• गायक प्रकाश तिमिल्सिनाको अधुरो रह्यो संसार हेर्ने सपना !

    म्यूजिक खबर
    प्रकाशित: २६ श्रावण २०८१, शनिबार

    काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको शनिवार साँझ अल्पायूमै निधन भएको छ । उनको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको बुझिएको छ । उनी आफ्नै घरमा बेडमा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए तर चिकित्सकहरूले मृत घोषित गरे। उनको पार्थिव शरीरलाई भोलि विहान ८ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नक्सालमा राखिने कुरा प्राज्ञ परिषद् सदस्य चेतन सापकोटाले जानकारी दिएका छन् ।
    उनका प्रिय तिम्रो सिउँदोमा, हेर दिन सधैं एकनास हुन्न, मान्छे रैछ खल्ली, तिम्लाई देखेर आँखा त्यहीँ छोडी हिंडे म, जुन भन्दिनँ म लगायतका चर्चित गीतहरु रहेका छन् । उनको पहिलो एल्बम दृष्टि हो भने प्रकाश, प्रकाश–२, श्रद्धाञ्जली आदि गीति एल्बमहरु प्रकाशित छन् ।
    उनको पछिल्लो गीत रत्न शमशेर थापाको शब्द एवं नारायण ओलीको संगीतमा पर्खन हे पर्ख न गीत सार्वजनिक हुने क्रममा थियो ।
    भैंसेपाटीमा बस्दै आएका तिमिल्सिनाका श्रीमती दिव्य लामा लोप्चन हुन् ।
    म्यूजिक खबर परिवार गायक संगीतकार प्रकाश तिमिल्सिनाप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
    २०४५ सालको भूकम्पपछि आएको बाढीका कारण टुहुरोमात्र नभएर दुबै आँखाको ज्योती गुमाउन पुगेका थिए । २०४५ सालको भूकम्पपछि सप्तकोशीमा आएको बाढीले सुनसरीको आफ्नो घरसंगै बुवाआमालाई समेत गुमाउन पुगेका प्रकाश तिमिल्सिना माछा मार्ने क्रममा माझीले जालमा भेटेर ल्याएका थिए ।

    २०६५ सालमा ईमेज च्यानलले आयोजना गरेको एउटा रियालिटी शोमा विजयी हुँदै भारतको कोलकातामा सम्पन्न साउथ एशियन स्टारमा सहभागी भएपछि गायक तिमिल्सिना चर्चामा आएका हुन् । कोलकाताको उक्त प्रतियोगितामा तिमिल्सिनाले बेस्ट ईङ्लिश प्रोनाउन्सेसनको अवार्ड पनि जितेका थिए । उनले गत वर्ष मात्र म्यूजिक खबर म्यूजिक अवार्डमा सर्वोत्कृष्ट गायकको अवार्ड समेत प्राप्त गरेका थिए । अंग्रेजी, जापानिज, चाइनिज भाषामा समेत दख्खल राख्ने उनी सबै भाषामा गीत गाउने गर्थे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु