपरहिट पनि भएका छन् ।

कहिलेकाहीँ ‘बिर्सिसकेका रहरहरू’ पनि पूरा गर्ने अवसर मिल्छ । यतिबेला त्यस्तै भएको छ मन्जुलाई पनि । केहि विज्ञापन र गीतका भिडियोमा अभिनय गर्दै आएता पनि ‘हिरोइन’ नै बन्ने रहर भने रहर मर्दै गइसकेको थियो । गायनकै शिलशिलामा देशदेखि विदेशसम्मका विभिन्न स्टेज कार्यक्रमहरुमा प्रस्तुति दिँदै आएकी उनै मन्जु अब भने नायिका पनि बन्ने भएकी छन् ।

कलाकार बिनोद केसीले निर्माण तथा निर्देशन गर्ने चलचित्र मार्फत उनले ‘हिरोइन’मा फड्को मार्ने भएकी हुन् । सामाजिक सद्भाव र अनुहार हरेर गरिने भेदभावका साथै कामलाई सानो ठूलो भन्न नहुने लगायतको गतिविधि सहित निर्माण हुने चलचित्रमा मन्जुको हिरो भने हाँस्य कलाकार शिवशंकर रिजाल ‘गोगिन्दर पानवाला’ बन्ने भएका छन् । त्यसैगरी खल नायकको भूमिकामा हास्य कलाकार दमन रुपाखेतीले भूमिका निर्वाह गर्ने भएका छन् । सहर्ष गणेश फिल्मस् एण्ड एड्भर्टाइजिङ्ग सर्भिसको ब्यानरमा निर्माणाधिन उक्त चलचित्रमा नायक, नायिका र खलनायकको जिम्मेवारी पाएका कलाकारहरु बीच सम्झौता भएको छ ।

सम्झौता पछि हामीसँग कुरा गर्दै नायिकामा डेब्यु गर्र्दै गरेकी चर्चित गायिका मन्जुले भनिन् – ‘यो चलचित्रमा उत्कृष्ट काम गरेर मैले आफूलाई गायनमा जस्तै अभिनयमा पनि प्रमाणित गर्नु छ । चलचित्रले मधेसी समुदाय र पहाडी समुदाय बीच अझै पारस्परिक सम्बन्ध बढ्ने चलचित्रमा हिस्सेदार बन्न पाएकोमा खुशी छु ।’

गायनमा थुप्रै अवार्ड, सम्मान प्राप्त गरिसकेकी र उद्घोषणमा पनि आकर्षण र निर्धक्क तरिकाले आफ्ना कुरा राख्न सक्ने मन्जुको स्टारडम कुनै हिरोको भन्दा कम छैन । अब हिरोइनमा भने उनले आफ्नो क्षमता कसरी देखाउँछिन् ? कतिको सफल हुन्छिन् त्यो त आगामी दिनले नै बताउँछ । हाम्रो तर्फबाट मन्जु लगायत निर्माणाधिन चलचित्रको टिमलाई सफलताको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु