
काठमाडौं । मौलिक गीत ठाडो भाकाको प्रचलन विशेषगरी गोरखा, लमजुङ आसपासमा छ । पछिल्लो समयमा हराउँदै गएको यो भाकाप्रति त्यस क्षेत्रका स्थानियहरुप्रति अझै पनि विशेष रस भएको पाइन्छ । अझै गुनगुनाउन चाहन्छन् । सुन्न र सुनाउन चाहन्छन् । यस्तै गोरखाकी सुनसरी जिएम पनि एक हुन् । रौसे स्वभावकी उनी गाउँघरका बिहे(बटुलोमा गीत गाउँथिन् । मनको कतै कुनामा सुषुप्त रहर थियो, गायिका बन्ने । तर, जीवन त्यत्तिकै घर्केर गयो । मेलापात, घाँस दाउरामै दिनहरु बिते । आफ्नो गायिका बन्ने रहर त्यागिन् तर छोरीलाई कलाकार बनाइन् । उनकी छोरी हुन् – गायिका तथा मोडल सुस्मिता विश्व । दिनहरु बित्दै गए, सुनसरीको उमेर पनि बुढ्यौलीतर्फ ढल्कियो ।
तर, आमाको बुढेसकाल भए पनि कलाप्रतिको रुची झन् झन् युवा भएको महशुष गरिन् छोरी सुस्मिताले । अनि सुस्मिता र उनका श्रीमान कुमार विश्वले गराइदिए आमाको स्वरमा गीत रेकर्ड । सुनसरीले गाएको ‘मौलिक नेपाली ठाडो भाका’ यतिबेला बजारमा आएको छ । गीतमा संगीत समेत स्वयं सुनसरीको रहेको छ । सुनसरीलाई गायनमा सरोज बिरही कार्कीले साथ दिएका छन् । मिक्सिङ तथा मास्टरिङ मनोज परियारले गरेका छन् ।
विष्णु परियारको छायाँकन तथा सम्पादन रहेको यस भिडियोमा गायक सरोज बिरही कार्की र गायिका सुनसरीनै लगायत समूहको अभिनय रहेको छ ।