संगीतकार शक्ति बल्लभकी छोरी डा.स्नेही गायनमा, बालविवाहविरुद्धको गीतबाट डेब्यू

म्यूजिक खबर
प्रकाशित: ७ माघ २०७६, मंगलवार

काठमाडौं । अध्ययनले चिकित्सक पेशातर्फ उन्मुख भए पनि मनभित्र भने संगीतको तरङ्ग तरङ्गित भइरहेको छ गायिका डा.स्नेही श्रेष्ठमा । उनी पेशाका रुपमा चिकित्सक हुन् । तर त्यो पेशामा रहँदा रहँदै उनी गायिकाको रुपमा नेपाली संगीत क्षेत्रमा पदार्पण भएकी छन् ।
संगीतकार बाबु शक्ति बल्लभ नेपाली संगीतको क्षेत्रमा एउटा दरिलो खम्बा हुन् । उनका संगीतले नेपाली चलचित्र संगीत होस् आधुनिक संगीत गर्विलो महसुस गरेको छ । तिनै बाबु संगीतकार शक्ति बल्लभकी छोरी हुन् डा.स्नेही श्रेष्ठ । स्नेहीले बाल्यअवस्थामा पनि बालगायनका माध्यमले एल्बमहरु बजारमा ल्याएकी थिइन् । बालगीतमा सानैदेखि आफ्ना स्वरले सिंचित गरेकी डा.स्नेही यतिबेला भने संगीतको दुनियाँमा औपचारिक रुपमा गायनमा डेब्यू गरेकी हुन् ।


‘म त छोरी सानै छु बुवा, जान्छु पढ्न गर्दिन विवाह’ गीतले बालविवाहविरुद्धको आवाज उठाएको छ । उनको स्वर सुन्दा हजारौं गीतमा स्वर दिइसकेको आभास हुन्छ । डा.स्नेहीको गायनले औपचारिकता पाउँदै गर्दा स्टुडियोमा गीत सुन्न बसेका धेरै स्रष्टाहरुले महिला गायनमा राम्रो भविश्य भएको बताइरहेका थिए । साउण्ड डिजाइन रेकर्डिङ स्टुडियो नक्सालमा रेकर्डिङ भएको उक्त गीत मिक्सिङपछि सुनाइएको थियो । गीत सुनिरहेका गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले डा.स्नेहीको गायन नयाँ गायिका जस्तो नलागेको बताउँदै महिला गायनको पछिल्लो समयको अभावमा डा.स्नेहीको भविश्य जोडिएको बताए । त्यस्तै गायक सुमित खड्काले डा.स्नेही श्रेष्ठ गायनका हिसाबले अब्बल रहेको बताए । त्यस्तै गीतको रेकर्डिङ तथा मिक्सिङको कार्य गरिरहेका भोला पौडेलले रेकर्डिङ क्रममा नै उनी गायकीप्रति आफू सन्तुष्ट रहेको बताए ।

Shakti Ballav
डा.स्नेही श्रेष्ठको स्वर रहेको गीतले विपन्न परिवारमा जन्मिएका छोरीको पढ्ने इच्छा र व्यथा समेटेको छ । मनभरि पढ्ने इच्छा बोकेकी एउटा बालिकालाई बालविवाह गराउन हुन्न भन्ने सन्देश गीतमा पाइन्छ । गीतकार ध्रुवराज पौडेलको शब्द एवं संगीतकार शक्ति बल्लवको संगीत रहेको छ । मनोहर सुनामको संगीत संयोजन रहेको यस गीतको रेकर्डिङ र मिक्सिङको जिम्मेवारी भने भोला पौडेलले लिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु