‘मौन छ देश’ कवितासंग्रह र दुई गीत सार्वजनिक, उमा श्रेष्ठको सिर्जनात्मक यात्रामा नयाँ अध्याय सुरु

म्यूजिक खबर
प्रकाशित: १७ श्रावण २०८३, आईतवार १३:२७

काठमाडौं । कवि तथा गीतकार उमा श्रेष्ठको पहिलो कवितासंग्रह ‘मौन छ देश’ तथा दुई नयाँ गीतका म्युजिक भिडियो एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ।

ब्राइड एकेडेमी एण्ड मिडिया प्रा.लि.को आयोजनामा सम्पन्न कार्यक्रममा कवि उमा श्रेष्ठकी ममतामयी आमा दिलमाया श्रेष्ठको सभापतित्व तथा प्रतिष्ठित कवि एवं गीतकार चूडामणि देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष प्रतिमा राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन गीतकार तथा पत्रकार सुमन पण्डितले गर्नुभएको थियो।

कृतिमाथि समीक्षा गर्दै डा. शैलेन्दुप्रकाश नेपालले ‘मौन छ देश’ कवितासंग्रहमा नारी संवेदना, देशप्रेम, सामाजिक यथार्थ र प्रेमका भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको बताउनुभयो। उहाँले उमा श्रेष्ठ कविता लेखनसँगै गीत, संगीत र गायनमा समेत उत्तिकै सक्रिय र बहुप्रतिभाशाली स्रष्टा रहेको उल्लेख गर्दै सफल सिर्जनायात्राको शुभकामना व्यक्त गर्नुभयो।

आफ्नो सिर्जनात्मक यात्राबारे बोल्दै उमा श्रेष्ठले कविता लेखन र गीत–संगीतप्रतिको लगावले नै आफूलाई यो स्थानसम्म ल्याएको बताउनुभयो। आफ्नै आमाको सभापतित्वमा आफ्नो पहिलो कृति सार्वजनिक गर्न पाउँदा अत्यन्त भावुक र गौरवान्वित भएको उहाँले सुनाउनुभयो। परिवारबाट प्राप्त निरन्तर साथ र प्रेरणाले आगामी दिनमा पनि सिर्जनाको यात्रा जारी रहने विश्वास व्यक्त गर्दै उहाँ कार्यक्रमका क्रममा भावुक समेत बन्नुभएको थियो।

कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष अरुण प्रधानले उमा श्रेष्ठका सिर्जनाले आफूलाई प्रभावित बनाएको बताउँदै साहित्य र संगीत क्षेत्रमा उहाँको योगदान अझ सशक्त बन्ने विश्वास व्यक्त गर्नुभयो।

त्यसैगरी गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाले उमा श्रेष्ठका कविता र गीतमा देशप्रेम, सामाजिक चेतना र नारी संवेदनाको सशक्त अभिव्यक्ति रहेको उल्लेख गर्दै गायन र संगीत सिर्जनामा पनि उहाँको भविष्य उज्ज्वल रहेको बताउनुभयो।

प्रमुख अतिथि चूडामणि देवकोटाले उमा श्रेष्ठलाई बधाई दिँदै साहित्य र संगीतमार्फत अमर सिर्जनाको यात्रामा अघि बढेकोमा शुभकामना व्यक्त गर्नुभयो। पारिवारिक सहयोगका कारण उहाँको सिर्जनात्मक यात्रा अझ सशक्त बन्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रमका संयोजक तथा आइतमाया थेवे स्मृति प्रतिष्ठानका अध्यक्ष अर्जुन थेवेले जीवनसंगिनी उमा श्रेष्ठको सिर्जनात्मक यात्राको साक्षी बन्न पाएकोमा खुशी व्यक्त गर्दै जागिरे जीवनका अनुभव, सामाजिक परिवेश तथा देशको विगत र वर्तमानलाई कवितासंग्रहमा समेटिएको जानकारी दिनुभयो।

यस अवसरमा उमा श्रेष्ठ र अर्जुन थेवेका सुपुत्र आदित्य थेवेको जन्मदिनसमेत केक काटेर मनाइएको थियो।

सार्वजनिक गरिएका दुई गीतमध्ये तीज विशेष गीत ‘नाचौं छमछमी’मा उमा श्रेष्ठ र सुमित खड्काको स्वर रहेको छ भने गीतमा विपिन आचार्यको शब्द तथा संगीत रहेको छ।

त्यस्तै ‘ए माया लाउँछौ कि’ बोलको गीतमा उमा श्रेष्ठकै शब्द, संगीत र स्वर रहेको छ भने स्वरमा सुमित खड्काले साथ दिनुभएको छ। दुवै गीतका म्युजिक भिडियो उमा श्रेष्ठको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु