संसार जितेको खुशी बोकेर हिंडिरहेको छु कि जस्तो लाग्थ्यो

म्यूजिक खबर
प्रकाशित: १४ असार २०७५, बिहीबार

१४ असार, काठमाडौं । सिताराम पोखरेलको एउटा छुट्टै पहिचान छ । उनी राम्रा गायक हुन् भनरिहँदा अझै राम्रा गीतकार पनि हुन् । ३२ वर्षसम्मको नेपाल आयल निगमको जागिरे जीवनपछि यतिखेर गीतसंगीतमा रमाउँदै गरेका सिताराम पोखरेलले ४४ सालदेखि औपचारिक रुपमा गीत गाउन सुरु गरेका थिए ।


तीन दशकभन्दा बढी योगदान गरिसकेका पोखरेलले पहिलो गीत ४४ सालमा भुपेन्द्र रायमाझी को संगीतमा आफैंले लेखेको गीत ‘सजाइदियौं जिन्दगी नै मेरो’ रेकर्ड गरेका थिए ।
स्टुडियो छिर्दा त्यतिबेला रेडियो नेपालबाट प्रत्यक्ष बाद्यवादनसँगै गाउनुपर्ने हुन्थ्यो पोखरेलले भने– ‘महिनापछि पाएको समयमा बाद्यवादनसँगै लाइभ गाउनुपर्ने हुन्थ्यो तर १० बजेबाट गाउन सुरु भएको थियो । त्यतिबेला कहिले बाद्यवादकले बिगार्ने, कहिले मैले बिगार्ने, कहिले मुड नआएर वाद्यवादक हिडिदिने गर्दागर्दै ३ बजेमात्र बल्ल रेकर्ड सम्पन्न भएको थियो । अहिले त धेरै सजिलो छ । टुक्रा टुक्रा गरेर गाउन मिल्छ समयले कोल्टे फेरिसकेको छ ।’

गीत रेकर्डपछि घर पुगें, पहिलो गीत बज्ने भनेपछि खुशीले क्यासेटमा रेडर्क थिचें, तर रेकर्ड गरेको मिलेनछ, तैपनि मनभरि रडियोमा गीत बज्यो गायक भइयो भन्ने खुशी थियो, उनले भने ।
पूर्वतिर जाँदा पनि यसको गीत रेडियोबाट बजेको थियो भनेर भन्थे, खुशी लाग्थ्यो । राम्रै काम गरिएछ जस्तो पनि लाग्थ्यो । कताकता संसार जितेको खुशी बोकेर हिंडिरहेको छु कि जस्तो लाग्थ्यो, गायक पोखरेलले विगत सुनाए ।
विराटनगरमा छँदा उनका सहपाठीहरु भुपेन्द्र रायमाझी, रमेश बुढाथोकी, उज्ज्वल घिमिरेहरु थिए । भुपेन्द्र रायमाझी टेबल ठोक्ने, म गीत गाउने गथ्र्यौं त्यसैले हामी संगीततर्फ मोडियौं उनले भने – ‘बुढाथोकी र घिमिरे अभिनयतिर रुचि राख्थे निर्देशक, कलाकार भए ।’


महेन्द्र मोरङ क्याम्पसमा हुने कार्यक्रमहरुमा म गएर गीत नगाएसम्म कार्यक्रम हुँदैनथ्यो । मलाई गाउँमा पनि सबैले राम्रै सम्मान गर्ने गर्थे ।
विराटनगरमा रहँदा ‘द टाइगर ग्रुप’ ब्याण्ड खोलेर हामीले सांगीतिक प्रस्तुति दिँदै आएका थियौं । ३५ सालतिर हामीले बुटवल, भैरहवा, पोखरासम्म पुगेर कार्यक्रम गर्ने गथ्र्यौं । हाम्रो ब्याण्ड विराटनगरमा स्थापित भइसकेको थियो । ब्यान्डमा हुँदा मैले लेखेको गीत निकै नै हिट भयो । ब्याण्डमा हरिश माथेमा बेस गिटारिष्ट थिए । मैले लेखेको ‘आँखाको नानी हौ तिमी’ उनले म गाउँछु भने । उनले गाएपछि गीत हिट भयो, उनी बेस गिटारिष्ट भन्दा पनि गायकको परिचयमा परिचित भए । त्यही गीत पछि मैले नै रिमेक गरेर गाएको छु । म्यूजिक डटकमबाट एल्बम निकाल्दा एउटा गीत रिमेक गरौं यतिबेला रिमेकको जमाना छ भनेपछि मैले पनि रिमेक गरेँ ।

खोटाङमा २०१७ सालमा जन्मिएका गायक पोखरेल गाउँमा छँदा निकै राम्रो सिठ्ठी बजाउने गर्दथे रे । सिठ्ठी पनि लयमा बजाउने गर्दै गर्दा सबैले कति राम्रो भन्न थालेपछि उनी झन् हौसिए गीत पनि गाउन थालेको बताउँछन् । संगीतको सुरुवात सिठ्ठी बजाएर गरेको बताउने गायक पोखरेल ५ वर्षको उमेरमा नै विराटनगर बसाईं सराई गरेका थिए । विराटनगरको शहरमा रहँदा स्कुले जीवनमा हलमा जुन फिल्म चल्थ्यो उनी हेर्न छुटाउँदैनथे । कलाकारिता प्रतिको झुकावले होला उनी सांगीतिक कार्यक्रम होस् या फिल्म जसरी पनि हेर्ने गरेको बताउँछन् । ‘भित्र पाइन्ट, बाहिर लुंगी लगाएर घरबाट निस्कने, झ्यालबाट लुंगी फ्याँकेर फिल्म हेर्न गइयो, उनले भने – त्यसरी जाँदा घरबाट कतै हावा खान गएको होला भन्थे आफू भने फिल्म हेरेर फर्कन्थे ।’

 

४४ सालमा प्रवेश रेडियो नेपालमा स्वर परीक्षा पास गरेका गायक पोखरेल ‘क’ वर्गको गायक हुन् । यतिबेला मेरो योगदानको कदर गर्दै रेडियो नेपालले विशिष्टी श्रेणीको गायक बनाइदिएको छ, उनले भने । सरकारी जागिर भए पनि मलाई त्यहाँ पनि सपोर्ट मिल्यो । आयल निगमको तर्फबाट बम्बई, दिल्लीमा पाइपालाइनको एग्रीमेन्टमा जाँदा पनि गायक भएको कारण सहज भएको थियो । मिटिङ सकेपछि म हिन्दी गीतसमेत गाइदिन्थें । सबैले राम्रो रेस्पोन्स गर्थे ।
मेरो विहेको लागि केटी हेर्न गइयो । म केटी हेर्न जाँदा केटीको दिदीले हजुर त गायक है एउटा गीत गाइदिन प¥यो भनेपछि मैले गीत गाएँ । उनी झ्यालबाट हेर्दै थिइन् । त्यसपछि हाम्रो विहे पनि भयो । गीत गाएर नै विहेका लागि परीक्षा दिएको जस्तो लाग्यो ।
अहिले मेरो प्रेरणाको स्रोत भनेकै मेरो उनी नै हुन् । भिडियो निर्माण गर्दा कति दिन बाहिर भइन्छ, गीत रेकर्ड गर्दा धेरैको संगत गर्नुपर्छ, मध्यरातमा पनि घर जानु पर्छ । त्यतिखेर उनले सकारात्मक रुपमा बुझिदिएकै कारण यो क्षेत्रमा स्थापित भएको हुँ, उनले भने ।


सुरुमा एल्बम तयार पारेपछि धेरै ठाउँ चाहरेँ, बोर्ड बस्न पर्छ भन्थे तर कम्पनीमा एक्लै हुँदा रहेछन् त्यत्तिकै बोर्ड बस्न पर्छ भनेर नाटक गर्दा रहेछन्, विगत पल्टाए उनले । पहिला टेलिभिजनमा गीत बज्दा गायक चाहिँ कस्तो होला भन्ने क्यूरिसिटी हटाउन आफैंले म्यूजिक भिडियोमा खेल्न थालेको बताउँछन् । काम गर्दागर्दै राम्रो भयो सबैले आफैं खेल्नु पनि भन्न थाल्नु भयो, त्यसपछि निरन्तरता दिएँ गायक पोखरेलले बताए ।

‘बदलिँदो मौसम जस्तै बदलियो आनीबानी को म्यूजिक भिडियोको सुटिङका लागि सौराह जाँदा ठूलो पानी प¥यो सुटिङ गर्न सकिएन । अब लगानी डुब्ने चिन्ता एकातिर थियो भने अर्कोतिर मोडलका लागि लिएर गएको नायिका सुमिन घिमिरेको काठमाडौं भोलिपल्ट सुटिङमा र्फकनु पर्ने थियो । चिन्ता बढ्दै जाँदा सुमिनाले पानीमै भिजेर सुटिङ गरौं भनेपछि छायाँकार हरि हुमागाईंले म भिजेरै खिच्छु भनेपछि सुटिङ सम्पन्न भएको थियो । त्यो बिर्सन नसक्ने दिन थियो, त्यही भिडियो साहै्र राम्रो पनि भयो ।

यतिबेला रिटायर्ड लाइफलाई ट्यालेन्ट शो, ब्यूटी प्याजेन्टहरुमा निर्णायक भएर हिंडिरहेका छन् भने पछिल्लो म्यूजिक भिडियो ‘सार्थक तिम्रो रहुन्जेल’ को प्रचार प्रसारमा व्यस्त छन् । रमेश अधिकारीको शब्द, करणराज कार्कीको संगीत, जनकदीप पराजुलीले निर्देशन गरेको उनको यो भिडियो १७ औं म्यूजिक भिडियो हो । यो भिडियो पृथक छ, मिनि मुभी कथा बोकेको छ गायक पोखरेलले भने । भिडियोमा सुवास पराजुली, अनु शाह, अर्जुन गौतम, प्रिन्ससँग उनी आफैं पनि मोडलिङ गरेका छन् । त्यस्तै उनको स्वरमा नयाँ एल्बमको पनि तयारी भइरहेको छ । दुई तीन गीतमा संगीत भरिसकेका छन् भने ६ वटा गीत एल्बममा राख्ने तयारीमा छन् उनी ।

–सुमन बैरागीसँगको कुराकानीमा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु