• क्यान्सर रोगीहरुको सहयोगार्थ स्वर्णिम साँझमा गुन्जिँदै गायिका तारा थापा

    म्यूजिक खबर
    प्रकाशित: १८ असार २०८१, सोमबार
    Tara Thapa

    काठमाडौं । प्रतिष्ठित गायिका तारा थापा यही असार २१ गते स्वर्णिम साँझमार्फत् गुन्जिँदै छन् । कला , साहित्य एवं गीत सङ्गीतको उत्थान र श्रष्टाको सम्मान हाम्रो अभियान भन्ने मुल नाराका साथ लाफा रुङ्ग फाउन्डेसनको आयोजनामा क्यान्सर रोगीहरुको सहयोगार्थ सर्वप्रिय मुर्धन्य गायिका तारा थापाको स्वर्णिम साँझ – २०८१ गरिन लागिएको हो। उक्त कार्यक्रम यहीँ आउँदो असार २१ गते शुक्रबार दिनको ३ बजेबाट प्रत्यक्ष वाद्यवादनको साथमा साँस्कृतिक संस्थानको सभाहलमा आयोजना हुँदैछ ।

    गायिका तारा थापाले यस कार्यक्रममा आफुद्वारा गाइएका लोकप्रिय तथा चर्चित गीतहरु प्रस्तुत गर्दैछिन् । गायिका थापालाई गायक देवराज आले, सागर आले, मनोज थापा, दिपा सुहाङ र अप्सु योगीले स्वरमा साथ दिनेछन् । यस कार्यक्रममा गायिका तारा थापाद्वारा गाइएका केहि गीतमा नृत्य पनि प्रस्तुत गरिनेछ । यस कार्यक्रमबाट आम्दानी हुने रकमले क्यान्सर रोगीहरुको पीडाको लागि थोरै भए पनि सहयोग पुग्ने आयोजकको भनाई रहेको छ ।
    स्वर्णिम साँझमा गायिका थापाका सयथरी बाजा एउटै ताल, फूल झरे पनि, तारी नदेउ ए माझी दाइ, सबैले दिने उस्तै हुन्छ माया, सान्नानी हाँस न, कटर कटरमा, कलिलो तामालाई, काली पनि देखेँ मैले लगायतका एक दर्जनभन्दा बढी गीतहरु प्रस्तुत हुनेछ । कार्यक्रममा गायक, संगीतकार एवं संगीत संयोजक अशोक कुमार राईको नेतृत्वमा वाद्यवादन टोलीले यतिबेला गायन तथा वाद्यवादनको अभ्यास गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु