• सुसनले ल्याए सुसन

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७०, मंगलवार

    काठमाडौं, ३० पुस । पहिले–पहिलो गीत सुनिन्थ्यो तर अहिले हेर्ने गरिन्छ । त्यसैले गायक÷गायिकाले गीत गाएपछि म्युजिक भिडियो निर्माण गर्नु अपरिहार्य भइसकेको छ । एल्बमको प्रमोसनकै लागि भए पनि म्युजिक भिडियो निर्माण गर्नु कलाकारको बाध्यता भएको छ । तर, गायक सुसन साम्सोहाङले भने एउटा होइन, पुरै एल्बमकै गीतको भिडियो निर्माण गरेका छन् । हालै मात्र ‘सुसन’ नामक डिभिडी श्रोतामाझ ल्याएका सुसनले भने, ‘जमानाअनुसार सबै गीतको म्यसजिक भिडियो निर्माण गरेको हुँ । गीत अहिले सुनिँदैन, हेरिन्छ, त्यसैले म्युजिक भिडियोमा जोड दिएको हँ ।’
    सुसनको ‘सुसन’ डिभिडी एल्बममा ‘भोली के होला, न्याउली किन, जहाज सरर र तिमी कहाँ बोलका चारवटा गीतका म्युजिक भिडियो संग्रहित छन् । सबै गीत छुट्टाछुट्टै शैलीका छन् । ‘कोली के होला’ बोलको गीत पप आधुनिक शैलीको छ भने ‘न्याउली किन’ लोक आधुनिक फ्लेभरमा छ । त्यस्तै, ‘जहाज सरर’ लाई गायक सुसनले दोहोरी भाकामा गाएका छन् । संग्रहको अन्तिम गीत अर्थात ‘तिमी कहाँ’ चाहिँ उनले गजलशैलीमा ढालेका छन् । संग्रहका चार गीत चारै शैली किन नि ? सुसन भन्छन्, ‘सबै किसिमका श्रोता÷ तथा दर्शकलाई समेट्न यस्तो शैली अपनाएको हुँ ।’
    चारै गीतका आ–आफ्नो दर्शक एवं श्रोता भएको सुसनले बताए । ‘अहिले एउटै शैलीलाई मात्र अपनाएर नहुने भएको छ’ हालै मात्र हङकङमा कार्यक्रम गरे फर्केका उनले भने, ‘पहिले गीत गाइन्थ्यो मात्र अहिले हेर्नलाई म्युजिक भिडियो अनिवार्य छ । त्यस्तै, सबैखाले श्रोताका लागि सबै शैलीका गीत गाउन पर्ने अवस्था आएको छ ।’ श्रोता तथा दर्शकको चाहना र रुचिअनुसार गाएकै कारण हिजोआज सुसनको गीत लोकप्रिय हुँदै गएको छ ।

    susan
    ०६० सालयता सांगीतिक क्षेत्रमा संघर्ष गरिहेका गायक सुसनको ‘सुसन’ पहिलो डिभिडी एल्बम हो तर उनी गायनका हिसाबले भने स्थापित भइसकेका छन् । सोलो एल्बम निकाल्नुअघि विभिन्न कलेक्शन एल्बम तथा लिम्बू भाषाका गीतका स्वर दिँदै आएका सुसनले संगीत क्षेत्रमै लागेर धेरै कुरा सिक्न पाएका छन् । यसअघि लिम्बू भाषाको एल्बम ‘माराम’ र ‘पन’ लगायत विभिन्न एल्बमका लागि स्वर दिएका सुसनले भने, ‘एल्बम निकाल्नु ठूलो कुरा होइन, श्रोता र दर्शकको रुचि अनुसार संगीत पस्कन सक्नु ठूलो कुरा हो ।’ हुन पनि नेपाली श्रोताले कस्ता संगीत सुन्न चाहन्छन् भन्ने नुबझी एल्बम निकाल्नेको भीड लाग्न थालेपछि संगीत बिक्री हुनै छाडेको छ । ‘राम्रो गीत÷संगीतको अहिले पनि राम्रै बजार छ’ सुसनले भने, ‘नेपाली संगीतको बजार खस्कनुमा कलाकारकै कमजोरी छ ।’
    पूर्वीपहाडी जिल्ला ताप्लेजुङमा जन्मेहुर्केका सुसनले धरानको सुनसरीबाट सांगीतकि करिअर प्रारम्भ गरेका हुन् । धरानमै उनले पहिलोपटक ०५६ मा ‘हाँसी खेली’ बोलको लोक गीत रेकर्ड गराएका थिए । तर अब उनी राजधानीमै बसेर सांगीतिक करिअरलाई अगाडि बढाउने भएका छन् । ‘संगीत मेरो रुचि हो’ उनले भने, ‘छाड्न चाहेर पनि छाड्न सक्दिनँ ।’ सँगैका साथीभाई मुग्लानतिर भासिए पनि आफू संगीतमै रमाउन चाहेको सुसनले बताए । उनी ‘सुसन’ एल्बमबाट आशावादी पनि छन् । ‘यसै एल्बमले चिनिन सक्छु भन्ने अपेक्षा गरेको छु’ उनले भने, ‘रेस्पोन्स पनि राम्रो आइरहेको छ ।’

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु