दोस्रो सन्तानको आमा बन्दै गायिका सुजता केसी, गर्भावस्थाको अन्तिम क्षणमा ल्याइन् नयाँ गीत

म्यूजिक खबर
प्रकाशित: २५ असार २०८३, बिहीबार ०१:२०

काठमाडौं । नेपाली सुगम तथा लोकपप संगीत क्षेत्रकी चर्चित गायिका सुजता केसी दोस्रो पटक आमा बन्न लागेकी छिन् । पहिलो सन्तानको रूपमा छोरी पाइसकेकी सुजताले आफ्नो जीवनको यो सुखद क्षण ‘दही चिउरा’ कार्यक्रम गरेका तस्बिर साझा गरेकी हुन् ।

गर्भावस्थाको यो विशेष समयमा पनि उनी संगीत कर्ममा उत्तिकै सक्रिय देखिएकी छिन् । दोस्रो सन्तानलाई स्वागत गर्ने तयारीमा रहेकी सुजताले हालै आफ्नो नयाँ सांगीतिक कोसेली ‘कसले देला बर’ बोलको गीत बजारमा ल्याएकी छिन् । गीतमा सुजतालाई गायक रमेश परियारले स्वर र संगीतमा साथ दिएका छन् भने संगीत संयोजन बिमल छिनालको रहेको छ।

सुनिल बिकेको निर्देशनमा तयार पारिएको यस गीतको आकर्षक म्युजिक भिडियोमा बीना राउत, सुरेश कोहली, सरोज प्रजा र सन्जना गुरुङको उत्कृष्ट अभिनय तथा नृत्य देख्न सकिन्छ। पशुपतिनाथ मन्दिर आसपासको क्षेत्रमा छायांकन गरिएको भिडियोको कोरियोग्राफी रोशन विश्वकर्माले गरेका हुन् भने भिडियोलाई मिलन थापाले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्।

विगत १६ वर्षको उमेरदेखि नै व्यावसायिक गायन क्षेत्रमा लागेकी सुजता केसीका ‘बाजा बजाउँदै’ र ‘ओई कान्छी’ जस्ता थुप्रै गीतहरू चर्चित छन्। जीवनको महत्वपूर्ण कालखण्डमा पनि संगीतलाई निरन्तरता दिँदै उनले ल्याएको नयाँ गीत र उनको मातृत्व यात्रालाई लिएर प्रशंसकहरूले बधाई तथा शुभकामना दिइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु