सुमित खड्काको ‘देशको आवाज’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: ६ मंसिर २०७६, शुक्रबार

विराटनगर । राष्ट्रिय भावका गीतहरु मात्र धेरै गाउने गायकका रुपमा चिनिएका गायक सुमित खड्काको गीतिसंग्रह ‘देशको आवाज’ भाग–२ सार्वजनिक गरिएको छ । जन्मभूमि विराटनगरबाट उक्त एल्बमको सार्वजनिक गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएकी गायक सुमित खडका र मेयर भीम पराजुलीकी ममतामयी आमा र पुर्वाञ्चल बाल सेवा आश्रमकी अध्यक्ष सीता पोखरेलको हातबाट उनको एल्बम विमोचन गरिएको छ । बिहीबार विराटनगरमा वीर प्रोडक्सन इन्टरटेनमेन्टद्वारा आयोजित एक कार्यक्रमबीच उनको यो एल्बम विमोचन गरिएको हो ।
शक्ति बल्लभको संगीत र सुमित खडकाको स्वरमा रहेको उक्त एल्बम पहिले झैं श्रोता र संगीतप्रेमीहरुले मन पराईदिने विश्वास लिईएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य महेश रेग्मीले गायक सुमित खडकाको आवाजमा रहेका प्रत्येक गीतहरुले राष्ट्रप्रतिको अपार मोह र राष्ट्रिय एकताको सन्देश दिँदै हामीलाई गीत, संगीत तथा संस्कृतिको जगेर्ना गर्न सिकाएको बताए । उनले गीत तथा संगीतकै माध्यमद्धारा प्रदेश नं. १ को राजधानी विराटनगरबाट एकता र राष्ट्रियताको ज्योति फैलाउने कार्यमा सबैलाई सरिक हुन आग्रह गरे ।
कार्यक्रममा भने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, मोरङ्ग व्यापार संघका अध्यक्ष प्रकाश मुण्डदा, उद्योग संगठनका मोरङ्गका अध्यक्ष भीम घिमिरे, उद्योगपति महेश जाजु लगायतका अन्य बिशिष्ट व्यक्त्तित्वहरु र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु