समिक्षाको उतारचढाव करिअर अनि यस्तो नहोस् कसैलाई

म्यूजिक खबर
प्रकाशित: १२ पुष २०७९, मंगलवार

जादुमयी स्वरकी धनी हुन् गायिका गायिका समिक्षा अधिकारी । उनको स्वर सजिएका गीतले कानलाई मात्र होइन, मनलाई पनि आनन्द प्रदान गर्छन् ।
चार वर्षअघि स्वरका माध्यमबाट भाइरल भएकी थिइन् उनी । उनीसँग लिइएको अन्तर्वार्ता नै ट्रेण्डिङमै पर्यो । त्यसपछि विश्वभरका नेपालीमाझ चर्चा मात्र होइन प्रिय बनिन् । त्यसपछि त संगीतकर्मीको समेत आँखामा परिन् अनि रोजाईमा पनि । चलचित्र ‘नाईं नभन्नु ल – ५’ को ‘फेरि कहाँ आउँछ र घुमेर यो बालपानको उमेर’ गीत गाउने अवसर पाइन् । गीत रेकर्ड पश्चात नै उनको स्वरले सबैलाई मोहित बनायो । योसँगै समिक्षाको कलाकारिता क्षेत्रले पनि फड्को मा¥यो । त्यतिबेला उनी १४ वर्षकी मात्र थिइन् । पहिलो गीतबाटनै चर्चामा आएकी समिक्षाले त्यसपछि पछाडी फर्केर हेर्नू परेन ।

छोटो समयमा नै गायनको क्षेत्रमा आफ्नो छुट्टै विशेष पहिचान गराउन सफल भइन् । थुप्रै लोक गीत, आधुनिक गीत, दोहोरी गीत तथा तिज गीतहरुमा आफ्नो आवाज दिइन् । ती मध्ये चौतारीमा सोल्टी ज्यू, माया मारेर, नबोली नबोली, पछ्यौरी लिस्यो, तिम्रै मायाले, माया देकै हो, हङकङको साडी– २ जस्ता थुप्रै गीतहरु हिट बने । रेकर्डकै हाराहारीमा स्टेज कार्यक्रमहरु पनि गाउन भ्याइन् ।

उनको सांगीतिक करिअर ठीकठाक मात्र होइन, गज्जबले चलिरहेको थियो । अचानक उनको करिअरमा मात्र होइन, जीवनमा आँधीबेहरी चल्यो । चर्चित एकजना पुरुषसँग नाम जोडियो । पुरुष लोकप्रिय थिए । पीडित र पीडक को हो ? कानुनले हेरिरहेको केस हुनाले यहाँ यो विषयमा धेरै लेख्न उपयुक्त नहोला । अदालतमा पुगेको केशलाई वास्तविक पीडितले न्याय पाउन् भन्ने कामना त कता हो कता – एउटा स्टार कहिल्यै गलत हुन सक्दैन अर्थात हिरोले गलत गरे पनि उ सहि हुन्छ भने झैं भयो । पुरुषको पक्षमा ठुलो भीड भयो ।

अनैतिक र अराजक व्ययवहार गर्ने मान्छे को हो ? नाता के हो ? त्यसले कुनै औचित्य राख्दैन । नाबालिकमाथी कुदृष्टी लगाउनुलाई जति नै सफा नियतले पनि सफाई दिनै सकिंदैन । आफ्नो मान्छे, ठुलो मान्छे, पपुलर मान्छेले ग¥यो भन्दैमा कुनै गल्तीलाई स्तरोन्नति गरी सहि बनाउन मिल्दैन । तर यहाँ त्यो भएन पीडकलाई नै भगवान बनाइयो, किनभने उ पपुलर थियो यो विषयलाई सामाजिक सञ्जालमा काण्डकै रुपमा आज पनि चर्चा गरिन्छ । बहस हुने गरेको छ ।

त्यसपछि सामाजिक सञ्जालमा विशेष गरी पुरुषहरु बढी सक्रिय देखिए । त्रूmर, अश्लिल र मन खलबलाउने कमेन्ट आउन थाल्यो । त्यस्ता कमेन्टहरु निरन्तर आइनै रहेका छन् ।

कमेन्टमा यति घिनलाग्दो शब्दहरु प्रयोग गरिन्छ की त्यो सभ्य मानिसले बोल्न, लेख्न र पढ्न नै सक्दैन । बुझकी मानिसले चाहन्छ की त्यस्तो कमेन्ट कसैले नलेखोस् । त्योभन्दा महत्वपूर्ण, गायिकाले सहनु परेको मानसिक तनाब कसैले नभोगोस् ।
यस्तै बुझकी एक व्यक्तित्व हुन् – बरिष्ठ गीतकार राजेन्द्र थापा । जसले गायिकालाई बारम्बार ढाडस दिंदै आएका छन् । यहि क्रममा उनले गायिका समिक्षाको मनोभावनालाई केन्द्रीत गर्दै गीत नै लेखिदिए ।
गीतका शब्दहरु यस्ता छन् –
हुने नहुने भयो – यहाँ आँखा नरुने भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको, यस्तै जलन यहाँको
घाउमाथि घाउ यस्तै मलम यहाँको
रात अन्धो हुंदैमा – यहाँ मानिस अन्धा किन
ओरालीको मृग लखेट्ने –यहाँ यस्तो धन्दा किन
गोली बिचरा भयो – यहाँ घाइते दोषी भयो
छुरा बिचरा भया – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको, यस्तै जलन यहाँको
घाउमाथि घाउ, यस्तै मलम यहाँको

मनले सह्यो भन्दैमा – यहाँ छाती अचानो किन
सुखका आफ्ना सबै – यहां दुख्दा बिरानो किन
भमरा बिचरा भयो – यहाँ फूल दोषी भयो
छुरा बिचरा भयो – यहाँ घाउ दोषी भयो
यस्तै चलन यहाँको, यस्तै जलन यहाँको
घाउमाथि घाउ, यस्तै मलम यहाँको …

उक्त गीतलाई समिक्षाले गाइन् पनि । गीतको हरफ, हरफ शब्द शब्द केलाउँदा समिक्षाकै लागि लेखिएको जोकोहिले महशुष गर्छ । गाली खाँदै आएकी समिक्षाले जब यो गीत सार्वजनिक भयो दर्शक श्रोताबाट माया पाएकी छन् । सामाजिक सञ्जालमा अनेक आसयका टिप्पणी यद्यपी आइरहेका छन् तथापी युट्युबमा यहि गीतको कमेन्टमा भने साहसी महिला भनेर सम्बोधन गरेका छन् । गीतको टिम विशेषतः गीतकार राजेन्द्र थापालाई धन्यवाद दिंदै समिक्षालाई अपार माया दर्शाइएका छन् । ती मध्ये केहि प्रतिनिधीमूलक कमेन्टहरु प्रस्तुत गरिएको छ ।

गोपाल श्रेष्ठ – साहसी प्रतिभा समिक्षा अधिकारी अत्यन्तै सुमधुर स्वर यो परपिडक समाजले तिमीलाई जतिसुकै नराम्रो भने पनि, हामी तिम्रो गीत जिबनभर सुन्ने छौ ।
प्रेम कार्की – ‘एउटा फक्रँदै गरेको नेपाली संगीतको फूल एतिकै ओईलाउन दिनुहुन्न । सुमधुर स्वरकी धनी बैनी समीक्षा अधिकारीलाई उज्वल सांगीतिक जीवनको शुभकामना ।’,
साया अधिकारी – अत्यन्तै मार्मिक गीत, त्यसमा समीक्षाजीको आवाज अझै मिठो बधाइ सधैं सफलताको शुभकामना सम्पूर्ण टीमलाई । यात्राहरुमा काँडा अवस्य मिल्छन् आफुलाई बलियो बनाउँदै काँडा पन्छाउँदै जानु सधैं शुभकामना छ । राजेन्द्र थापा लगायत सम्पूर्ण टीमलाई पनि धन्यबाद यति मिठो गीत समीक्षाजीको आवाजमा गाउने अवसर दिनु भएकोमा । सधैं मनपरेको गायिका । यहाँ कसैको सम्मान गर्न सकिँदैन भने अपमान गर्ने अधिकार पनि कसैलाई छैन ।

पुरुषोत्तम न्यौपानले संगीत भरेको उक्त गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् । राजिब शाहको मिक्सिङ तथा मास्टरिङ रहेको छ । राजिब लोहनीको निर्देशनमा तयार भएको गीतको भिडियोमा समिक्षा आफैंले अभिनय गरेकी छन् । भिडियो म्यूजिक नेपाल य्ट्युब च्यानलमा सार्वजनिक गरिएको छ ।
–सबिता पोखरेल

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु