दुर्घटनामा परी गायक निशान भट्टराईको निधन

म्यूजिक खबर
प्रकाशित: २९ पुष २०७६, मंगलवार

काठमाडौं । ‘पिएर नशा अधरको तिम्रो छैन अझै भरिएको दिल’ जस्ता कर्णप्रिय गीतका गायक सङ्गीतकार निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट मंगलबार राति घर फर्कने क्रममा दुर्घटनामा परी उनको निधन भएको हो । बानथाई रेस्टुरेन्टका संचालक समेत रहेका गायक भट्टराईले चलाएको कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा त्यही उनको निधन भएको हो ।

संगीतकार मिलन मोक्तानले दुर्घटनामा घाइते भट्टराईलाई ट्रमा सेन्टरमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषित गरेको जानकारी दिए ।

भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् ।
गायक भट्टराईका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । गायक भट्टराईको आज नै आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

म्यूजिक खबर परिवार गायक भट्टराईप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु