• गायक तथा संगीतकार पूर्ण गुरुङको निधन

    म्यूजिक खबर
    प्रकाशित: २६ माघ २०७९, बिहीबार
    Purna Gurung

    काठमाडौं । अग्रज गायक तथा संगीत संयोजक पूर्ण गुरुङको ५५ वर्षको उमेरमा असामयिक निधन भएको छ । उहाँको मनोहरास्थित निवासमा निधन भएको हो । लामो समयदेखि दुबै मृगौला फेल भएर डायलोसिस गरिरहेका गायक गुरुङ आफ्नो कर्ममा फर्किसकेका थिए । सामान्य रुपमा देखिए पनि उपचारको क्रममा नै रहेका गुरुङको आज निधन भएको जानकारी गायक नमराज ढुंगानाले दिएका छन् । उनको शबलाई अन्त्येष्टिका लागि भोली विहान ५ बजे उनको जन्मथलो भैरहवा लगिने गायक ढुंगानाले बताए ।
    २०४८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा पास गरेका गायक तथा संगीतकार गुरुङ भजन, आधुनिक तथा लोकदोहोरी गीतहरुमा स्वर दिएका छन् । मेरी प्रियसी बोलको गीतबाट गायन यात्रा सुरु गरेका भएका गुरुङ पछिल्लो समय चर्चित संगीत संयोजकका रुपमा पनि परिचित थिए । ६०–७० को दशकमा उनको संगीत संयोजनमा सयौं लोकदोहोरी, आधुनिक गीतहरु रेकर्ड भएका छन् । उनले संगीत संयोजन गरेका गीतहरु पानसमा बत्ती बालेको, दमौलीमा गेट, राइझुमा लगायतका चर्चित रहेका छन् । गुरुङले दुइ हजारभन्दा बढी गीतमा संगीत भरेका छन् भने १३ हजारभन्दा बढी गीतमा संगीत संयोजन गरेका छन् । दर्जनौ गीतमा स्वर दिएका छन । उनले गाएका गीत रेडियो नेपालमा अझै पनि कालजयी छन् ।
    म्यूजिक खबर परिवार स्वर्गीय गुरुङप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु