• बन्ने भयो एभरेष्ट सूर्य बोहराको चलचित्र “बा”

    म्यूजिक खबर
    प्रकाशित: ५ भाद्र २०७७, शुक्रबार

    काठमाडौं – निर्देशक एभरेष्ट सूर्य बोहोराले कुशे औंसी अर्थात् बाबुको मुख हेर्न दिनको अवसर पारेर भदौ ३ गते बुधवार चलचित्र विकास बोर्डमा ‘बा’ शीर्षकको फिल्म दर्ता गरेका छन् ।कोरोनाको प्रभाव कम भएपछि मंसिरमा छायांकन थालिने उक्त फिल्ममा बाबुको संघर्ष, त्याग, बलिदान र सम्पर्णको महिमा प्रस्तुत गरिने बताइन्छ ।

    कोरोनाका कारण देश लकडाउनमा रहे तापनि निर्देशक बोहोरा भने निरन्तर सृजनशील कार्य र पीडितहरुको सेवामा जुटिरहेका छन् ।त्यसकै फलस्वरुप उनले ‘बा’ को कन्सेप्ट तयार पारेका हुन् ।

    एभरेष्ट सूर्य बोहोरा फिल्मसको ब्यानरमा निर्माण हुने ‘बा’ को प्रदर्शन भने अर्काे वर्षको कुशे औसी अर्थात बाबुको मुख हेर्ने दिनमा गरिने लक्ष्य रहेको छ ।

    पटकथा सहलेखनमा निर्देशक बोहोरालाई अभिमन्यु निरवीले साथ दिएका छन् ।लमजुङ र मनाङका बिभिन्न स्थानमा खिचिने फिल्मका कलाकारको छनौट कार्य भइरहेको जानकारी प्राप्त भएको छ ।अत्याधुनिक प्रविधिको प्रयोग गरिने फिल्म पुरुषोत्तम प्रधानले खिच्नेछन् ।

    फिल्मका गीतमा राजनराज शिवाकोटी, यम बराल र एलिस कार्कीको गीत संगीत रहने छ ।‘आमालाई धर्ती मान्नेले बाबुलाई कहिल्यै आकाश मानेनन्’, निर्देशक बोहोरा भन्छन्– ‘वर्षाैदेखि मलाई यो कुराले झक्झक्याइ रहेको छ । त्यसैले बाबुको योगदान र महत्वलाई दर्शाउन खोजेको छु ।’उनले आफ्नो फिल्म आफ्ना बा र संसारभरिका बाप्रति समर्पित हुने बताए ।

    बोहोरा निर्देशित पछिल्लो फिल्म ‘हेलो जिन्दगी’ को हाल लण्डनको क्रियटिभ फाइभ र नेपालको सिनेजोन स्टुडियोमा पोस्ट प्रोडक्सन कार्य अन्तिम चरणमा पुगेको छ ।निर्देशक बोहोरा अन्तराष्ट्रिय उडान खुल्नासाथ यो फिल्मको बाँकी दुई गीत छायांकनका लागि टोलीसहित लण्डन उड्ने योजनामा छन् ।‘बा’ को सुटिङअघि नै हेलो जिन्दगी’ लाई अन्तरराष्ट्रिय बजारमा पुर्याउने लक्ष्य उनको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु