काठमाडौं । गायिका तथा समाजसेवी सीता गुरुङको पहलमा शान्तिमाया तामाङको उपचारको लागि सहयोग रकम गायिका हरिमाया गुरुङद्वारा हस्तान्तरण गरिएको छ । त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी रुविभ्याली गाउँपालिका वडा नं. ४ निवासी तामाङ जंगलमा दाउरा खोज्न जाँदा बाघको आक्रमणमा परेकी थिइन् । त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेकी शान्तिमायाको अनुहार, हात, खुट्टामा गम्भीर चोट लागेको छ । उनको अस्पतालका वर्न वार्डको २९ नं. बेडमा शान्तिमायाको उपचार भइरहेको र उनको आर्थिक अवस्था कमजोर रहेका कारण गायिका सीता गुरुङको पहलमा जम्मा भएको सहयोग रकम गायिका हरिमाया गुरुङद्वारा हस्तान्तरण गरिएको हो ।
गायिका सीता गुरुङले अमेरिकामा रहेका समाजसेवी हातहरुसँग सहयोग रकम जुटाएर शान्तिमायाको उपचारका लागि पठाएकी थिइन् । अमेरिकाको सियटल निवासी सीता गुरुङबाट १२५ डलर, कविना, कयरो र कतना (सीता गुरुङका नाति र नातिनी)बाट ४० डलर, टक गुरुङ २५, सपना लामा राना ५१, ऋचा थापा ५१ डलर, लाक्पा रिता र फूर्वा शेर्पाबाट १२० डलर, कृष्ण सापकोटाबाट ५० डलर, आङटासी र जाङ्बु शेर्पाबाट १०० डलर, राजीब गुरुङ ७० डलर, लीला श्रेष्ठ र सजना श्रेष्ठबाट ५० डलर, इना र च्यूफोङ चाङबाट २०० डलर, जुन बोक र इलेन च्याङबाट २०० डलर, विमला सिलवालबाट ५० डलर सहयोग रकम प्राप्त भएको छ । त्यस्तै प्रेम गुरुङ न्यूह्याम्पसायर १०१ डलर, राकेश गुरुङ न्यूयोर्क १०० डलर प्राप्त भएको छ भने सिर्जना गुरुङ युकेबाट १०० पाउन्ड रकम प्राप्त भएको छ । सीता गुरुङको पहलमा जम्मा भएको जम्मा नेपाली रुपैयाँ १ लाख ७० हजार ५ सय दश रुपैयाँ गायिका हरिमाया गुरुङको हातबाट विरामी शान्तिमाया तामाङकी बहिनी हिरामाया तामाङलाई हस्तान्तरण गरिएको थियो ।
डाँडागाउँ बसेरी धादिङमा जन्मिएकी गायिका सीता गुरुङ यतिखेर कर्मभूमि अमेरिकामा रहेकी छन् । उनले आफ्नो जन्मथलोमा स्वास्थ्यकेन्द्र निर्माण लगायतका विभिन्न सामाजिक सेवामा क्रियाशील रहँदै आएकी छन् । त्यस्तै गायिका हरिमाया गुरुङ पनि गायनका अलावा सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छन् । गायिका सीता गुरुङ र हरिमाया गुरुङले संयुक्त रुपमा गाएका धेरै गीतहरु बजारमा रहेका छन् । उनीहरुको चरि बस्यो बाँसैको सैसैमा, छुट्यो माया, मायाले बोलायो जस्ता गीतहरु चर्चाको शिखरमा छन् ।