• व्यापारीहरुले नै विगारे संगीत उद्योग : अधिकारी

    म्यूजिक खबर
    प्रकाशित: २ पुष २०७०, मंगलवार

    काठमाडौं, २ पुस । स्रष्टाको संगीत बेचेर रातारात आफूलाई महलमा राख्ने सोच भएका व्यापारीहरुको झुन्डले नै संगीतको उद्योग बिग्रिएको आरोप संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले लगाएका छन् । उनले घरमा आगो लगाएर भाग्न लगाउने सोचका प्रवृत्ति भएका व्यापारिहरुको झुन्ड रहेको संगीत उद्योग र त्यसमा संलग्न व्यापारीहरुकै कारण संगीत क्षेत्रमा स्रष्टाहरुले दुःख भोग्नुपरेको बताए ।
    राजधानीमा भएको एक विमोचन कार्यक्रममा बोल्दै अधिकारीले जहिलेसम्म हाम्रो संगीतको क्षेत्रमा प्रतिलिपि अधिकारको कानुन कार्यान्वयनमा आउँदैन र ती स्रष्टाको पैसामा होली खेल्ने व्यापारीहरुलाई ठीक लगाइँदैन त्योबेलासम्म स्रष्टाहरुको लगानी बालुवामा पानी जस्तै भइरहने बताए । व्यापारी सोचका व्यक्तिहरुले संचालन गरेको कम्पनीका मालिकहरुको छाता संगठनका रुपमा रहेको संगीत उद्योग आफैंले चोर्न लगाउने र रातारात कमाउन लगाउने गरेको आरोप लगाउँदै अधिकारीले संगीतको क्षेत्रमा केही गरुँ भन्ने स्रष्टाहरुमाथि ती व्यापारीहरुको आँखा लागेका बताए ।
    संगीतकर्मीहरुको रोयल्टीको विषयमा आफूहरु सधैं लडिरहेको बताउँदै पछिल्लो समय रिङ ब्याक टोनको मुद्दामा अडिग रहेर हिंडेको बताए । रोयल्टी कसरी संकलन गर्न सकिन्छ भन्ने कुरातर्फ रोयल्टी संकलन समाज लागिपरेको बताउँदै सम्पूर्ण रेडियो, टेलिभिजनमा समेत स्रष्टाको सिर्जना बजेवापत रोयल्टी दिनुपर्ने मागका साथ अघि बढेको अधिकारीले बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु