साहित्यकार डा.तारानाथ शर्माको निधन

म्यूजिक खवर
प्रकाशित: ३ फाल्गुन २०७८, मंगलवार
Taranath Sharma

काठमाडौं । साहित्यकार तारानाथ (ताना) शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार बिहान आफ्नै घरमा निधन भएको हो। शर्मालाई मुटु रोग, रक्तचापलगायत समस्या थिए।
शर्माले नेपाली साहित्यमा झर्रोवादी आन्दोलन थालेका थिए। शर्माका समालोचना, उपन्यास, निबन्ध, नियात्रा, साहित्यिक इतिहास लगायतका कृतिहरू प्रकाशित छन्।

शर्माले अंग्रजी भाषामा पनि कलम चलाएका छन्। साहित्य र समालोचनाको यात्रामा भने सधैं उध्र्वगामी रहेका ताना शर्मा ८७ वर्षको उमेरमा मंगलबार बिहान संसारबाट बिदा भएका छन् ।
प्रजातन्त्र प्राप्तिपछि नेपाली साहित्य लेखनमा ठूलो उभार आयो । साहित्य रचनाको संकुचन हटेर स्वच्छन्द लेखनमा साहित्यकारहरु रमाउँदै थिए ।

लेखनाथ पौड्याल र सोमनाथ सिग्द्यालले छाडेको विरासत टेकेर क्लिष्ट संस्कृत शब्दको प्रयोग गरी साहित्य लेख्ने चलन बढ्दै थियो । जसले साहित्यलाई आम मानिसको पहुँचबाट टाढा लैजाँदै थियो । भाषाविज्ञानमा चासो राख्ने व्यक्ति भएकाले शर्माले त्यसलाई चिर्ने प्रयास गरे । सँगसँगै अंग्रेजी र हिन्दी भाषाले नेपाली भाषाको मौलिक पक्षमा पारिरहेको संकटबारे पनि उनी चिन्तित थिए ।

त्यही क्लिष्ट संस्कृत भाषा र अन्य भाषाको प्रभावबाट नेपाली भाषालाई जोगाउनको लागि बालकृष्ण पोखरेल, चुडामणि रेग्मी, कोषराज रेग्मी, बल्लभमणि दाहालको संलग्नतामा वि.सं. २०१३ मा बनारसबाट सुरु भएको थियो ‘झर्रोवादी आन्दोलन’ ।

नेपाली भाषामा झर्रोवादी आन्दोलनको सुरुवातबारे पनि छुट्टै किस्सा छ । वि.सं. २०११÷१२ तिर अध्ययनका लागि बनारस पुगेका ताना शर्माको अभिमानी व्यक्तित्वका बारेमा उनका साथीहरु परिचित थिए ।‘‘साहित्यिक रुपमा उनी जति सरल थिए, उति नै व्यावहारिक रुपमा कडा पनि थिए ।

जीवन र संघर्ष

प्रखर समालोचक हुँदाहुँदै गर्दा पनि जीवनको उत्तरार्धमा शर्मा आफू सकेसम्म विवादमा नपर्न पाए हुन्थ्यो भन्ने विचार राख्थे । ९ असार १९९१ मा इलामको बरबोटे भन्ने ठाउँमा जन्मिएका शर्माको पुरानो नाम तारानाथ उपाध्याय भण्डारी हो । उनले भाषाविज्ञान विषयमा विद्यावारिधि गरेका हुन् ।

शर्माले दार्जिलिङबाट प्रवेशिकासम्म शिक्षा हासिल गरे । उनी पारसमाणि प्रधान, धरणीधर शर्मा, सूर्यविक्रम ज्ञवाली जस्ता धुरन्धर भाषाशास्त्री एवं साहित्यकारको छत्रछायामा रहेर साहित्य सिर्जनामा अघि बढे ।

उनको प्रतिभाबाट प्रभावित भई पारसमणि प्रधानले ‘भारती’ पत्रिकामा उनका कृतिहरु प्रकाशित गराउँथे । त्यहीँबाट उनले नेपाली साहित्यमा अझ अघि बढ्ने हौसला पाए । पछि उच्च शिक्षाको लागि उनी बनारस गए ।

उनी पञ्चायती शासन व्यवस्थाको सुरुवातमा पञ्चायतको खुन्खार विरोधी थिए । पञ्चायतकालमा मविवि शाहको ‘उसैको लागि’ भन्ने कविता समालोचना गरेका थिए । सो क्रममा उनले हिन्दी गीतको नक्कल गरेको भनेर समालोचना गरेबापत जेल सजाय पनि भोगे । तर उनले सोही समयमा २ वटा कृतिको रचना गरे ।

उनको लेखन यात्रा २००८ सालमा वस्तुपरक निबन्धबाट सुरु भएको हो । २०१८ सालमा नमस्ते निबन्ध संग्रह प्रकाशित भयो । २०२३ मा मेरो कथा र २०२५ मा जमर्काहरु प्रकाशित भयो । २०२६ सालमै ‘पश्चिमका महान् साहित्यिकारहरु’ नामक जीवनीसंग्रह प्रकाशित भयो ।
घोत्ल्याइँहरू (२०२१), भानुभक्तदेखि तेस्रो आयामसम्म (२०२७), सम र समका कृति (२०२९) उनका चर्चित समालोचना कृतिहरू हुन्।

बेलायततिर बरालिँदा (२०२६) र पालता प्रवास (२०४२) उनका प्रशिद्ध नियात्रा हुन्।

नमस्ते (२०४४), जीवनका छाल (२०३०), श्रद्धाका सुमन (२०४४) प्रशिद्ध निबन्ध संग्रह हुन्। सुली (२०३०), मेरो कथा (२०२३), झझल्को (२०२३), ओझेल पर्दा (२०३५) उनका औपन्यासिक कृतिहरू हुन्।
शर्माले २०२६ सालमा मदन पुरस्कार पाएका थिए। ‘बेलाइततिर बरालिँदा’ कृतिका लागि उनलाई मदन पुरस्कार दिइएको हो।

शर्माले जीवनको उत्तरार्धमा संस्कृत भाषा, राष्ट्र राष्ट्रियता र वैदिक वाङ्मयको भने वकालत गर्न थाले । सुरुमा प्रगतिवादी साहित्यकारको रुपमा चिनिएका उनी २०४७ सालको परिवर्तनपछि भने नेपाली कांग्रेसमा प्रवेश गरे । २०४७ कै परिवर्तनपछि उनी राइजिङ नेपालको सम्पादक पनि बनेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु