‘माया लुकी लुकी’ लाई दश करोड दर्शकको माया, मनाइयो खुशीयाली

म्यूजिक खबर
प्रकाशित: १९ माघ २०७७, सोमबार

काठमाडौं । लोकप्रिय गायिका टीका प्रसाईको स्वरमा रहेको गीत ‘माया लुकी लुकी’ले म्यूजिक भिडियोको दुनियाँमा पहिलोपटक दश करोड दर्शकको माया पाउन सफल भएको छ । गीतकार आनन्द अधिकारी र संगीतकार आशिष अबिरलको सिर्जनामा तयार भएको यो गीतको संगीत संयोजक पनि आशिष अबिरल नै हुन् । दश करोड दर्शकको माया पाएको खुशीयाली साट्न माया लुकी लुकीका टीमले स्टुडियो रागमा एक कार्यक्रम गरी केक काटेर खुशीयाली मनाए । गीतसँग आबद्ध रहेका अडियो भिडियोका सर्जकहरुलाई पनि सम्मान गरेर खुशीयाली साटियो ।
हालसम्म पाँच सयको हाराहारी गीत गाइसकेकी टीकालाई सुरुमा भने यो गीतले यति सफलता प्राप्त गर्छ भन्ने लागेको थिएन । तर दर्शक र श्रोताको अपार मायाले आज यो सफलता पाएकोमा उनी खुसी छिन् । उनले यो गीत सम्वद्ध टिमका सदस्यहरुलाई सम्मान गरेर र केक काटेर मनाउन पाएकोमा खुशी व्यक्त गरिन् । त्यस्तै आशिष अबिरलले पनि यो गीत कुनै एकजना गायिकाको लागि बनाएको तर उनले मन नपराएपछि गायक सञ्जीव पराजुलीमार्फत् टीका प्रसाईंका लागि तयार गरिएको अनुभवहरु सुनाए ।

कार्यक्रममा वरिष्ठ संगीतकार राजु सिंहले माया लुकीलुकीको अपार सफलतामा शुभकामना व्यक्त गर्दै टीका प्रसाईले नेपाली गीत संगीतलाई दिएकी योगदानको प्रशंसा गरे ।
त्यस्तै चर्चित संगीतकार तथा टीका प्रसाई र आशिष अबिरलका संगीत गुरु भानुभक्त ढकालले आफ्ना चेला चेलीको सफलताले छाति चौडा भएको बताए । गायिकाले चुमेको सफलताले गर्वको महशुष भएको बताउँदै चाडै नै माया लुकी लुकी ले २० करोड भ्युज कमाउने शुभेच्छा दिए ।
उक्त अवसरमा म्युजिकखवरका अध्यक्ष सुमन बैरागी, सम्पादक सविता पोखरेल, नवनारी मासिकका सम्पादक हरिराम पौडेल, संचारकर्मी अर्जुन गुरागाई लगायत गीत संगीत क्षेत्रका विभिन्न व्यक्तित्व तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्टुन क्रियुजको उक्त भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्वाद रहेको छ भने भिडियो सरोज अधिकारीले निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु