रिमाल, परियार र राणालाई तारादेवी स्मृति सम्मान

म्यूजिक खबर
प्रकाशित: १० माघ २०७७, शनिबार

काठमाडौं । गायिका तारादेवीको १५ औं स्मृति दिवसका अवसरमा तारादेवी स्मृति फाउन्डेसनले ३ जना स्रष्टालाई सम्मान गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यको हातबाट उक्त सम्मान प्रदान गरिएको थियो ।
सम्मानित हुुनेमा गीतकार स्व. भैरवनाथ रिमाल ‘कदम’, संगीतकार स्व. गणेश परियार र गायिका ज्ञानु राणा छन् ।
गीतकार रिमालको गएको पुस २५ गते र संगीतकार परियारको माघ ४ गते निधन भएको हो । उनीहरुको निधन हुनु अघि नै फाउन्डेसनले सम्मान गर्ने निर्णय गरिसकेको थियो ।

स्व. रिमालको सम्मान उनकी छोरी रेखा ढकालले र स्व. परियारको सम्मान उनकी नातिनी मरिया परियारले ग्रहण गरेकी थिइन् । उनीहरुलाई मेयर शाक्य, राज्यमन्त्री रामवीर मानन्धर, फाउन्डेसनका अध्यक्ष दीपक के. सी., नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजीत बास्कोटाले संयुक्त रुपमा सम्मान गरेका थिए ।

फाउन्डेसनकी उपाध्यक्ष वरिष्ठ अभिनेत्री भुवन चन्द थापा पनि त्यस क्रममा सहभागी थिइन् । सम्मानितहरुलाई जनही २५ हजार १ रुपैयाँ प्रदान गरिएको थियो भने दोसल्ला ओडाएर ताम्र पत्र प्रदान गरिएको थियो ।

त्यस अवसरमा शहरी विकास राज्य मन्त्री रामवीर मानन्धरले नियमित करीब ४ घण्टा २० मिनेट बढी लगातार गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाएकोमा विशेष सम्मान प्रदान गरेको थियो ।
यसै गरी स्थानीय सेवामा उल्लेख्य काम गरेकोमा वडाध्यक्ष दीपक के. सी. लाई सम्मानित गरिएको थियो ।

काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजना गर्ने तयारी थियो । राजनीतिक कार्यक्रमले भृकुटीमण्डप क्षेत्रमा आवातजावत असामान्य बनेपछि वडा ३ कार्यालय भवनको प्राङ्गणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा मेयर शाक्यले, महानगरले नयाँ कलाकारलाई मञ्च र पुराना कलाकारलाई सम्मान गरेर कला जोगाउने प्रयास गरेको बताए । ‘यो हामीले दायित्वभित्रको काम गरेका हौं,’ उनले भने, ‘काठमाडौंमा जातीय समुदायले धानेका परम्परागत बाजागाजाको संरक्षण, सम्बर्धन र प्रवर्धनका लागि हामीले गुरुहरुलाई जनही ३० हजार नगदसहित सम्मान गरेका छौं । यो रकम ठूलो होइन तर सरकारको सहभागिता भने ठूलो हो । यो निरन्तर चलिरहनेछ ।’
कला बचाउन स्रष्टा बचाउनु पर्ने तथ्य आफूलाई महसुस भएको बताउँदै मेयर शाक्यले, महानगरको लगानी हुने ठाउँमा विवाद हुनु नहुने बताए । ‘सबै कलाकार एउटै आवाज र एउटै मञ्चमा हुने हो भने तपाईँहरुका लागि हामी लगानी गर्छौं । तर, त्यहाँ पक्ष विपक्ष हुनुहुँदैन,’ शाक्यको भनाइ थियो ।

काठमाडौं महानगरले तारादेवी फाउन्डेसनमा २० लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिएको छ । नारायण गोपालको अधुरो चाहना पूरा गराउन करीब ६ करोड रुपैयाँ लगानीमा ‘गीत गंगा अडिटोरियम’ निर्माण गर्दैछ ।

कार्यक्रममा फाउन्डेसनका महासचिव सोमन सैँजुले महानगरको अभिभावकीय नेतृत्वबाट न्यानो महसुस भएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु