परदेशीलाई रुवाउने दशैं तिहारको मार्मिक गीत (भिडियोसहित)

म्यूजिक खबर
प्रकाशित: ३० आश्विन २०७५, मंगलवार

भर्जिनिया यूएसए । परदेशीलाई दशैं तिहार आउँदा मातृभूमि सम्झेर मनभरि पीडा बोक्ने चाडका रुपमा परिणत हुन्छ । दशैंतिहार भनेको रुवाउने बाटो हो, यसबाट खुशी मिल्ने प्रयास गर्दा पनि मिल्दैन भन्ने भावका साथ सञ्चारकर्मी तथा साहित्यकार सुबिसुधा आचार्यको ‘परदेशीलाई दशैं तिहार’ बोलको दसैं गीतको म्युजिक भिडियो निर्माण भएको छ । परदेशमा एक्लोपन भएर गाउँघर, लेकबेसी सम्झिएर रुनु पर्दाको पीडा गीतभित्र समावेश गरिएको छ । अर्जुन सुनामको संगीत र स्वरमा सजिएको यो गीतले परदेशमा दशैं तिहार मनाउनेहरुलाई फेरि एक चोटी रुवाउन सफल हुनेछ ।

गाउँमा दशैं मनाउँदा टीका, जमरासँग लिएको आशिष होस् वा साथीसंगीसँग खेलिएका रोटे पिङ नै किन नहोस् सबै यादमा मात्र सीमित भएर प्रवासको ड्यूटीमा रुने काम भएकाहरुलाई फेरि एकपटक यो गीतले झस्काउँछ । आलाप डिजिटलबाट बजारमा आएको यो गीतको एरेन्ज झलक संगीतम्ले गरेका हुन् भने सञ्जय श्रीपालले मिक्सिङ गरेका छन् । चर्चित फोटोग्राफर राजीव श्रेष्ठको छायाँकन, एकान्त मगरको सम्पादन रहेको यस गीतलाई हेम प्रभासले निर्देशन गरेका छन् । भिडियोमा भीम दाहाल, सृष्टि आचार्य, सोनी सस्मित, टीकाराम, देउमाया लगायतको अभिनय रहेको छ । यस भिडियोको प्रोडक्सन म्यानेजरको जिम्मेवारी केशव आचार्यले बहन गरेका छन् । सूचना प्रविधिको विकास सँगै नयाँ प्रयोग गरेको निर्देशक हेम प्रभास बताउँछन् । नयाँ प्रयोगमा सफल भएको र आगामी दिनमा अन्य गीतका भिडियोहरूको निर्माण पनि यसै गरी गर्ने योजना रहेको बताउँछन् ।

परदेशीलाई दशैं तिहार रुवाउने बाटो
घरी घरी दुख्छ मन खुशी हुनको साटो !
एक्लो पन छ उदासीन छ हेर्छु जताजता
मेरो दशैं उतै छुट्यो म मात्र छु यता !

यस्तै मार्मिक र सशक्त गीतहरू लेख्दै आएकी सुबिसुधाका अन्य दर्जनौं गीतहरू रेकर्ड भएका छन् भने एक दर्जन बढि कथा, गजल, कविता विविध विधाका पुस्तकहरू प्रकाशित छन् । नेपाली भाषा, साहित्य, कला, संगीत र संस्कृतिको संरक्षण गर्ने क्षमता लिएर केवलपुर, धादिङमा जन्मिएकी गीतकार सुबिसुधा हाल संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्य स्थित फेडरिक्सवर्ग शहरमा बसोबास गर्दै आएकी छिन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु